मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वाधिक चासोको विषय बनेको वाइड बडी खरिद प्रकरणमा लेखा समितिले बोलायो पर्यटनमन्त्री

मङ्गलबार, ०४ मङ्सिर २०७५, १६ : २४
मङ्गलबार, ०४ मङ्सिर २०७५

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले वाईडबढि विमान खरिदमा अनियमितता भएको दावी गर्दै छानवीन गर्न माग गरेको छ । 

नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेपाल वायु सेवा निगमले वाइड बडि विमान खरिदमा ठूलो आर्थिक अनियमितता गरेको दावी गर्दै छानवीन गर्न संघीय संसदको सार्वजनिक लेखा समिति बैठकमा माग गरेका हुन् । 

मंगलबार बसेको समितिको बैठकमा उनले ५० औं वर्षसम्म मुलुकलाई आर्थिक भार पर्नेगरी विमान खरिदमा अनियमितता भएको सबै सञ्चार माध्यामले उल्लेख गरेको स्मरण गराउँदै त्यसलाई छानवीनको दायरामा ल्याउन आफ्नो पार्टीको जोडदार माग गरेको पनि समितिलाई जानकारी गराए । 

काँग्रेसको हालै सम्पन्न केन्द्रिय कार्य समिति बैठकले वाइड बडि विमान खरिदमा अनियमितता भएको ठहर गरेको नेता रिजालको भनाई छ । 

नेता रिजालले अनियमितताको आरोप लागेको सो विषयमा समिति चुप लागेर बस्न नहुने धारणा समेत राखे । 

निगमले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ९ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएर दुई वटा वाईड बडि विमान खरिद गरेको थियो ।

यसैबीच, सार्वजनिक लेखा समितिले वाईड बडि विमान खरिदबारे संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग छलफल गर्ने भएको छ । 

समितिका सभापति भरतकुमार शाहले सो विमान खरिदका सम्बन्धमा छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीलाई आगामी आईतबार समितिमा बोलाउने निर्णय गरिएको जानकारी दिएका हुन् । 

समितिको मंगलबारको बैठकमा काँग्रेस सांसद डा. मिनेन्द्र रिजालले सो सम्बन्धमा छलफल गर्न जोडदार माग गरेपछि समितिले मन्त्री अधिकारीलाई छलफलका लागि आईतबार समितिको बैठकमा बोलाएको हो । 

बैठकले नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेल, महाप्रबन्धक सुगतरत्न कंशाकार र संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिवलाई पनि छलफलका लागि बोलाएको छ । 

समितिका सभापति शाहले व्यवस्थापन पार्टनर खोजेर मात्रै विमान खरिद गर्न तत्कालीन सार्वजनिक लेखा समितिले दिएको निर्देशनविपरित काम गरेको भन्दै निगमको चर्को आलोचना पनि गरेका थिए । 

समितिको मंगलबारको बैठकमा चिनीलगायतका दैनिक उपभोग्य बस्तुको बजार मूल्य नियन्त्रण सम्बन्धि उपसमितिले तयार पारेको प्रतिवेदन समितिमा पेश गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप