शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री र कर्मचारीप्रति प्रधानमन्त्री ओलीको आक्रोश : यो पाराले कसरी अघि बढ्न सकिन्छ ?

बुधबार, ०५ मङ्सिर २०७५, १७ : २८
बुधबार, ०५ मङ्सिर २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयका मन्त्री तथा सचिवहरुलाई जनअपेक्षाअनुसार काम नगरेको भन्दै ‘तर, पनि, यदि’ जस्ता शब्द प्रयोग गरेर उम्कन नखोज्न निर्देशन दिएका छन् । 

आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको कार्यन्वयन सम्बन्धि प्रथम चौमासिक समिक्षा बैठकलाई बुधबार सिंहदरबारमा सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुप्रति आक्रोश व्यक्त गरेका हुन् । 

‘देशको परिस्थिति, जनअपेक्षा र हाम्रो अभिभारा बुझ्नुपर्दछ । ती अपेक्षा पुरा गर्न कोही सेवाको रुपमा कार्यरत छौं । कोही जनताले चुनावमार्फत पठाएर आएका छौं’ प्रधानमन्त्री ओलीले भने, ‘यस अभिभारा र अपेक्षालाई पुरा गर्न कोही कसैले पनि विलम्ब गर्न हुदैन ।’ देश विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदि’ जस्ता शब्द प्रयोग गरेर उम्कन नपाउने प्रधानमन्त्री ओलीले बताए । 

‘सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस’ मन्त्री र सचिवहरुको बैठकलाई सम्वोधन गर्दै उनले भने– ‘आफ्ना कमजोरीहरुलाई तर्कको लिउनले कसैले पनि टाल्न नखोज्नुहोस ।’ सरकार गठनको नौ महिना सम्म पनि पुरानै ढाँचा, पुरानै बानी नहटेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरे ।  

‘एउटा टेबलबाट अर्को टेबलमा फाइल सर्न कैयौं दिन लाग्ने, सिंहदरबारको एउटा कार्यालयबाट अर्को कार्यलयमा पत्र पुग्न महिनौं लाग्ने ? यो पाराले कसरी अघि बढ्न सकिन्छ’ । प्रधानमन्त्री ओलीले भने ‘मन्त्रिपरिषदबाट ढिला सुस्ती भएको छ भने भन्नुहोस । मन्त्री, सचिवको ढिलासुस्ती छ भने भन्नुहोस । ऐन कानुनले ढिला सुस्ती भएको छ भने त्यो पनि भन्नुहोस । त्यस्ता ढिला सुस्तीका कारणलाई निरुपण गर्नेतर्फ मेरो ध्यान जान्छ । अब कहिं पनि ढिलासुस्ती स्वीकार्य छैन ।’

केही तत्वहरु लोकतन्त्रको जरा काट्न उद्ध्त रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनीहरु लोकतन्त्रका आधारहरुमाथि असभ्य ढंगले प्रस्तुत भएका छन् । ‘हामीले लोकतन्त्रको अनुभूति तल्लो स्तरका जनतालाई  गराउने गरी काम गर्नु पर्दछ’ प्रधानमन्त्री ओलीले भने–‘जनतामा आशावादिता जगाउने गरी काम गर्नुपर्दछ । जनता निरश भए भने  देशका लागि घातक हुन्छ ।’

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसुधन अधिकारी, सञ्चार तथा सुचना प्रविधि मन्त्तालयका सचिव महेन्द्रमान गुरुङ, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सञ्जय शर्मा र अनुपकुमार उपाध्याय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सचिव युवकध्वज जिसी र प्रकाश माथेमा, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडा र चन्द्र घिमिरे, सहरी विकास मन्त्रालयका सचिव रमेशकुमार सिंह र पुननिर्माण प्राधिकरणका सचिव अर्जुन कार्कीले आ–आफ्नो मन्त्रालयको चौमासिक प्रगति विवरण पेश गरेका छन् । 

प्रधानमन्त्रीले मन्त्रालयहरुको प्रगति विवरण लिने क्रम भोली पनि जारी रहने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप