चालू आवमै सुनकोशी मरिन डाइभर्सनको काम शुरु हुने
–रमेश लम्साल
काठमाडौँ– लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको ‘सुनकोशी मरिन डाइभर्सन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आगामी चार महीनाभित्र पूरा हुने भएको छ ।
तराई मधेशमा सिँचाइ र खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सरकारले सो आयोजनालाई प्रमुख प्राथमकितामा राखेको छ । विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि ठेक्का प्रक्रिया अगाडि बढाएने ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए ।
सो आयोजनाबाट प्रदेश नं २ को एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । ‘हिमाल, पहाड र तराईलाई समेत जोड्ने भएकाले राष्ट्रिय एकतासमेत निर्माण गर्छ । त्यसकारण पनि सो आयोजना रणनीतिक महत्वको रहेको छ’, मन्त्री पुनले भने ।
मन्त्री पुनले उक्त परियोजनालाई छिटो सम्पन्न गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरिने भएको छ । चालू आवभित्रै निर्माणको काम अगाडि बढाउने गरी तयारी गरिएको छ । मन्त्री पुन, मन्त्रालयका उच्च अधिकारी र सिन्धुलीका जनप्रतिनिधिले सोमबार आयोजनास्थलको समेत अध्ययन गरेको थियो ।
आयोजनालाई बहुउद्देश्यीय बनाइने भएको छ । भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा टनेल बोरिङ मेशिन (टिबिएम) को प्रयोगका कारण सहज भएकाले सो आयोजनामा समेत त्यस्तै प्रविधिको प्रयोग गर्ने सोचमा सरकार लागेको छ । टिबिएमको प्रयोगपछि सुरुङ खन्न थालिएको एक वर्षमै ७५ प्रतिशत बढी निर्माण सम्पन्न भएको छ । कूल १२ दशमलब दुई किलोमिटर लामो सुरुङमध्ये हालसम्म करीब १० किमी सुरुङ निर्माण भइसकेको छ ।
सुनकोशी मरिन डाइभर्सन आयोजना तयारी अवस्थामा रहेकाले यो परियोजना सरकार, प्रधानमन्त्री र मन्त्रालयको प्राथमिकतामा रहेको मन्त्री पुनको भनाइ छ । आयोजनाको निर्माण अवधि पाँच वर्ष लाग्ने अनुमान गरिएको छ ।
सो आयोजनाको अनुमानित कूल लागत रु ८२ अर्ब रहेको छ । त्यसमा विद्युत् र सिँचाइको फरकफरक लागत रहनेछ । विद्युत्गृह, सुरुङ निर्माणलगायतमा रु ५२ अर्ब ८८ करोड र सिँचाइतर्फ रु ३२ अर्ब लागत रहने अनुमान गरिएको छ ।
आयोजनाबाट २ नम्बर प्रदेशको एक लाख २२ हजार हेक्टर जमीनमा सिँचाइ हुनुका साथै मरिन उपत्यकामा पनि सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसका साथै उक्त आयोजनाबाट ४२ दशमलव ५ मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य रहेको छ ।
सरकारले चालू आवको बजेटमा समेत सो नदी स्थानान्तरण आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरेको छ । आयोजनाका प्रमुख सुशील आचार्यले उक्त परियोजनाबाट २ नम्बर प्रदेशलाई खानेपानीको लागि पानी उपलब्ध गराउने लक्ष्यसमेत राखिएको जानकारी दिए ।
भेरी बबई डाइभर्सन आयोजनाको प्रगतिका आधारमा पनि सुनकोशी–मरिन डाइभर्सन आयोजना अगाडि बढाउन सकिने आधार र विश्वास पैदा भएको जानकारी दिँदै आयोजना प्रमुख आचार्यले हाल डिजाइन तथा लागत निर्माणलगायतको काम भइरहेको बताए ।
सिन्धुलीको खुर्कोट नजिक सुनकोशी नदीमा बाँध बाँधेर सुरुङमार्फत पानी मरिन उपत्यकामा खसालिने छ । आयोजनाको लागि लगानीको स्रोत जुटाउने काम जारी रहेको समेत मन्त्री पुनले जानकारी दिए ।
उनले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना रुपमा अघि बढाउने तयारीमा सरकार रहेको समेत बर्ताए । उक्त परियोजनालाई अघि बढाउन सिन्धुली, रामेछाप र ओखलढुङ्गाका नागरिकसमेत सहयोगी बन्ने भन्दै प्रतिनिधिसभा सदस्य हरिबोल गजुरेलले आयोजना बहुआयामिक महत्वको रहेको प्रतिक्रिया दिन्छन् ।
विकास र पूर्वाधारको माध्यमबाट सुनकोशी मरिन डाइभर्सन परियोजनाले हिमाल र पहाडलाई जोड्नुका साथै राष्ट्रिय एकता निर्माण गर्ने एउटा सशक्त माध्यमका रुपमा समेत उपयोगी हुने प्रतिनिधिसभा सदस्य गणेश पहाडीको टिप्पणी छ ।