बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जाडोमा छालाको स्याहार कसरी गर्ने ?

मङ्गलबार, ०४ मङ्सिर २०७५, १० : ३१
मङ्गलबार, ०४ मङ्सिर २०७५

जाडो मौसम बढ्नु भनेको छालाका लागि सुख्खा यामको सुरुवात हुनु हो । छालाका लागि जाडो अनुकूल समय होइन । यस्तोमा बाहिरी वातावरण सुख्खा हुने भएकाले यसको सीधा असर छालामा पर्छ । चिसो मौसममा छालामा विभिन्न समस्या आउन सक्छ, यस्तो समस्याबाट कसरी बच्ने र छालालाई सुख्खा हुनबाट कसरी बचाउने बारे क्युटिज केयर बानेश्वरका वरिष्ठ छाला तथा सौन्दर्य विशेषज्ञ प्रो डा. धर्मेन्द्र कर्णका सुझाव ।

छाला कसरी सुख्खा हुन्छ ?

दशैं तिहार सकिएसँगै जाडो सुरु हुन्छ । जाडो सुरु भएको थाहा सबैभन्दा पहिला ओठ सुख्खा हुने समस्याबाट हुने गर्छ । जब हाम्रो शरीरको छाला सुख्खा हुन्छ तब छालासम्बन्धी रोगहरू बल्झिएर आउँछन् । नेपालमा परिवर्तन भइरहने सिजनका कारण छालाका समस्या बढ्नु स्वभाविक पनि हो । एउटा सिजनमा छाला एड्जस्ट हुन नपाउँदै अर्को सिजन सुरु भइदिन्छ जसले छालालाई सीधा असर गर्छ । 

जब बाहिरी वातावरणको तापक्रम हाम्रो शरीरको भन्दा कम हुन्छ तब हाम्रो शरीरको ताप वातावरणले तान्न थाल्छ । यसले गर्दा हाम्रो शरीरबाट पानीको मात्रा छिन्न भइरहेको हुन्छ र छाला सुख्खा हुन्छ । यस्तोमा सबैभन्दा बढी एक्सपोज हुने भागहरू जस्तोः अनुहार हात लगायतका भाग बढी सुख्खा हुन्छन् । 

कसैकसैको जन्मजात नै सुख्खा छाला हुन्छन् । सुख्खा छालालाई दुई भागमा विभाजन गरिन्छ । 

वंशाणुगत सुख्खा छाला

वंशाणुगत सुख्खा छाला भन्नाले कसैको छाला जन्मजात नै सुख्खा तथा कत्ला हुन्छ । यो एक प्रकारको रोग हो । विशेष गरेर एलर्जी हुने व्यक्तिहरूमा, दमको बिरामी, हर्मोनको समस्या, थाइराइडका बिरामी, भिटामिन डी र ईको कमी भएका व्यक्तिमा छाला सुख्खा हुन्छन् । 

एक्वायर सुख्खा छाला 

एक्वायर सुख्खा छाला भन्नाले पछि आउने समस्या बुझिन्छ । कतिपय व्यक्तिहरूमा सुख्खा छाला हुनुमा आफ्नै लापरवाही प्रमुख कारण हो । 

–साबुनको धेरै प्रयोगले छाला सुख्खा हुनुका साथै फुट्ने समस्या पनि बढ्छ । 

–धेरै तातो पानिले नुहाउनाले पनि छाला सुख्खा हुन्छ । 

–ब्लड प्रेसरको औषधी सेवन गर्नेहरूमा छाला सुख्खा हुने समस्या धेरै हुन्छ । 

–त्यसैगरी विभिन्न रोगका औषधीहरू सेवन गर्नेहरूमा पनि छाला सुख्खा हुने समस्या बढी हुन्छ । जस्तोः युरिन धेरै जाने औषधीको सेवन, बोसो घटाउने औषधीको सेवन, सुगरको औषधीको सेवन गर्नेहरूमा छाला सुख्खा हुने समस्या बढी हुन्छ । 

छाला सुख्खा हुनेहरूलाई चिलाउने समस्या बढी हुन्छ  । कहिलेकाहीँ त चिलाउँदा चिलाउँदै घाउनै हुन पनि सक्छ । यस्तो अवस्थामा विशेष सावधानी अपनाउन जरुरी हुन्छ ।

छालालाई सुख्खा हुनबाट कसरी जोगाउने 

जाडो याममा केही सावधानी अपनाउने हो भने छाला सुख्खा हुनबाट जोगाउन सकिन्छ । 

–जाडो याम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउनुपर्छ । 

–खानपानमा विशेष ध्यान दिनुपर्छ । हरियो सागसब्जीका साथै प्रशस्त पानी पिउनाले सुख्खा छालाको समस्या समाधान हुन्छ । 

–छालामा टाँसिने गरी सुती कपडाको प्रयोग गर्नुपर्छ । 

–धेरै तातो पानीले सावरबाट सीधै ननुहाउने । 

–एक बाल्टी मनतातो पानीमा दुई चम्चा नुन राखेर नुहाउने गर्नाले छाला सुख्खा हुन पाउँदैन । नुनमा हुने सोडियम क्लोराइडले पानीको ताजापनलाई जोगाउन सहयोग गर्छ ।

–कडा खालको साबुनको प्रयोग नगर्ने । मोइस्चराइजिङ कन्टेन्ट हाई भएका साबुन अथवा  सावर जेलको प्रयोग गर्ने । 

–नुहउना साथै तेल अथवा मोइस्चराइजर लगाइहाल्ने । बाथरुममै तेल वा मोइस्चराइजर राख्ने बानी गर्नुस् र टाबेलले शरीर पुच्नेवित्तिकै लगाउनुस् । तेल वा मोइस्चराइजरले शरीरको हिटलाई कन्ट्रोल गरिदिन्छ, जसले गर्दा छाला सुख्खा हुन पाउँदैन ।

–यदि धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने अनि तेल, पेट्रोलियम जेली अथवा मोइस्चराइजर लगाउने गर्नुपर्छ ।
यति गर्दा गर्दै पनि तपार्इंको छाला सुख्खा हुने र फुट्ने समस्या भयो भने डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप