शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टेग्रिटी आइडल नेपाल–२०१८ का उत्कृष्ट पाँच जनाको नाम सार्वजनिक

मङ्गलबार, ०४ मङ्सिर २०७५, १८ : ०५
मङ्गलबार, ०४ मङ्सिर २०७५

काठमाडौं– ‘इन्टेग्रिटी आइडल नेपाल–२०१८’ का उत्कृष्ट पाँच जनाको नाम सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी इन्टेग्रिटी आईडल नेपाल–२०१८ का उत्कृष्ट ५ जनाको नाम सार्वजनिक गरिएको हो । 

जसअनुसार यस वर्षको उत्कृष्ट पाँचमा तरकारी बाली विकास केन्द्र, खुमलटारका वरिष्ठ बागबानी विकास अधिकृत अरुण काफ्ले, टिकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव महेन्द्रप्रसाद पौडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङ्ग र वीरेन्द्रनगर नगरस्वास्थ्य कार्यालय, सुर्खेतका सिनियर अनमी सिताकुमारी शर्मा पर्न सफल भएकी छन् । यी उत्कृष्ट मध्येबाट एक जनालाई सर्वोत्कृष्ट घोषणा गरिनेछ । त्यसका लागि अनलाईन भोटिङ खुला पनि खुला गरिएको छ ।

मंगलबार (आज साँझ) साँढे ६ बजेबाट एपी वान टेलिभिजन सोसम्बन्धि कार्यक्रम प्रसारण भएदेखि सुरु भएर मंसीर १७ गते सोमबार रातिसम्म भोटिङ खुला रहने एकाउन्टबिलिटी ल्याव नेपालका प्रमुख कार्यकारी अधिकृत नारायण अधिकारीले जानकारी दिए ।

भोटिङका लागि अरुण काफ्लेको १, ध्रुवराज आचार्यको २, महेन्द्रप्रसाद पौडेलको ३, रामबहादुर कुरुङबाङ्गको ४ र सिताकुमारी शर्माको लागि ५ कोड निर्धारण गरिएको छ । भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर आफूलाई चित्त बुझेको व्यक्तिको भोटिङ कोर्डलेखि ३४००१ मा भोटिङ गर्न सकिने पनि जानकारी दिइएको छ । पाँचजना उत्कृष्ट मध्येबाट सर्वोत्कृष्ट इन्टेग्रिटी आईडल नेपाल २०१८ छनौट गर्न भोटिङको व्यवस्था गरिएको हो ।

मनोनयनमा परेका उत्कृष्ट ५ जनाको नाम चयन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय संयोजक रहेको निर्णायक समितिमा अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना सहजीकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशिराज दाहाल, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा सदस्य रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप