केन्द्रीय संस्करण

‘नेपाल टेलिभिजन बन्द गरिदिए हुन्छ’

person access_timeमंसिर ५, २०७५ chat_bubble_outline0


कलाकार, निर्माता, निर्देशक नीर शाहको कलाक्षेत्रमा जति ठूलो नाम छ, त्यस्तै पहिचान टेलिभिजन क्षेत्रमा पनि छ । उनी नेपाली टेलिभिजनका पिता भनेर पनि चिनिन्छन् । 

नेपालकै पहिलो टेलिभिजन ‘नेपाल टेलिभिजन’ देशमा भित्र्याउने श्रेय पनि उनलाई नै जान्छ । उनी यसको पहिलो अध्यक्ष, महाप्रवन्धक पनि हुन् । आज ‘विश्व टेलिभिजन दिवस’ हो । यही सन्दर्भ पारेर नेपालमा टेलिभिजन भित्रिनुको कारण, चुनौती र नेपाल टेलिभिजनको पछिल्लो अवस्थाको विषयमा शाहसँग गरिएको कुराकानी उनकै शब्दमा :


जतिबेला टेलिभिजन सुरु गर्ने तयारी हुँदै थियो यहाँका ठूलाठूला नीतिनिर्माता, योजनाकार र ब्युरोक्र्याटस् गलल गलल हाँस्नुहुथ्यो । त्यसो हुनुको मुख्य कारण उनीहरू समयको विकाससँग आफूलाई परिचित राख्न नसक्नुको थियो । 

टेलिभिजनको कुरा गर्दैगर्दा एक जनाले मोबाइलबारे भनेको कुरा पनि सान्दर्भिक होला । उनले मोबाइल फोन पयोग गर्ने ५ जना मात्रै निस्किए भने मेरा काममा कौडी झुन्ड्याइदिनु भनेका शब्दहरू मलाई अझै ताजा छ ।

टेलिभिजनको कुरा गर्दा त यो हुनै नसक्ने, जिरो प्रतिशत सम्भावना बोकेको परियोजना हो भनिन्थ्यो । टेलिभिजन हेर्ने मानिस भेटिँदैन भनिन्थ्यो । त्यो अवस्थाबाट गुज्रिएर अहिलेको अवस्थासम्म आइपुग्दाको एउटा प्रतक्षदर्शी म आफै हुँ । 

२०४१ मा भयो टेलिभिजनको जन्म

वि.सं २०४१ माघ १७ गते नेपाल टेलिभिजन परियोजनाको जन्म भयो । त्यसको प्रमुखको रूपमा म नियुक्त भएँ । दुवै कार्य एकै दिन भयो । त्योभन्दा अगाडि म तत्काली शाही नेपाल चलचित्र विकास कम्पनीमा कार्यरत थिए । त्यहाँ कार्यरत रहँदा मैले चलचित्रको विकास र टेलिभिजनको स्थापनासम्बन्धी एक एक कार्यपत्र तत्कालीन श्री ५ को सरकारलाई बुझाएको थिएँ । 

यो टेलिभिजन परियोजना गठन हुँनुभन्दा ८, ९ महिना अगाडिको कुरो हो । त्यतिबेला कसैले नौलो कुरा गरे, कसैले नयाँ बाटोतर्फ अग्रसर हुन खोजे त्यसलाई पन्छाइहाल्ने चलन थियो । तर पनि म भने टेलिभिजन खोल्ने कुरालाई लिएर उत्साही थिएँ । कार्यपत्र बुझाएपछि त्यो अनुसार काम हुन्छ भन्ने मेरो सोच थियो । 

मलाई चलचित्र कम्पनीबाट सूचना विभागमा काजमा सारियो । सूचना विभागमा मेरो केही काम थिएन । एक दिन पनि म त्यो ठाउँमा बस्न सकिनँ । तत्कालै मैले दुई वर्षको बिदा लिएर अध्ययनका लागि बेलायत उडेँ ।

‘उहाँ’को सल्लाह पहिलो गाँसमा ढुङ्गाझैँ भयो

बेलायतमा अध्ययन गर्दैगर्दा टेलिभिजन परियोजनका लागि बोलावट भयो । नेपाल फर्किने कि नफर्किने निणर्य गर्न झन्डै तीन हप्ता लाग्यो । 

बेलायतमा रहेका साथीहरूसँग छलफल चल्यो । उनीहरूले नयाँ कुरो हो, हात हालेर हेर्दा के बिग्रन्छ र ? काम हुनसक्यो भने एउटा इतिहास बन्छ, हुन सकेन भने फेरि फर्किएर अध्ययन बढाए भइहाल्यो भनेर सुझाए ।

एक पटक हेरौं भन्दै नेपाल फर्किएँ । नेपाल आएपछि नियुक्तिपत्र बुझ्न सञ्चार मन्त्रालय गएँ । मन्त्रालयको सचिवजीले मलाई नियुक्तिपत्र दिनुभयो । नियुक्तपत्र दिँदा उहाँले ‘तपाईंले निक्कै गलत काम गर्नुभयो, बेलायतमा पढेर बसेको मान्छे, यो बेकारको काममा होमिन आएर,’ भन्नु भयो । उहाँको कुरा मलाई पहिलो गाँसमै ढुङ्गाझैं भयो । तर पनि मैले परियोजनाको जिम्मेवारी सम्हालेँ ।

योजना नै नभएको परियोजना प्रमुख म 

मैले पत्र बुझ्दा सो वर्षको दुई चौमासिक बितिसकेको रहेछ । टेलिभिजनको सम्भाव्य अध्ययनका लागि भनेर छुट्याइएको एक लाखमा ३४ हजार बाँकी रहेछ । ३४ हजारले के सम्भाव्यता अध्ययन गर्ने ? त्यो समय मलाई तत्कालीन सञ्चार मन्त्रालयमा नायब सुब्बा केदारप्रसाद प्रशासनिक कार्य गर्न र बाबुकाजी महर्जन नामका एक जना ड्राइभर (त्यो पनि गाडीबिना) दिइएको थियो । नेपाल टेलिभिजनमा क्रियाशील हुन आएको म पछिका दुई व्यक्ति उहाँहरू नै हुन् । गाडी नभएको ड्राइभर, प्रशासन नभएको प्रशासक र योजना नभएको परियोजनाको प्रमुख म गरेर तीन जना टेलिभिजनमा खटियाँै ।

टेलिभिजन खुलोस् भन्ने मनसाय कसैका थिएन

टेलिभिजन खुलोस् भन्ने हेतुले परियोजना खोलिएको संस्था थिएन । टेलिभिजन खोल्ने विषयमा राजाले एक समय हाउसमा बोलेका रहेछन् । काम अगाडि बढेको छ भनेर देखाउन मात्र परियोजना बनेको रहेछ । यो मैले पनि अनुभव गरेँ ।

मैले परियोजना सम्हालेपछि पहिलो फोकस जनशक्ति उत्पादनमा दिए । किन भने तत्कालीन समय अरूभन्दा पनि जनशक्ति उत्पादनका लागि पुँजी र सहायता जुटाउन सजिलो थियो । यो विषय मेनपावर डेभलपमेन्टसँग जोडिएको थियो ।

यस विषयमा काम गर्ने अनेक सङ्घसंस्था थिए । ती संस्थाले सघाउँछन् भन्ने आस थियो । दोस्रो कुरो मसँग चलचित्र निर्माणको अनुभव थियो । त्यतिबेला चलचित्रको कटु अनुभव के थियो भने नेपालमा चलचित्र उद्योग शतप्रतिशत आयातित जनशक्तिबाट चल्थ्यो । त्यो ठूलो गल्ती थियो । यो प्रभावबाट मुक्त हुन आज पनि चलचित्र क्षेत्र सङ्घर्षरत छ । म त्यो ब्लन्डर टेलिभिजन क्षेत्रमा नदोहोरियोस् भन्ने चाहन्थे ।

नेपाल टेलिभिजन कर्मका गुरुबा र गुरुआमा भिथुनेन

जनशक्ति नै पहिलो प्रथामिता भएपछि जनशक्ति उत्पादनमा लाग्यौँ । त्यसमा हामीलाई वल्र्ड भ्यु इन्टिरनेसनल फाउन्डेसनले सघायो । मास कमिन्युकेसनसँग सुझबुझ भएको भारदत्त कोइरालाजीले उक्त संस्था लिड गर्नुभएको थियो ।  

मैले सोचेजस्तै उहाँबाट सहयोग भयो । फिनल्याडबाट दुई टेलिभिजनकर्मी प्रशिक्षकको रूपमा नेपाल बोलाइयो । ती एरकी भिथुनेन र लिना भिथुनेन भन्ने थिए । नेपाल टेलिभिजनकर्मका गु?बा र गु?आमा तिनै हुन् ।

उनीहरूले १६ र त्यसपछि १८ जनाको जनशक्ति प्रशिक्षित गरे । कुनै पनि शैक्षिक योग्यता नराखेको यो यो ब्याचमा ट्यालेन्ट, लगनशीलता र कर्मप्रतिको प्रतिबद्धता नै योग्यता तोकियो । यसरी उत्पादन गरेको जनशक्तिमा संसारको जुनै कुनामा गएर पनि टेलिभिजन सञ्चालन गर्न सक्ने ऊर्जा भरिएको थियो । 

यिनै ३२ जनाबाट नेपाल टेलिभिजनको संस्कृति र संस्कार बसालियो । टेलिभिजन बिस्तार गर्ने क्रममा मेरो पहिलो सोच जनशक्ति उत्पादन गर्ने जो थियो, त्यो सही सावित भयो । यसैको परिणाम आज देशमा दशौं हजार टेलिभिजनकर्मी  विभिन्न टेलिभिज स्टेसनहरूमा कार्यरत छन् ।

अनि परियोजना नेपाल टेलिभिजन भयो

जनशक्ति तयार त भयो तर टेलिभिजन अगाडि बढाउन नेपाल सरकारले केही दिएन । त्यसका लागि मैले नेपाल बैङ्कबाट व्यक्तिगत जमानतमा ९० लाख ऋण लिएँ । सो पैसाले फुल्चोकीमा ट्रान्समिसन टावर किनेर राखियो । ट्रान्समिसन टावर राखेपछि टेलिभिजनको सिग्नल उपत्यका र उपत्यका बाहिर पनि देखियो । 

यसपछि तत्कालीन सरकार टेलिभिजनका बारेमा गम्भीर रूपमा सोच्न बाध्य भयो । परिणाम स्वरूप सरकारले टेलिभिजन परियोजनालाई नेपाल टेलिभिजन संस्थानका रूपमा विकास गर्यो । 
टेलिभिजन स्थापना भएपछि उपत्यकामा उपलब्ध विभिन्न कार्यक्रम रेकर्ड गरेर ट्रायलका रूपमा देखाउन थाल्यौँ ।

सुरुमा सञ्चार मन्त्रालयको एउटा कोठामा सीमित हामी त्यसपछि अहिले नेपाल स्टक एक्सचेन्जको कार्यालय भएको भवनमा सर्यौं । त्यो भवन नै नेपाल टेलिभिजनको पहिलो भवन थियो । 

अहिले हिमथाई रेस्टुरेन्ट भएको लाजिम्पाटको घर जुन सरदार भीमबहादुर पाण्डेको घर थियो, त्यो भाडामा लिएर फेरि ट्रेनिङ सञ्चालन गर्न थाल्यौं । यसको प्रमुखका रूपमा वरिष्ठ साहित्यकार शैलेन्द्र साकार नियुक्त हुनुभयो । ट्रेनिङका लागि उहाँलाई कृषि विकास बैङ्कबाट झिकाइएको थियो ।  

कार्यक्रम प्रसारण गर्न तपानाथ शुक्लाजीलाई पनि चलचित्र विकास संस्थानबाट झिकाइयो । प्राविधिक फाँट तयार गर्न तीर्थलाल श्रेष्ठलाई ल्याइयो ।

यसरी सुरु भयो समाचार  

सोही समय तत्कालीन राजा वीरेन्द्रको अस्ट्रेलिया भ्रमण हुने कुरा चल्यो । राजाको अस्ट्रेलिया भ्रमण कुनै न कुनै रूपमा श्रव्यदृश्यसहित देखाउन सकियो भने प्रोजेक्टलाई फाइदा पुग्ने विश्वास ममा जाग्यो ।
त्यसका लागि मैले युनिट बनाउन थालेँ । यो युनिटका लागि दुर्गानाथ शर्माजीलाई गोरखापत्र संस्थानबाट झिकाइयो । पहिलो क्यामराम्यानको रूपमा श्याम चित्रकार भित्रिए ।

म, दुर्गानाथ, श्याम गरेर तीन जनाको टिमले राजाको भ्रमणको समाचार टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्यौं । त्यो नेपाल टेलिभिजन इतिहासकै ठूलो प्रयोग थियो । यसरी सु? भयो समाचार ।

दुरदर्शनको मोह हटाउनु ठूलो चुनौती  

प्रसारण थालेको १ वर्षमै समाजमा टेलिभिजनको प्रभावकारिता निकै बढेको थियो । सो समय ४ सय घरमा टेलिभिजन भएको अफिसल रेकर्ड थियो । ती घरमा डिस एन्टेनामार्फत दुरर्दशन हेरिन्थ्यो । 

दुरदर्शनप्रतिको मोह हटाउनु हाम्रो पहिलो जिम्मेवारी थियो । तर हामीलाई सो समय विभिन्न लोभसमेत देखाइए । आधा घण्टाको कार्यक्रम मुम्बईको दुरदर्शनबाट बनाउने प्रस्ताव पनि आए । प्रस्तावको पक्षमा वकालत गर्ने एउटा बलियो सङ्गठन नेपाल सरकारभित्र र दरबारभित्रै पनि थियो । मलाई त्यो प्रस्ताव स्वीकारयोग्य लागेन । किनभने त्यसले न हाम्रो जनशक्ति विकास गथ्र्यो न नेपाल टेलिभिजनको विकास गथ्र्यो । विभिन्न प्रलोभनकारी प्रस्ताव आए तर मैले अस्वीकार गरेँ ।

अनेक साधानको अभावमा कार्यक्रम नराम्रो होला, स्तरीय नहोला भन्ने त छँदै थियो तर मलाई हाम्रा मानिसहरूले सिक्दै जान्छन् भन्ने लाग्यो । हामी अगाडि बढ्दै गयांै । करिब एक वर्षमा हामीले ४ सय टेलिभिजन भएका घरबाट ४ हजार टेलिभिजन भएका घर बनाउन सफल भयौं । प्रतिबद्ध र इमानदरीपूर्वक, स्रोत र साधनले भ्याएसम्म नेपालभित्रका गतिविधि दर्शक माझ राखियो ।

राजनीतिको सिकार 

नेपाल टेलिभिजन सरकारी मिडिया हो । तर यसले गोरखापत्र र रेडियो नेपालको रूप धारणा गर्न हुँदैन भन्नेमा म सजक थिएँ । यसैले गर्दा यी संस्थाको कर्यनीतिभन्दा बिल्कुल अलग रहेर नेपाल टेलिभिजनले काम अगाडि बढायो ।

हाम्रा काम कुरा जनउपयोगी नठहरिएको खण्डमा त्यसबारे नकारात्मक टिप्पणी गर्ने अधिकार आफूसँग सुरक्षित राख्नुपर्छ भन्ने हाम्रो भावना थियो । त्यही कारणले टेलिभिजनमा अँध्यारो उज्यालो, ८ बजे जस्ता कार्यक्रम जन्मिए । विजय कुमार, इन्द्र लोहनी जस्ता कार्यक्रम प्रस्तोताको उदय भयो ।

जब टेलिभिजनले लोकप्रियताको फड्को मार्दै गयो, यो त सशक्त टुल रहेछ । यसलाई हामीले हाम्रो पक्षमा, हाम्रा सत्ता र प्रणालीको पक्षमा प्रयोग गर्नसके धेरै लाभ लिन सकिन्छ भन्नेमा सत्तापक्षको ध्यान देखियो । 

अर्काेतिर १ वर्षभित्रै आधा घन्टाको कार्यक्रममार्फत नेपाल टेलिभिजनले अभूतपूर्व सफलता हासिल गरिसकेको थियो । सोही समय नेपाल टेलिभिजन राजनीतिको सिकार भयो । अप्रत्यक्ष रूपमा राजनीतिक हस्तक्षेप टेलिभिजनमा बढ्न थाल्यो । उत्पादनसँग सम्बन्धित आधा समय अनुत्पादन क्रियाकलाप निर्माण र प्रसारणमा खर्च हुन थाल्यो ।

अनि भएँ पहिलो अध्यक्ष, महाप्रवन्धक 

ठूलो फड्को मार्दै बृहत् सोचका साथ २०४२ साल पुस १४ गते राजा वीरेन्द्रको जन्मदिनमा टेलिभिजनले नियमित प्रसारण सु? गर्यो । त्यसको केही सातामै यसले संस्थानको आकार पायो । यो स्थापना भएपछि अध्यक्ष महाप्रबन्धक खेलकुदसँग सम्बन्धित मानिस ल्याउने चलखेल सु? भयो । 

तर मेरो टेलिभिजन स्थापनाको सङ्घर्षले त्यसको पहिलो अध्यक्ष महाप्रबन्ध भएर नियुक्त हुने सौभाग्य मैले नै पाएँ । भूपराज पाण्डे, रवीन्द्र शमशेर राणा, अमृतराज रेग्मी, स्वर्ण क्षेत्री सदस्य रहेको सञ्चालक समिति गठन भयो । जसको अध्यक्ष मैले गरेँ । यो नै नेपाल टेलिभिजनको पहिलो सञ्चालक समिति थियो ।

अहिले नेपाल टेलिभिजन मूल नीतिमा छैन

लामो समयपछि करिब ३ वर्ष अगाडि पुनः अध्यक्ष भएर टेलिभिजन भित्रिएँ । यो कार्यकाल मैले झण्डै १४ महिना बिताएँ । मेरो जानुको पछाडि पब्लिक ब्रोडकास्टिङ कन्सेप्ट, जुन सरकारले अगाडि ल्याएको थियो, त्यसको अध्ययन गर्नु थियो ।

उद्देश्य जे भए पनि टेलिभिजनको भित्री अवस्था धेरै वर्षपछि फेरि हेर्ने अवसर मिल्यो । हेर्दा नेपाल टेलिभिजनको अवस्था हतोत्साहित बनाउने खालको देखेँ । नेपाल टेलिभिजनको मूल नीति जो थियो, त्यसबाट अलग्गिँदै गएको पाएँ । 

सामाजिक हितका लागि सञ्चालन नहुने हो भने टेलिभिजन जस्तो महँगो सञ्चार माध्यमको अहिले औचित्य हामी प्रमाणित गर्न सक्दैनौँ ।

नेपाल टेलिभिजनले त्यो अवसर गुमायो   

नेपाल टेलिभिजनका लागि सरकारको धेरै धनराशि खर्च हुन्छ । टेलिभिजनबाट प्रसारण हुुने सामग्रीले जनहितसँग सोझै सरोकार राख्नुपर्ने हो । अहिले त्यो हुन सकेको छैन । नेपाल टेलिभिजन ब्यापर गर्ने थलोका रूपमा विकास भएको छ । यो गर्ने हो भने सरकारले यसलाई संरक्षण गरिरहनुपर्दैन । व्यापारिक रूपबाट थुप्रै टेलिभिजन खुलेका छन् ।

ती टेलिभिजन र नेपाल टेलिभिजनका बीच भिन्नता के ? नेपाल टेलिभिजनले एउटा गहन दायित्व बोकेको छ, जो उसले निर्वाह गर्नसक्नु पर्छ । 

अरू सञ्चारगृहले पनि यो दायित्व बोक्नुपर्छ । तर व्यापारिक प्रायोजनका लागि आफूलाई सञ्चालन गर्ने छुट रहन्छ । यी आधारभूत भिन्नता अहिले नेपाल टेलिभिजनले बुझ्न सकेजस्तो मलाई लागेन । आफूमा भएको समय व्यापारिक गृहलाई बेच्ने गलत सोचाइमा नेपाल टेलिभिजन अगाडि देखिएको छ ।

मेरो विचारमा नेपाल टेलिभिजन अहिले एसिया प्यासिफिकको लिडिङ संस्थाको रूपमा अगाडि बढ्न सक्नुपथ्र्यो । जतिबेला नेपाल टेलिभिजन स्याटलाइटमा गयो । त्यतिबेला अहिलेका चर्चित स्याटलाइट च्यानलहरू स्टार टीभी, जीटीभी थिएनन् । भारतमा दुरदर्शनबाहेक केही थिएन । 

बहुभाषिक थुप्रै च्यानल भएको स्याटलाइट बेस टेलिभिजन संस्थाका रूपमा एसियामै अग्रणी भूमिका निर्वाह गर्ने संस्थाका रूपमा नेपाल टेलिभिजन आउन सक्थ्यो । गलत नीति, राजनीतिक हस्तक्षेपले यो अवसरसमेत गुमायो ।

नेपाल टेलिभिजनको अहिले के काम ?

समय बेचेकै आधारमा धनी भइन्थ्यो भने टेलिभिजनको अहिले दयनिय अवस्था हँुदैन थियो । आर्थिक रूपमा पनि सम्पन्न हुन नसक्ने, प्राज्ञिक रूपमा पनि एउटा पहिचान सिर्जना गर्न नसक्ने र सामाजिक हितमा समेत परिचालित नहुने नेपाल टेलिभिजनको अहिले के काम, बन्द गरिदिए हुन्छ ।

राम्रो सफलताको कथा बोकेको नेपाल टेलिभिजन अत्यधिक असफलतामा रूपान्तरण हुने स्थितिमा छ । यो देख्दा सारै चिन्ता लाग्छ । 

नेपाल टेलिभिजन अब बन्द हँुदा पनि नेपालमा टेलिभिजनको गति रोकिँदैन । किनभने बाहिर दक्ष टेलिभिजन चलाउन सक्ने समाज स्थापना भएको छ । 

अहिले रहेका नेपाल टेलिभिजनका चारै च्यानल बन्द गरिदिए पनि अब टेलिभिजन कर्मका लागि केही फरक पर्दैन । यसको बिस्तारका पनि अब रोकिँदैन । त्यसैले यसलाई राज्यले पालिराख्नु पर्छ भन्ने लाग्दैन । त्यो सम्बिन्धित निकायले बेलैमा सोच्नुपर्छ ।
 

कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन क्षेत्रमा क्रियाशील पत्रकार हुन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ