नेपाली कामदारलाई लक्षित गरी कोरियामा तनाव व्यवस्थापन कार्यक्रम
काठमाडौँ । दक्षिण कोरियाको सियोलस्थित नेपाली दूतावासले नेपाली कामदारलाई लक्षित गरी ‘तनाव व्यवस्थपन तथा स्वेच्छिक घरफिर्ती’ कार्यक्रम गर्ने भएको छ ।
मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि विज्ञसँगको परामर्श कार्यक्रम सञ्चालन गर्न लागेको दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए ।
कार्यक्रममा सिनियर कन्सल्ट्यान्ट मनोविद् डा. केदारबहादुर रायमाझीले विशेष प्रस्तुति, प्रशिक्षण तथा परामर्श प्रदान गर्नेछन् ।
यही मङ्सिर १५ र १६ गते नेपाली कामदारको बाहुल्य रहेको क्षेत्रमा कार्यक्रम सञ्चालन गरिनेछ । मङ्सिर १५ गते छनान र १६ गते मक्को हुन्डाई औद्योगिक क्षेत्रमा कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
छनान राजधानी सियोलबाट दुई घन्टाको दूरीमा छ । मक्को हुण्डाई कम्पनीमा करीब २०० नेपाली कार्यरत रहेको श्रम काउन्सिलर बास्तोलाले जानकारी दिनुभयो । सो स्थानमा हुने कार्यक्रममा झन्डै चार सय नेपाली सहभागी हुने अनुमान गरिएको छ ।
कार्यक्रममा विज्ञसँग परामर्श, छलफल तथा सुझाव लिने, कार्यअवधि समाप्तीसँगै स्वेच्छिक रुपमा स्वदेश फिर्ताका लागि उत्प्रेरित गर्न तथा स्वदेश फर्केका कामदारलाई नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधाका बारेमा जानकारी गराइने पनि उनले बताए ।
सो क्रममा कामदारको गुनासोलाई यथासम्भव कार्यस्थलमै गई सुनुवाई र सम्बद्ध पक्षसँग बहस पैरवी गरिने दूतावासले जनाएको छ । आफूलाई पायक पर्ने स्थानमा हुने सो कार्यक्रममा सहभागिताका लागि दूतावासले अनुरोध गरेको छ ।
कार्यक्रममा सहभागीलाई ‘कमाउ, सीप सिक र स्वदेश फर्की उद्यमी बनी रमाऔँ’ सन्देशसहितको परामर्श प्रदान गरिने काउन्सिलर बास्तोलाले जानकारी दिए ।
मानसिक तनाव, कामको चाप, खानपिन, हावापानीलगायत कारणबाट कोरियामा मृत्यु हुने नेपालीको सङ्ख्या बढ्दै गएको जानकारी दिँदै उनले भने, ‘कोरियामा काम गर्ने नेपालीमा डिप्रेसनको अवस्था भयावह छ, कडा काम, रोजगारदाताको कामप्रतिको कडाई, परिवारको चाहनालगायत कारणबाट नेपालीमा मानसिक रोग देखा परेको छ । यसबाट आत्महत्याको घटनामा समेत वृद्धि भएको हुनसक्छ ।’
‘कोरियामा समयावधि सकिएपछि अवैधानिक बसोबास गर्दाका बखत आइपर्ने समस्याका बारेमा नेपालीलाई जानकारी गराइने छ, उनले भने, ‘सीप सिकी नेपाल फर्केर उद्यमशीलता विकास गरी स्वदेशको समृद्धिमा योगदान गर्न कार्यक्रमले प्रेरित गर्नेछ ।’
आकर्षक गन्तव्यका रुपमा रहेको कोरियामा पछिल्लो समय विभिन्न कारणबाट मृत्यु हुने नेपालीको सङ्ख्या बढ्दै गएको छ । सन् २००७ देखि हालसम्म विभिन्न कारणबाट १६० नेपालीको मृत्यु भइसकेको छ । आत्महत्या, औद्योगिक तथा सडक दुर्घटना र सुतेकै अवस्थामा नेपालीले ज्यान गुमाउँदै आएका पनि छन् ।
रोजगारी अनुमति प्रणाली इपिएसमार्फत हालसम्म करीब ५८ हजार नेपाली कामको खोजीमा कोरिया पुगेका छन् ।
अहिले करीब ४० हजार नेपाली विभिन्न कामका सिलसिलामा कोरियामा रहेको दूतावासले जनाएको छ । तीमध्ये ३६ हजारले कोरिया भाषा परीक्षा पास गरी काम गर्दै आएका छन् भने चार हजार नेपाली विभिन्न पेसा व्यवासाय गरी कोरियामा बसोबास गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीसँग सत्ता उल्ट्याउने क्षमता छ, कमजोर नठान्नू : माधव नेपाल
-
वैदेशिक रोजगारीमाा पठाउँछु भनेर ठगेको आरोपमा दुई जना पक्राउ
-
कोशीका मुख्यमन्त्रीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने
-
सुप्रिम सहकारी ठगीमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा, दिपेश पुन अझैँ थुनामा
-
कल्याण उपकार सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी
-
हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जादैनौँ : रावल