शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई ‘नेपाल लिटरेचर फेस्टिभल २०१८ हुँदै

सोमबार, ०३ मङ्सिर २०७५, १७ : २१
सोमबार, ०३ मङ्सिर २०७५

काठमाडौं । बुकवर्म फाउन्डेसनको आयोजनामा सातौं नेपाल साहित्य सम्मेलन पुस ७ देखि १० गतेसम्म पोखरामा आयोजना हुने भएको छ । आइएमई ग्रुपले मुख्य प्रायोजन गर्ने सम्मेलनमा विभिन्न देशका ख्यातिप्राप्त लेखक साहित्यकार आउने भएका छन् ।

काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी दिइएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले सम्मेलन लेखकको उत्सवका रूपमा रहेको बताए । यो भेटघाट, मनोरञ्जन र विचारको उत्सवको थलो रहेको उनको भनाइ छ ।

लेखकले पाठक भेट्ने र पाठकले आफ्नो मनपर्ने लेखक भेट्ने अवसर पनि सम्मेलन रहेको उनले बताए । यस किसिमको सम्मेलनले सबैलाई विवेकवान् बनाउन सघाउने उनको भनाइ छ । सामाजिक सञ्जालले पुस्तक पढ्ने बानी कम गराइदिएको र यस्तो प्रवृत्तिबाट जोगाउने माध्यम भनेकै पुस्तक रहेको उनको धारणा छ । यो सम्मेलन सभ्य एवम् भव्य हुने आफ्नो अपेक्षा रहेको उनले बताए । 

कार्यक्रममा आइएमईका प्रबन्ध निर्देशक हेमराज ढकालले सम्मेलनमा आइएमई गु्रुप सहभागी हुन पाउँदा अत्यन्त खुसी भएको धारणा राखे । आफ्नो समूहले नयाँनयाँ सिर्जना गर्ने प्रयत्नमा सहयोग गर्दै आएको र सोही उद्देश्यबाट अभिप्रेरित साहित्य सम्मेलन भएकाले यसमा आफूहरूले सहकार्य गरेको उनको भनाइ छ ।

सम्मेलनले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सघाउने आइएमईको अपेक्षा रहेको उनले बताए । देशलाई आर्थिक रूपमा सक्षम बनाउने बाटोमा अघि बढिरहेको आइएमईले नयाँनयाँ क्षेत्रमा सेवा विस्तार गर्ने र सम्मेलन जस्ता सिर्जनात्मक कार्यमा सहकार्य गर्ने उनको प्रतिबद्धतासमेत छ । 

यसैगरी आइएमई लिमिटेडका कार्यकारी प्रमुख सुमन पोखरेलले सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रममा आफूहरूको सहभागिता अझ बढ्ने उनको भनाइ छ । सम्मेलनका माध्यमबाट नेपालको सिर्जनात्मकतामा अझ व्यापकता आओस् भन्ने उनले बताए । 

फेस्टिभलका निर्देशक अजित बरालले उमेरको हिसाबसँगै फेस्टिभलले आफ्नो उचाइ मात्र नभई विश्वास पनि बढाएको बताए । नेपाली र अन्य भाषा र भूगोलका साहित्यलाई एउटै मञ्चमा ल्याएर मन्थन गर्ने, स्रष्टा र पाठकबीचको दूरी कम गर्ने र फरक विचारहरूलाई उत्तिकै सम्मानका साथ स्थान दिने जस्ता लोकतान्त्रिक अभ्यास मजबुत बनाउने काममा फेस्टिभल उत्प्रेरक बनेको उनको भनाइ छ ।

शक्ति र सत्ताका आडमा फैलाइएका भय, घृणा र असहिष्णुताले स्वतन्त्रर कल्पनाशील सिर्जना सम्भव नहुने र त्यस्तो अवस्थामा शब्दले जीवन पनि नपाउने हुँदा पनि यसखाले सबैको मञ्चको महत्व अझ बढेको आफूहरूले महसुस गरेको उनले बताए । 

कार्यक्रममा सम्मेलनका कार्यकारी निर्देशक नीरज भारीले पोखराको पर्यटन क्षेत्रमा सहयोग गर्न पनि सम्मेलन पोखरामा आयोजना गर्न लागिएको धारणा राखे । पोखरालाई पर्यटनको हबका रूपमा विकास गर्न पनि सम्मेलनले सघाउने उनको भनाइ छ । 

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मन्त्रसहित सन् २०११ मा ललितपुरको झम्सिखेलबाट सुरू भएको मुलुककै पहिलो यो साहित्य महोत्सवले सन् २०१७ मा सौन्दर्यको सहर पोखरामा आफ्नो छैटौं संस्करण पूरा गरेको छ । सुरूवातका चार संस्करण काठमाडौं उपत्यकामा आयोजित फेस्टिभल भूकम्प र नाकाबन्दीको एकमाथि अर्को प्रहारपछि पोखरा पुगेको थियो । 

फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि एक सयभन्दा बढी स्वदेशी, विदेशी लेखक, तीन दर्जनभन्दा बढी सेसन र अन्य थप रोचक सामग्री समावेश गरिनेछन् । महोेत्सवमा बेलायती ग्राफिक नोभलिस्ट निकोला स्ट्रिटनसँग मास्टर वर्कसप तथा क्रिएटिङ हिरोइन्स प्रोजेक्टअन्तर्गतको प्रदर्शनी हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप