बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आठौं राष्ट्रिय खेलकूद फागुनमा गर्न माग : भौतिक पूर्वाधार निर्माणको काम तीव्र

सोमबार, ०३ मङ्सिर २०७५, २१ : ०८
सोमबार, ०३ मङ्सिर २०७५

– नीरज गौतम 

नेपालगञ्ज । भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइले पूर्वघोषित मिति यही मङ्सिर २१ गते आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा नहुने भएपछि फागुनको पहिलो सातामा गर्न खेलकूद मन्त्रालयसँग माग गर्ने निर्णय गरिएको छ । 

बाँके र दाङबाट सङ्घीय, प्रदेश संसद् र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद र स्थानीय जनप्रतिनिधहरुको उपस्थितिमा मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश ५ को आज यहाँ बसेको बैठकले उक्त निर्णय गरेको हो । 

बैठकमा सहभागी सांसद नन्दलाल रोकाय, कोमल वली, बाबुराम गौतम, सुरेन्द्र हमाल, कृष्णा केसी, ‘नमूना’ नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमाथापा मगर र कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले प्रतियोगिता सञ्चालनका लागि सबैखाले आवश्यक सहयोग गर्ने लिखित प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । 

बैठकपछि रासससँग कुरा गर्दै क्षेत्रीय खेलकूद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम ओलीले खेलकूद पूर्वाधार निर्माणका लागि रोकिएको बजेट प्राविधिक टोलीको प्रतिवेदनका आधारमा निकासा हुन थालेकाले माग गरिएको मिति फागुनको पहिलो सातामा प्रतियोगिता सञ्चालन हुने बताए । 

अध्यक्ष ओलीले केही कठिनाइका बाबजुद पनि प्रतियोगिता आयोजना गर्न कुनै कसर बाँकी नराख्ने अठोटसमेत व्यक्त गरे । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि अध्यक्ष ओलीले यस क्षेत्रका खेलाडीको बन्द प्रशिक्षण पनि छिट्टै शुरु गरिने जानकारी दिए । 

नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई अहिले तीव्रता दिइएको छ । 

राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । 

पूर्वाधार निर्माणअन्तर्गत नेपालगञ्ज रङ्गशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम सम्पन्न भइसकेको छ । रङ्गशाला क्षेत्रको बाहिर रहेको कबर्ड हलको छाना आधुनिक बनाइएको छ भने भुइँमा फ्लोरिङ गर्ने काम पनि सकिएको अध्यक्ष ओलीले बताए ।

त्यसैगरी, रङ्गशाला क्षेत्रमा झण्डै १८ करोडको लागतमा पौडी पोखरी र २४ करोडको लागतमा प्यारापिटसहितको अत्याधुनिक रङ्गशाला निर्माण भइरहेको छ । 

पूर्वाधार निर्माणअन्तर्गत रङ्गशालामा रु सात करोडको लागतमा ट्र्याक एण्ड फिल निर्माणको काम पनि धमाधम भइरहेको छ । रङ्गशाला क्षेत्रभित्रै भारोत्तोलन एकेडमी, सुटिङ रेञ्ज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सुटिङका लागि आवश्यक एअर पेस्तोल र एअरगन खरीद प्रक्रिया पूरा भइसकेको छ । 

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका केही खेलहरु बाँकेको कोहलपुर, बर्दिया र दाङमा पनि हुनेछ । त्यसका लागि बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदान वरिपरि पर्खाल निर्माण, दाङको बेलझुण्डीमा रु २५ करोडको लागतमा रङ्गशाला, बर्दियाको गुलरिया र ठाकुरद्वारामा खेलमैदान तथा कबर्डहल मर्मत र निर्माणको काम भइरहेको छ । 

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि बर्दिया राष्ट्रिय निकुञ्जको पहिचान झल्किने गरी हात्तीको छावालाई ‘मस्कट’का रुपमा पारित गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप