केन्द्रीय संस्करण

सहसचिव प्रकाश दाहालको जीवन : ‘सहसचिव भएपछि शनिबार बिदा बसेको सम्झना छैन’

person access_timeमंसिर ८, २०७५ chat_bubble_outline0

‘सबै नेपालीलाई दुई छाक खान पुगोस्,’ सहसचिव प्रकाश दाहालले सुनाए, ‘दुई छाक खानका लागि स्वेशमै रोजगारी पाइयोस् ।’ ४३ लाख नेपाली वैदेशिक रोजगारीमा छन् । ‘त्यस्तो अवस्था अन्त्य भएको नेपालको परिकल्पना गरेको छु,’ सहसचिव दाहालले उत्साहित देखिए, ‘त्यो मेरै जीवनमा देख्न चाहेको छु ।’ 

नेपाललाई अहिले नै स्वीट्जरल्यान्ड, सिंगापुर बनाउने सपना देख्नु जरुरी छैन । त्यस्तो बनाउन असम्भव पनि होइन भन्ने सहसचिव प्रकाश दाहालसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : 

मेरो खाना
सामान्यतया दालभात, तरकारी नै खाइन्छ । यो खानेकुरा मन पर्ने, त्यो मन नपर्ने भन्ने छैन । तर, एउटै खानेकुरा सधैं खाइरहन नपरोस् भन्ने लाग्छ । कामविशेषले पुगिरहे पनि खानकै लागि योजनाबद्ध ढंगले रेष्टुरेन्ट जाने गरेको छैन । त्यसो भन्दैमा रेष्टुरेन्ट जाँदै नजाने होइन । वर्षमा मुस्किलले दुईपटक परिवारसहित खानकै लागि रेष्टुरेन्ट पुगिन्छ । पाककलाबारे सामान्य ज्ञान छ । विद्यार्थीजीवनमा धेरै पकाइयो । हिजोआज समयाभावले भान्सामा पस्न सकेको छैन ।     

मेरो पोसाक
कार्यालयीय समयमा नेपाल सरकारले तोकेको ‘ड्रेस कोड’ लगाउँछु । औपचारिक कार्यक्रममा दौरासुरुवाल लगाउनुपर्छ । त्यसबाहेक क्याजुयल पोसाक जिन्स पाइन्ट, टी–सर्ट लगाउन मन पर्छ । एउटा कपडा नफाटुन्जेल अर्को किन्ने बानी छैन । एउटा दृष्टान्त सुनाउँछु । प्रमाणपत्र तह पढ्न काठमाडौं टेकेको बेला किनेको सर्ट स्नातक तह पूरा गरेर घर पुग्दासमेत त्यही लगाएको रहेछु । त्यतिबेला आमाले सोध्नुभयो, ‘सधैं एउटै सर्ट लगाउँछस्, अर्को छैन कि के हो ?’ त्यसपछि त्यो सर्ट लगाउन छाडें । त्यो सर्ट सुरक्षित राखेको छु । 

अर्को दृष्टान्त– केही समयअघि सामाजिक सञ्जाल फेसबुकले नौ वर्षअघि जापान जाँदाको फोटो देखायो । त्यतिबेला लगाएको टी–सर्ट अहिले पनि मन पर्छ, जुन हिजोआज पनि लगाउने गर्छु । 
यसो भन्नुको मतलब मैले किनेको कपडा लामो समय टिक्छ । तसर्थ, कपडामा त्यति धेरै खर्च हुँदैन । सालिन्दा दुई जोर कपडा किन्ने गर्छु । त्यसका लागि पाँचदेखि आठ हजार रुपैयाँ लाग्ला । मलाई कालो रङको पाइन्ट, स्काई ब्लु सर्ट र सेतो टी–सर्ट मन पर्छ । कपडा किनेर सिलाउने बढी, रेडिमेड कम प्रयोग गर्छु । जिन्स पाइन्ट, टी–सर्टचाहिँ रेडिमेड हुन्छन् । मसँग पाँचवटा क्याप भए पनि लगाउँदिनँ । टोपी पनि लगाउनै अवस्थामा मात्रै लगाउँछु ।  

मेरो फिटनेस
दैनिक बिहान–बिहान पढाउने गर्छु । लोकसेवा आयोग तयारी गरिरहेकालाई पढाउन जानुपर्ने भएकाले बिहान–बिहान शारीरिक अभ्यास गर्ने समय हुँदैन । परिश्रम गर्ने भएकाले होला– अहिलेसम्म ‘फिट एन्ड फाइन’ छु । मर्निङवाक नगरे पनि समय हुँदा योगा गर्छु । एकताका दुई वर्षसम्म नियमित योगा गरेको थिएँ । 


सकेसम्म स्वस्थकर खाना खाने गर्छु । यो वा त्यो खाँदा मोटाइएला कि भन्दै डाइटिङ गर्ने बानी छैन । 

मेरो अध्ययन
व्यस्तताले बाहिरका किताब पढ्ने मौका पाएको छैन । पढाउने भएकाले त्योसँग सम्बन्धित विषय पढ्दैमा फुर्सद हुँदैन । अंग्रेजी साहित्यका विद्यार्थी भएकाले साहित्य र दर्शन पढ्ने रहर हुँदाहुँदै पनि धोको पूरा गर्न पाएको छैन ।

मेनजनमेन्ट, एडमिनिस्ट्रेसन, गभर्नेन्सको लेटेस्ट रिसर्चका फाइन्डिङ र त्यसमा आधारित भएर लेखिएका किताब पढ्न त्यत्तिकै जाँगर चल्छ । वल्र्ड डेभलपमेन्ट, इम्प्लोयमेन्ट र सोसल सेक्रेटरीसम्बन्धी किताब पढ्न अल्छी लाग्दैन । त्यससँगसँगै सरकारी तथा गैरसकारी संघ–संस्थाले प्रकाशित गर्ने प्रतिवेदन पढ्न उत्तिकै आवश्यक हुन्छ ।   

किताब लेख्ने रुचि हुँदाहुँदै पनि लेख्ने फुर्सद छैन । मैले लेखेको थुप्रै किताब प्रकाशित छन् । निजामती सेवा र सार्वजनिक प्रशासन क्षेत्रमा बनेको मेरो पहिचान मैले लेखेको किताबले र मैले पढाएका विद्यार्थीबाट बनेको हो । एउटा किताब लेख्न वर्ष दिन लागिपर्नुपर्छ । त्यसो भएकाले आफ्नो क्षेत्रसँग सम्बन्धित आलेख लेखेर लेखनको तिर्सना मेट्ने गरेको छु ।
मेरो संकलनमा धेरै किताब छैनन् । तर, आफूलाई चाहिने किताब संकलन गरेको छु । 

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । पर्याप्त समय निकालेर घुम्न सकेको छैन । निजामती कर्मचारी भए पनि काठमाडौंबाहिर सरुवा भएको भए घुम्न पाइन्थ्यो होला । निजामती कर्मचारी भएदेखि अहिलेसम्म धेरै समय सिंहदरबारभित्रै बिताएको छु । यो मेरोभन्दा संगठनको रुचिले गर्दा हो । तसर्थ, चाहेर पनि काठमाडौंबाहिर सरुवा भएन । 

कामविशेषले निस्केको बेला जहाँ पुगिन्छ, त्यहाँको घुम्नैपर्ने ठाउँ घुम्ने गर्छु । अहिलेसम्म ५५ जिल्ला पुगेको छु । १२ देश घुमेको छु । घुमेकामध्ये मुगुको रारा र कास्कीको पोखरा मन पर्यो भने विदेशमा स्वीट्जरल्यान्ड सुन्दर लाग्यो । नेपालका ७७ जिल्ला पुग्ने रहर छ । पुग्छु पनि । त्यसबाहेक अफ्रिकन, ल्याटिन अमेरिकन कन्ट्री घुम्ने रहर छ ।  

मेरो फुर्सद
नेपाल सरकारको सहसचिवको भूमिकामा छु । अन्तर्राष्ट्रिय श्रम संगठन र श्रमिकसम्बन्धी कानुनले आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भनेको छ । मजस्ता निमामती कर्मचारी पनि श्रमिक नै हुन् । हामी २४ मा २० घन्टा काम गरिरहेका छौं । दैनिकजसो बिहान नौ बजे कार्यालय पुग्छौं । कतिपय अवस्थामा सात, साढे सात बजे पुग्नुपर्छ । बेलुका आठ नबजी घर पुगेको ‘रेकर्ड’ छैन । सहसचिव भएपछि शनिबार बिदा बसेको सम्झना छैन । 

मैले गरेको प्रयत्नले समाज र देशका केही होला त ? मैलेमात्रै गरेर सम्भव छ र ? मैलेमात्रै गरेको प्रयत्नले नतिजा आउँछ त ? आउँदैन भने मैले किन यसो गरिरहेको छु भन्ने लाग्छ । तर, सधैं यस्तो नहोला । 
परिवारलाई समय दिन नसक्दा आफ्नो र परिवारका लागि समय छुट्ट्याउनुपर्छ भन्ने लागेकै छ । तर, सबै कुरा बिर्सेर मुलुकको आर्थिक समृद्धिका लागि मिहिनेत गर्नुपरेको छ । त्यस अर्थमा मुलुकका लागि योगदान गरिरहेको छु भनेर चित्त बुझाएको छु । 

फुर्सद पाइहालेमा परिवारसँग रमाउँछु । कार्यालयीयभन्दा व्यक्तिगत घुमघाममा निस्कन मन पर्छ । त्यसबाहेक किताब र आलेख लेखेर समय सदुपयोग गर्न जाँगर चल्छ । परिवारसहित चलचित्र हेर्न गएको छैन । मठमन्दिर, पारिवारिक जमघटमा गएकोबाहेक परिवारसँग घुम्न निस्कने समय पनि छैन । तर, खानकै लागि कहिलेकाहीं रेष्टुरेन्ट पुगिन्छ । 

मेरो खेलकुद
विद्यालयजीवनमा भलिबल, क्यारिमबोर्ड, चेस, बाघचाल खेलेको थिएँ । त्यसपछि केही खेलिएन । हेर्नचाहिँ फुटबल मन पर्छ । 

मेरो मोबाइल
हुवेइको मोबाइल सेट प्रयोग गर्दै आएको छु । सन् २०१२ मा पढ्न जाँदा अस्ट्रेलियामा आइफोन फाइभ किनेको थिएँ । अहिले २०१८ भइसक्यो । आइफोनले त्यति काम गर्न छाडेपछि तिब्बत जाँदा अहिलेको मोबाइल सेट किनेको हुँ । यसको ४३ हजार रुपैयाँ परेको थियो । मोबाइलका एप्लिकेसनमा म्यासेन्जर, भाइबर, स्काइभ, फेसबुक, ट्वीटर, इमेल इन्टरनेट, अफिसियल एप र न्युज एप पनि प्रयोग गर्छु ।  

मेरो टीभी
टेलिभिजजनमा समाचार प्राथमिकतासाथ हेर्छु । सम्भव भएसम्म बेलुका आठ बजेको समाचार हेर्ने गर्छु । सबै नभ्याए पनि ‘हेडलाइन’ हेर्छु । फुर्सद भएमा हलिउड, बलिउडका मुभी, रियालिटी शो हेर्ने गर्छु । मसँग भएको टीभी सामसुङको हो कि जस्तो लाग्छ ।  

मेरो चलचित्र
पछिल्लोपटक चलचित्र ‘पीके’ हेरेको थिएँ । हेरेकामध्ये थ्री इडियट्स, झोला, टलकजंग भर्सेस टुल्के र पशुपतिप्रसाद असाध्यै मन पर्यो । कलाकारचाहिँ त्यति चिन्दिनँ । सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछाने र आमिर खानको अभिनय जीवन्त लाग्छ ।    

मेरो रोग
अहिलेसम्म स्वस्थ छु । अहिलेसम्म तीनपटक होलबडी चेकअप गराएँ । खानपानमा ध्यान दिनुपर्छ । तनावमुक्त रहनुपर्छ । दुई काम गर्न सकियो भने स्वस्थ रहन सकिन्छ ।  

मेरो भाषणशैली
कर्मचारीले भाषण धेरै गर्नु पर्दैन । तर, बोल्नुपर्छ । राजनीतिक नेता र कर्मचारीको भाषण फरक हुन्छ । मलाई भाषण गर्न त्यति आउँछजस्तो लाग्दैन । शिक्षण पेसाबाट आएकाले कुनै पनि विषयवस्तुमा बोल्नुपर्दा राम्रै बोल्छु । तर्क र तथ्यपूर्ण तरिकाले बोल्ने बानी छ । बोलेकै आधारमा अहिलेसम्म विवादमा तानिएको छैन । बोल्नअघि सामान्य तयारी गर्छु । 

मेरो मापसे
मादक पदार्थदेखि टाढै छु । त्यसो भन्दैमा लिँदै नलिएकोचाहिँ होइन । 

मेरो संगीत
गीत–संगीत मन पर्छ । फुर्सद पाउँदा सुन्ने गर्छु । म बाथरुम सिंगर हुँ । 

मेरो भूल
जान–अन्जानमा गल्ती गर्नु मानवीय स्वभाव हो । अहिलेसम्म पश्चाताप लाग्नेगरी गल्ती गरेको छैन । ग्लानिसम्म भएको छ । छोरी सानी थिई । म पनि तनावमा थिएँ । त्यतिबेला मसँग छोरीले कलह गरी । मैले प्याट्टै पिटें । छोरी रोई । उनी रोएको देखेर मलाई ग्लानि भयो । त्यसपछि मैले दोस्रोपटक छोरीलाई पिटेको छैन ।  

मेरो घर
अहिलेसम्म डेराबास छ । मासिक १२ हजार डेराभाडा बुझाउँछु । बत्ती, पानी, फोहोर गरेर १४ हजार उठ्छ । 

मेरो राशी
मेरो राशी कुम्भ हो । ग्रहदशामा विश्वास लाग्दैन । तसर्थ, हेराउँदिनँ । तर, केटाकेटीमा हातसम्म हेराइयो । ग्रहशान्ति पनि गराएको छैन । 

मेरो सौन्दर्यचेत
कपालमा सामान्य तेल लगाउँछु । अनुहारमा साबुनसम्म लगाउँदिनँ । नुहाएको बेला पर्यो भनेमात्रै । पफ्र्युम मन पर्दैन । सार्वजनिक बसमा यात्रा गर्दा कसैले पफ्र्युम लगाएको छ भने टाउको दुख्छ । 
नेपालमा साउना बाथ, स्टीम र बडिमसाजको प्रयोग गरेको छैन । विदेश जाँदा प्याकेजमा परेको बेला लिएको थिएँ ।  

मेरो प्रेम
चिनजान भएपछि हामीले मागीबिहे गरेका हौं ।  

मेरो सपना 
हामीले महत्वाकांक्षी सपना देख्नुहुँदैन । शान्ति सुरक्षा भएको मुलुकका सबै नेपालीलाई दुई छाक खान पुगोस् । दुई छाक खानका लागि स्वेशमै रोजगारी पाइयोस् । ४३ लाख नेपाली वैदेशिक रोजगारीमा छन् । त्यस्तो अवस्था अन्त्य भएको नेपालको परिकल्पना गरेको छु । त्यो मेरै जीवनमा देख्न चाहेको छु । 

नेपाललाई अहिले नै स्वीट्जरल्यान्ड, सिंगापुर बनाउने सपना देख्नु जरुरी छैन । त्यस्तो बनाउन असम्भव पनि होइन ।

आफूलाई यहाँसम्म पुर्याउँछु भन्ने कुनै लक्ष्य छैन । म निजामतीमा आउने योजना थिएन । जे–जे भयो, संयोगले भएको छ । अहिले सहसचिव छु । सहसचिव भएपछि सचिव हुने भन्ने हो । त्यो भइन्छ । मुख्यसचिव हुने जोकोहीको उद्देश्य हुन्छ । तर, जुन चीज आफ्नो नियन्त्रणबाहिर हुन्छ भने त्यस्तो सपना देख्नुहुँदैन । भइयो भने ठिकै छ । नत्र महत्वाकांक्षी सपना देखेर के गर्नु । जुन चीज आफूले मिहिनेत गरेर प्राप्त गर्न सकिँदैन भने त्यसले दुःखीमात्रै बनाउँछ ।     

खोटाङलाई पूर्वको कर्णाली भनिन्छ । जहाँ म जन्मे, हुकें, पढें । म काठमाडौं बसे पनि मेरो सपना, सम्झना, कल्पना खोटाङकै हुन्छ । खोटाङका गाउँगाउँमा बाटो पुगोस् । जिल्लावासीले घरबाट निस्केको आधा वा एक घन्टा हिँडेपछि बस चढ्न पाऊन् । स्वास्थ्य सेवा सबैको पहुँचमा होस् । खानेपानी सुविधा होस् । टोलटोलमै ‘स्कुल लेभल’ को शिक्षा आर्जन गर्न पाइयोस् । 

विकासका दृष्टिले खोटाङ अहिले पनि पछि परेकै छ । खोटाङलाई नेपालको औसत विकासको ‘इन्डिकेटर’ भएको जिल्ला बनाउने चाहना छ ।  

मेरो मृत्यु
मृत्यु शाश्वत सत्य हो । त्यो सत्यलाई मानिसले भुलिरहेका हुन्छन् । भुल्न सक्नु नै संघर्ष गर्ने आधार हो । मृत्युदेखि डर लाग्दैन । जीवनमा दुईपटक मृत्युको नजिक–नजिक पुगेको थिएँ । 

पहिलो– विद्यालयबाट घर फर्कंदै थिएँ । बीचबाटोमा पेट दुख्यो । ‘टेक कियर’ गर्ने कोही भएनन् । एकछिनपछि बान्ता भयो । त्यसपछि बेहोश भएछु । म जहाँ बेहोश भएको थिएँ, त्यस्तो अवस्थामा रहेको मलाई त्यहाँकी एक दिदीले बोकेर आफ्नो घर लगिन् । झारफुक गरिछन् । म ठीक भएर घर फर्कें । त्यतिबेला मृत्युको नजिक पुगेको अनुभूति गरेको थिएँ ।

दोस्रो– पोखराको फेवाताल पुग्दा घाम लागिरहेको थियो । मौसम सफा थियो । हामी तालवाराही पुगेर डुंगामा फर्कंदै गर्दा पानी पर्न थाल्यो । पानी र हावाले डुंगा विपरीत दिशातिर लाग्यो । डुंगामा पानी पस्न थाल्यो । केही नलागेपछि डुंगा चलाउनेसमेत हामीसँगै बस्न आए । त्यतिबेला बाँचिदैन भन्ने लागिसकेको थियो । तर, हामीलाई ‘रेस्क्यु टिम’ ले उद्धार गरेको थियो ।  

मृत्यु सहज होस् । मरेपछि मलामी आओस् नजाओस् भन्नेसँग चिन्ता छैन । आफ्नो खुट्टामा उभिँदाउभिँदै मर्न पाइयोस् ।   

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ