शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेनी–जोमसोम सडक दैनिक आठ घण्टा बन्द हुने

मङ्गलबार, ०४ मङ्सिर २०७५, १० : २२
मङ्गलबार, ०४ मङ्सिर २०७५

म्याग्दी– जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ । 

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको बेनीदेखि लेतेसम्ममा सवारीसाधन सञ्चालनका लागि समय तालीका लागू गरेको छ । 

जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सडक स्तरोन्नतिका लागि सवारीसाधन बन्द र काम गर्ने समय तालीका बनाएको हो । 

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार बेनीदेखि लेते सडकखण्डमा दैनिक बिहान ७ः३० देखि ११ः३० बजेसम्म तथा दिउँसो २ः३० देखि ६ः३० बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिनेछ । 

बेनीबाट मुस्ताङ जाने यात्रुले बिहान साढे ७ बजे र दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म घाँसा तथा मुस्ताङबाट आउने यात्रुले गलेश्वर पार गरिसक्नु पर्नेछ । साँझ साढे छ बजेदेखि निर्माण रोकिने र सडक खुला रहनेछ । 

बेनी–जोमसोम सडक स्तरोन्न्तिका लागि चार प्याकेजमा काम भइरहेको छ । “स्तारोन्नतिको काम र यात्रुको आवतजावतलाई सहज बनाउनका लागि समय तालीका बनाइएको हो,” आयोजना प्रमुख नरेन्द्र सुवेदीले भने । 

लेते–जोमसोम खण्डमा वैकल्पिक सडक बनाएर सवारीसाधन सञ्चालन गरिएको छ । म्याग्दी खण्डमा वैकल्पिक सडकको सम्भावना छैन । 

जोमसोम–कोरला ११० किलोमिटर लामो सडक स्तरोन्नतिको काम ७० प्रतिशतभन्दा बढी सकिएको आयोजनाका इञ्जिनीयर जगत प्रजापतिले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप