अष्ट्रेलियाको दोश्रो ठूलो शहरमा आक्रमणको तयारी गर्ने ३ जना पक्राउ
मेलबोर्न– अस्ट्रेलियाको मेलबोर्नमा आतङ्कवादी आक्रमणको योजना बनाएको आरोपमा मङ्गलबार बिहानै प्रहरीले तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो सहर मेलबोर्नमा जथाभावी छुरा प्रहार गरी दुई जनाको हत्या भएको दुई साता नबित्दै पछिल्लो घटना सार्वजनिक भएको हो ।
पक्राउ परेकामा टर्केली मूलका अस्ट्रेलियाली रहेका छन् । मेलबोर्नको भिडभाड इलाकामा आक्रमण गर्ने योजना बनाइरहेको अवस्थामा ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरु इस्लामिक स्टेट समूहबाट प्रभावित रहेको पाइएको बताएको छ । प्रहरीका प्रमुख आयुक्त ग्राहम एस्टोनले भने, ‘तर उनीहरु कुन समूहमा आबद्ध छन् भन्ने अझै खुलेको छैन ।’
गत मार्चदेखि नै ती तीन व्यक्ति प्रहरीको निगरानीमा रहेका थिए, तर नोभेम्बर ९ मा मेलबोर्न आक्रमणपश्चात उनीहरु अझ बढी सक्रिय रहेको पाइएको छ, ग्राहमले बताए ।
हाल परिचय नखुलाइएका उनीहरु ३०, २६ र २१ वर्षका छन् । उनीहरुमाथि यसअघि कुनै किसिमको फौजदारी अभियोग थिएन, तर उनीहरुलाई विदेश जान नपाउने गरी पासपोर्ट रद्द गरिएको थियो, प्रहरीले जनाएको छ ।
‘समयमै हामीले पक्राउ गर्न नसकेको भए जनधनको ठूलै क्षति हुने सम्भावना थियो,’ सङ्घीय प्रहरी प्रवक्ता इयान म्याककार्टनीले बताए ।
उनले पक्राउ परेका व्यक्तिहरुले आक्रमणका लागि अर्ध–स्वचालित राइफलहरु सङ्कलनको प्रयास गरेको बताए । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै