शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शहीद स्मारक ए डिभिजन लिग : च्यासलको पहिलो जित

बिहीबार, ०६ मङ्सिर २०७५, १५ : ०६
बिहीबार, ०६ मङ्सिर २०७५

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो चरणको पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा च्यासलले एनआरटीलाई ५–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि खेलको दुई खेलमा एक खेलमा हार तथा एक खेलमा बराबरी खेलेको थियो । च्यासलले पहिलो खेलमा मछिन्द्र क्लबलाई गोलरहित बराबरीमा रोकेको थियो भने आर्मीसँग १–० गोलअन्तरले पराजित भएको थियो । 

च्यासलको जितमा अमिर श्रेष्ठ र विमल घर्तीमगरले दुई दुई गोल गरे भने सन्तोष साउखलले एक गोल थपे । अमिरले खेलको पहिलो हाफको १४ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । त्यस्तै उनले खेलको पहिलो हाफको २९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै च्यासलको अग्रता दोब्बर बनाए ।

खेलको पहिलो हाफसम्म २–० ले अगाडि रहेको च्यासलले दोस्रो हाफमा तीन गोल थप्यो । खेलको ५६ औँ मिनेटमा विमलले गोल गर्दै च्यासलको अग्रता तेब्बर बनाए भने अर्का खेलाडी सन्तोषले खेलको ६३ औं मिनेटमा एक गोल थपे । त्यसैगरी विमलले खेलको ८६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

यता एनआरटीको लागि विदेशी खेलाडी मोसुद अग्बोलाले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एक सान्त्वना गोल फर्काएका थिए । च्यासलका विमलको यो खेल नै लिगको अन्तिम खेल हो । विमल ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका हुन् ।

क्लबले बेल्जियम जाने भएपछि उनको सम्झौता फुकुवा गरेको छ । यसअघि पनि विमलले बेल्जियमको आरएससी एण्डरलेच्टबाट पनि खेलेका थिए भने स्पेनको मार्वेला युनाइटेडमा ट्रायल दिएका थिए । यस जितसँगै च्यासलले अङ्क तालिकामा चार अङ्क जोडेको छ भने एनआरटीको एक अङ्क छ । आजै हुने दोस्रो खेलमा थ्रीस्टार क्लब र मनाङमस्र्याङ्दी क्लब आमनेसामने हुँदैछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप