शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१० अर्बको लागतमा पोखराको पञ्चासेमा केबुलकार बनाइने

सोमबार, ०३ मङ्सिर २०७५, २१ : १३
सोमबार, ०३ मङ्सिर २०७५

चिप्लेढुङ्गा । धार्मिक एवम् प्राकृतिक रुपले उत्कृष्ट मानिएको पञ्चासेमा करीब रु १० अर्बको लागतमा केबुलकारसहित अन्य पर्यटक लक्षित भौतिक संरचना निर्माण हुने भएको छ । 

पोखराबाट सबैभन्दा नजीकै रहेको पर्यटकीय गन्तव्य पञ्चासेको पञ्चासे टुर्स एण्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो । 

कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थल पञ्चासेलाई पोखराको अर्को महत्वपूण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बृहत् गुरुयोजनासहित अघि बढेको परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । 

जनतासँग छरिएर रहेको पूँजी सङ्कलित गरेर विकासको पूर्वाधार निर्माणमा जुटेको यस परियोजनाले पर्यटन विकासमार्फत मध्यम वर्गीय जनताको जीवनस्तर उकास्न भूमिका खेल्ने उनको भनाइ छ । 

पोखरा–२३ स्थित घाँटीछिनामा केबुलकारको तल्लो स्टेशन राखिनेछ । यसको लम्बाइ ८.५ किलोमिटर रहनेछ । केबुलकारमा ८० टावर रहनेछन् । एकै पटक दुई हजार ४०० यात्रु आउन जान मिल्ने केबुलकारले दैनिक दश हजार मानिस बोक्ने सक्ने क्षमता केबुलकारको हुने निर्माण शर्माले बताए ।

रु १० अर्बको योजनामध्ये तीन अर्ब केबुलकारमा र त्यसबाहेक बाँकी रकम अन्य संरचना निर्माणमा खर्च हुने सञ्चालक धनप्रसाद उपाध्यायले जानकारी दिए । 

तीन हजार रोपनी जग्गा भाडामा लिएर घाँटी छिनामा बनाइने हेरिटेज प्लाजामा स्थानीयवासीले उत्पादन गरेका परम्परागत हस्तकलाका सामान रहनेछन् । 

पञ्चासेमा पर्यटक लैजानका लागि ६ वर्षमा बनाइसक्ने गरी केबुलकार निर्माण गरिने शर्माले बताए । विसं २०७६ साल माघमा शिलान्यास गरेर विसं २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने उनले जानकारी दिए । 

परियोजना सञ्चालनका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको उनको भनाइ छ । रु दश अर्बको लागतमा निर्माण गर्न लागिएको सो परियोजनामा प्रभावित क्षेत्र कास्की, पर्वत र स्याङ्जाका बासिन्दालाई रु तीन अर्ब बराबरको शेयर दिइने भएको छ । 

त्यसका अलावा कर्पोरेट, पत्रकार, वकिल, राष्ट्रसेवक कर्मचारीलगायत सर्वसाधारण सबैलाई छुट्टाछुट्टै शेयर दिने जनाइएको छ । 

अहिले पञ्चासेमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारीसाधनमा र त्यहाँबाट पैदल यात्रा गरी जाने गरेका छन् । त्यस्तैगरी पर्वततर्फ चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारीसाधन र त्यसपछि तीनदेखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता रहेको छ । 

पोखरालाई शैक्षिक गन्तव्य बनाइने 

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई शैक्षिक गन्तव्य बनाइने उद्घोष गरेका छन् । 

विद्यालय क्षेत्र सुधार कार्यक्रममा सहयोग गर्दै आएको नेपालका लागि फिनल्याण्डका राजदूत प्रेती एन्टिनेनसहितको टोलीसँगको छलफल उनले पोखरालाई पर्यटनसँगै शैक्षिक गन्तव्य बनाउन महानगर लागिपरेको बताए । 

उनले महानगरले शिक्षा कार्यविधि बनाइसकेको र सीमित स्रोतसाधनलाई उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षा दिने गरी काम अगाडि बढाएको बताए । 

कार्यक्रममा उपप्रमुख गुरुङले एक वडा एक स्मार्ट विद्यालय बनाउने योजना महानगरले ल्याएको बताइन् । 

प्रमुख प्रशासकीय अधिकृत पौडेलले सङ्घीय संरचनाअनुसार शिक्षाको जिम्मेवारी महानगरमा आएकाले शिक्षामा प्राथमिकता दिई योजनाबद्ध रुपमा काम गरिने बताए । 

शिक्षा महाशाखा प्रमुख आचार्यले शैक्षिक सत्र २०७६ देखि महानगरकाभित्रका विद्यालयका कक्षा कोठालाई धुलोमुक्त बनाएर सेतोपाटी राखिने तथा २११ सामुदायिक र १७८ संस्थागत विद्यालय भएको जानकारी दिएका थिए ।

छलफलमा राजदूत एन्टिनेनले योजनाबद्ध रुपमा काम गरेमा पोखरालाई शैक्षिक गन्तव्य बनाउने योजना पूरा हुने बताए । राजदूतसहित १५ जनाको टोलीले पोखराका केही विद्यालयको भ्रमणसमेत गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप