केन्द्रीय संस्करण

४५ वर्षअघि विराटनगरबाट अपहरणमा परेको विमान काठमाडौँको सुन्दरीजलमा (फोटो/भिडियो)

person access_timeमंसिर ६, २०७५ chat_bubble_outline0

स्थान– विराटनगर विमानस्थल । 

मिति– २०३० साल जेठ २८ गते । समय–बिहानको साढे ८ बजे ।  

कलसाइन नाइन एन एबीबी नेपाल वायुसेवा निगमको नयाँ जहाज काठमाडौंका लागि प्रस्थान गर्छ । 

विमानमा नेपाल राष्ट्र बैङ्कका लागि ल्याइएको भारतीय रुपियाँ ३० लाख रहेको ३ बाकस छ ।  काठमाडौँ उड्ने तयारी गरिरहेको विमानमा नेपाली काँग्रेसका ३ जना नेता हतियार लुकाएर प्रवेश गर्छन् ।

विमानले काठमाडौंका लागि उडान भर्छ । दुहवीको आकासमा विमान आइपुगेपछि काँग्रेस नेताहरू पूर्वनियोजित योजना अनुसार अघि बढ्छन् । नगेन्द्र ढुङ्गेल, वसन्त भण्डारी र दुर्गा सुवेदी हातमा पेस्तोल र ग्रिनेड निकाल्छन् ।  

अब जहाज अपहरण भयो भन्ने कुरा पाइलटले थाहा पाउँछन् । सप्तकोशीको आकाश माथि आइपुगेको विमानलाई उनीहरूले भारतको बिहारस्थित फारवेसगन्जको अस्थायी विमानस्थल घाँसे मैदानमा अवतरण गराउन भन्छन् । 

जब काँग्रेसका नेताहरूले विमानलाई आफ्नो नियन्त्रणमा लिन्छन्, यात्रुहरूका बीचमा कोलाहल हुन्छ । काँग्रेसका नेताहरू भन्छन्, ‘हामी नेपाली काँग्रेसका कार्यकर्ताहरू हौँ, देशमा प्रजातन्त्र स्थापनाका लागि, देशमा एकतन्त्रीय शासन अन्त्य गर्नका लागि यो कदम चालेका हौँ, तपाईंहरू ढुक्क हुनुहोस्, तपाईंहरूलाई केही हुँदैन, यो हाम्रो नेतृत्वको निर्देशन पनि हो ।’

विराटनगरबाट झन्डै ३० किलोमिटर दक्षिण फारबेसगन्जमा काँग्रेसका नेता सुशील कोइरालाको नेतृत्वको टिम बसेको हुन्छ । कोइरालाको जिम्मेवारी हुन्छ, हवाइजहाजलाई कसरी सेफ ल्यान्डिङ गराउने, विमानभित्रको रकम कसरी आफ्नो हात पार्ने र यात्रुहरूलाई कसरी सुरक्षित ढङ्गले आफ्नो ठाउँमा पठाउने । 
विमान फारबेसगन्जमा अवतरण हुन्छ, त्यसमा भएको ३ वटा बाकसमा रहको ३० लाख भारु सुशील कोइराला नेतृत्वको टीमले आफ्नो कब्जामा लिन्छ । विमानलाई यात्रुहरूसहित विराटनगर पठाइन्छ ।

माथिको कथा कुनै चलचित्रको कथा होइन । यो आजभन्दा ४५ वर्षअघिको  घटना हो । नेपाली काँग्रेसका नेता तथा सुन्दरीजलमा रहेको बीपी सङ्ग्रहालयका संस्थापक अध्यक्ष तथा संरक्षक परशुराम पोखरलले २०३० सालमा नेपाली काँग्रेसले गरेको विमान अपहरणको प्रसङ्गलाई यसरी सम्झिएका हुन् । 

२०३० साल जेठ २८ गते अपहरणमा परेको यो ट्विनेटर विमान अहिले काठमाडौंको सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयमा मर्मतसम्भार गरी राखिएको छ । 

यस्तो छ विमान अपहरणको पृष्ठभूमि 

शाही नेपाल वायुसेवा निगमको कलसाइन नाइन एन एबीबी विमान अपहरण गर्नुको मुख्य कारण विमानमा रहेको  ३० लाख भारु लुटेर त्यो रकम पञ्चायतविरुद्धको आन्दोलनमा खर्च गर्नु रहेको काँग्रेसका नेताहरूले बताउँदै आएका छन् । 

विमान अपहरणको मुख्य योजनाकार काँग्रेसका नेता गिरिजाप्रसाद कोइराला थिए ।

३ चालक दलका सदस्यसहित १९ जना यात्रु सवार रहेको सो विमान उडान भरेको ५ मिनेटपछि अपहणमा परेको थियो । अपहरणकर्ता थिए काँग्रेस नेताहरू नगेन्द्र ढुङ्गेल, वसन्त भण्डारी र दुर्गा सुवेदी । फारबेसगन्जमा भने काँग्रेस काँग्रेसका नेता सुशील कोइराला नेतृत्वको टोलीले उक्त रकम हात पारेको थियो । 

बीपी कोइरालाको निर्देशनअनुसार गिरिजाप्रसाद कोइराला र चक्रप्रसाद बास्तोलाले सो रकम भारतको दार्जिलिङस्थित बीएल शर्माको घरमा लुकाएका थिए । 
काँग्रेस नेता पोखरेलले विमान अपहरणको पृष्ठभूमि यसरी स्मरण गरे :

२०१७ पुस १ मा राजा महेन्द्रले प्रजातान्त्रिक सरकारमाथि सैन्य बलमा 'कू' गरेर राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाए । नेताहरु गिरफ्तार भए । बिपी, गणेशमानसहित काँग्रेसका ९ जना नेतालाई सुन्दरीजलको ब्यारेकमा लगेर बन्दी बनाइयो । 

 २०२५ साल कात्तिक २३ गते बीपी र गणेशमान छुटे । त्यसपछि बीपी कोइराला र गणेशमान सिंह भारत प्रवासमा गए । 

प्रजातन्त्र पुनर्वाहालीका लागि नेपाली काँग्रेसले सशस्त्र विद्रोहको तयारी गरिरहेको थियो । 

नेपाली काँग्रेसलाई फुटाएर अन्तरकलहमा ल्याएर फाइदा लिन राजासहितको पञ्चायती व्यवस्था र अर्कोतिर भारतीय नेतृत्व इन्दिरा गान्धीको टोली पनि लागिरहेको थियो । 

काँग्रेस सशस्त्र क्रान्तिको तयारीमा लागेको हुँदा सेना र हतियार अति आवश्यक थियो । तर काँग्रेससँग त्यसको तयारीका लागि पैसा थिएन । यी कुराहरूलाई बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाले आफ्नो आत्मवृत्तान्तमा प्रष्ट पारेका छन् । 


विमान अपहरणको खास नेतृत्व बीपी कोइराला नै हुनुहुन्थ्यो । पैसा कहाँबाट ल्याउने भन्ने विषयमा व्यापक छलफल भएको देखिएको छ । 

राष्ट्र बैङ्कबाट पैसा लान सकिन्छ कि भन्ने बारेमा पनि छलफल भएको देखिन्छ । राष्ट्र बैङ्क देशको राजधानीमा भएको र त्यसको सुरक्षा प्रणाली पनि ज्यादै कडा हुने भएकाले राष्ट्र बैङ्कबाट पैसा लान सकिने अवस्था थिएन। 

यसैक्रममा विराटनगरबाट बेलाबेलामा भारतीय रुपियाँ काठमाडौँ  ल्याउने गरिएको रहेछ थाहा भयो । विकल्पमा त्यो पनि हेर्ने भएछ । 

यसको योजनाकार भने गिरिजाबाबु हुनुहुन्थ्यो । सम्पर्क सूत्रबाट के जानकारीमा आयो भने अब केही दिन पछि ३० लाख भारु लिएर विमान विराटनगरबाट काठमाडौँ जाँदैछ । 

मानवीय क्षतिविना त्यो रकम कसरी हात पार्ने भन्ने विषयमा छलफल हुँदा विमान अपहरण गर्ने छलफल भएछ । 

कसरी गर्ने त हवाइजहाज अपहरण ? दुर्गा सुवेदी, बसन्त भट्टराई र नगेन्द्र ढुङ्गेल ३ जना हवाइजहाज अपहरण गर्न तयार भए । 
यो विमान अपहरणपछि लुटेको रकमले नेपाली काँग्रेसले पञ्चायतविरुद्धको आन्दोलनका लागि केही खजाना किन्यो । 

यसको अर्को पक्ष के थियो भने त्यतिबेला काँग्रेस कमजोर थियो, काँग्रेसले केही गर्न सक्दैन, काँग्रेसको केही तागत छैन, हात्तीको देखाउने दारा मात्र हो, यसले गर्न सक्ने अब केही छैन भन्ने भ्रम फैलाइएको थियो । 

काँग्रेस कमजोर छ, काँग्रेस फुटेको छ भन्ने भ्रम चिर्न पनि यो हवाइजहाज अपरहण गर्नुपरेको थियो । 

इन्दिरा गान्धीलाई पनि नेपाली काँग्रेसको सामर्थ्य देखाउनु थियो । किनभने, त्यतिबेला गान्धीले भारत प्रवासमा रहेका काँग्रेसका नेताहरुलाई कडा नियम र निगरानीमा बस्नुपर्ने अवस्था सिर्जना गरेकी थिइन् । 

नेपाली काँग्रेसमा आबद्ध भएका विद्यार्थीलगायत सबै पेसामा आबद्ध भएकाहरूलाई निराशा आउन खोजिरहेको अवस्था थियो । यो खासगरी अन्तर्राष्ट्रिय समूहलाई, राजालाई र भारतलाई नेपाली काँग्रेसको अझै शक्ति छ, यो हरतरहले सबैलाई जित्न सक्छ भन्ने देखाउन सफल भयो । 

यो धेरै ठूलो मुद्दासमेत बन्यो । त्यो बेला ठूलो खैलाबैला पनि भयो । पञ्चायतका शासकहरू, राजा स्वयम् पनि हल्लिए, सेनाहरू पनि तर्सिए, काँग्रेसले के तयारी गरेको छ, हामी भिड्न सक्छौँ कि सक्दैनौँ, त्यतिबेलाको शासकहरूको निदहराम समेत भएको थियो । 

अर्कोतिर पञ्चायती व्यवस्थाविरुद्ध लड्नका लागि बीपीले तयार पारेको हतियार बङ्गालदेशको स्वतन्त्रता सङ्ग्राममा पठाउनुपर्ने आवश्यकता आयो । अहिले पनि उनीहरू बीपी कोइराला र नेपाली काँग्रेसलाई सम्मानका साथ हेर्छन् । 


बीपीले सङ्कलन गर्नुभएको २ ट्रक हतियार सुशील कोइरालाकै नेतृत्वमा चक्रप्रसाद बास्तोलासहितले बङ्गलादेश पठाइदिनुभयो । आजको बङ्गलादेश पूर्वी पाकिस्तानको हिस्साबाट छुट्टिएर बङ्गलादेश बन्नुमा बीपी कोइरालाको नाम पनि जोडिन्छ । त्यतिबेला इन्दिरा गान्धीले बीपीसँग भएको हतियार बङ्गलादेशका लागि मागिछन् । बीपीले नेपालकै लागि चाहिन्छ भनेपछि उनले पछि सोधभर्ना गर्नेगरी हतियार वा रकम दिने भनिन् । इन्दिरा गान्धीले कतिसम्म कपट गरिछन् भने बीपीले तयार पारेको हतियार पाकिस्तान टुक्राउन प्रयोग गरिछन् ।

पछि उनले त्यो हतियार फिर्ता गर्ने कुरा नै गरिनन् । बीपीलाई उनले झुक्याइन् । पछि बीपी कोइरालालाई उनले दक्षिण भारतमा गएर बस्न भनिन् । दक्षिण भारतमा लगेर राख्नु भनेको भारतको चालबाजी भएको, राजनीति शून्य बनाउन खोजेको हो भन्ने बुझेर बिपी कोइराला र गणेशमान सिंह २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलाप तथा एकताको नीति  लिएर स्वदेश फर्किनुभएको थियो ।’ 

५ वर्षअघि अर्घाखाँचीमा दुर्घटना : १ डलरमा खरिद 

नेपाली आकासमा निरन्तर ४० वर्ष उडान भरेको यो विमान २०७० सालमा अर्घाखाँचीमा दुर्घटनामा पर्यो । दुर्घटनापछि बीपी सङ्ग्रहालयको पहलमा यो विमान काठमाडौं ल्याएर मर्मतसम्भार गरिएको हो । 

बीपी सङ्ग्रहालयका संस्थापक अध्यक्ष पोखरेलले भने, ‘मेरो के धारणा थियो भने, कुनै पनि वस्तु कुनै दिन काम नलाग्ने अवस्थामा पुग्छ नि, यो विमानको पनि कुनै दिन त्यो अवस्था आँउछ । त्यसबखत यो हवाइजहाजलाई सुन्दरीजल ल्याएर कसरी राख्ने होला भनेर मेरो मनमा आइ नै राख्थ्यो । म आकासतिर पनि हेर्र्थें, म एयरपोर्टमा पनि गएको थिएँ, कुन चाहिँ हावइजहाज होला भनेर ।’
उनले थपे, ‘यो हवाइजहाज चढ्ने मेरो ठूलो धोको पनि थियो । नाइन एन एबीबीआई  जहाजप्रति मभित्र धेरै कौतुहलता पनि थियो । अपरहणकर्ताहरूले सुनाएको अपहरणको कुरा सुन्दा कौतुहलता जाग्थ्यो र म उहाँहरूलाई अत्यन्तै कौतुहलताका साथ हेर्थेँ । यो विमान बीपी सङ्ग्रहालयका लागि महत्त्वपूर्ण वस्तु हुनसक्छ तर त्यसका लागि निकै लामो समय कुर्नुपर्छ भन्ने लाग्थ्यो ।’

यो विमान २०७० साल फागुन ४ गते पोखराबाट जुम्लाका लागि जाँदैगर्दा अर्घाखाँचीको मसिने लेकमा दुर्घटना हुन पुगेको थियो । चालक दलका सदस्यसँगै सबै यात्रुको निधन भएको थियो । 

विमान दुर्घटनापछि सङ्ग्रहालयको तर्फबाट पोखरेल आफै अग्रसर भए । उनले भने– ‘अब जे हुनु त भइहाल्यो, राज्यले वा सम्बन्धित निकायले यसरी ध्वस्त भएका चीजहरू त राख्दैन । यसलाई कहीँ न कहीँ त नष्ट गरिन्छ । यसलाई नष्ट गर्नुअघि नै हामी पुग्नुपर्छ भनेर हाम्रो सोच रह्यो । धेरै मान्छेको दुखद् मृत्यु भएको छ तर पनि यो विमान नरहने एउटा प्रक्रियामा त जान्छ नि । दशौँ हजार टुक्रामा विभाजन भएर फैलिएको थियो । अनि यो कसरी उपलब्ध हुन सक्छ भनेर हामी लागिपर्यौँ ।’

संस्कृति मन्त्रालयका सचिव सुशील घिमिरे, राष्ट्रिय बिमा कम्पनीका रजनी पौडेल, वायुसेवा निगमका सहायक निर्देशक टीका पङ्गेनीले यसका लागि सहयोग गरेको उनले बताए । 
यो जहाज नेपाल वायु सेवा निगमको भए पनि यसको धेरै दायित्व बिमा कम्पनीसँग जोडिएको थियो । क्यानडामा रहेको बिमा कम्पनी म्याक लरेन्ससँग सम्पर्क भयो । विमान दुर्घटनापछि त्यसमा नेपाल सरकारको कुनै पनि दायित्व नहुने रहेछ । सो कम्पनीसँग इमेलबाट कुराकानी भयो । बीपी कोइरालाको जीवनी पढेपछि सो विमानको भग्नावशेष दिन कम्पनीले सहमति जनायो । 

सो कम्पनीसँग बीपी सङ्ग्रहालयले अमेरिकी १ डलरमा सो विमान खरिद गर्यो । राष्ट्रिय बिमा कम्पनी, नेपाल वायुसेवा निगम र सङ्ग्रहालयका तर्फबाट सम्झौता भयो ।

त्यो बेला १ अमेरिकी डलर बराबर १ सय ६ रुपैयाँ ७५ पैसा नेपाली रुपैयाँ रहेको पोखरेलले बताए । बैङ्क अफ काठमाडौंमा त्यसको भौचर बुझाएर विमानका सबै भग्नावशेषहरू नेपालगञ्जको मध्यपश्चिम हवाई उड्डयन कार्यालयबाट काठमाडौँ ल्याइयो । 

विमानको उक्त भग्नावशेष ल्याउने अवसरमा काँग्रेस महामन्त्री एवम् बीपी पुत्र शशांक कोइराला पनि नेपालगञ्ज  गएका थिए । भग्नावशेषलाई विमानको स्वरूपमा लैजानका लागि संस्कृति मन्त्रालय, पुरातत्व विभागले सहयोग गरेको पोखरेलले बताए । 

विमान ल्याउने, मर्मत गर्ने, विमानलाई जस्ताको छहारीभित्र राख्ने सबै काम गरेर ४५ लाख खर्च लागेको उनको भनाइ छ ।  

पोखरेलले भने, ‘हामीले नेपालगञ्जबाट १० पाङ्ग्रे ट्रकमा लोड गरेर ल्याएका हौँ । यो दशौं हजार टुक्रामा थियो । ट्रकमा हामीले कोचेर ल्याएका हौँ, यसको रूप र रङ्ग कस्तो थियो भनेर कल्पना गर्न सकिन्छ । यो हवाइजहाजलाई पहिलेकै स्वरूपमा फर्काउन हामीलाई डेढ वर्ष लागेको छ ।’ चाडपर्वका दिनबाहेक ६ जनासम्मले हरेक दिन डेढ वर्ष काम गरेको उनले बताए । वायुसेवा निगमले काम नलाग्ने केही सामानहरू पनि दिएर सहयोग गरेको छ ।

सर्वसाधारणले टिकट काटेर विमान अवलोकन गर्न पाउने

विमान मर्मतका सबै काम पूरा गरी सर्वसाधारणलाई अवलोकन गर्न तयारी अवस्थामा छ । तर अझै केही भौतिक संरचना निर्माण र सुरक्षाका लागि काम गर्नुपर्ने रहेको उनले बताए । यसको छिट्टै उद्घाटन गरी टिकट काटेर हेर्न मिल्ने व्यवस्था गरिँदैछ । 

आन्तरिक पर्यटनले सुरुदेखि नै महत्त्व पाएको ठाउँ सुन्दरीजलमा अब विद्यालयले गर्ने शैक्षिक भ्रमण तथा अन्य आन्तरिक भ्रमणका लागि महत्त्वपूर्ण स्थल बनेको छ । 

विद्यार्थीका लागि पाइलट र एयर होस्टेजको पोसाक लगाएर विमानभित्र फोटो खिच्ने व्यवस्था मिलाउने, विमान किन अपहरण गरिएको थियो, त्यसबारेको वृत्तचित्र विमानभित्रै देखाउने व्यवस्था समेत मिलाउन लागिएको पोखरेलले जानकारी दिए ।
 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

 

शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ