
प्लान इन्टरनेशनलविरुद्ध ७६ कर्मचारी आन्दोलित

काठमाडौं– नेपालमा बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था प्लान इन्टरनेशनलले एकै पटक ७६ जना कर्मचारीलाई हटाएको छ। त्यसको विरोधमा कर्मचारीहरुले आन्दोलन थालेका छन् । उनीहरुले ललितपुरको बखुण्डोलस्थित कार्यालयमा सोमबारबाट धर्ना दिएका हुन् ।
प्लान इन्टरनेसनलका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले ती कर्मचारीहरुलाई गत २४ अक्टोबरका दिन स्काईप बैठकबाट ३१ डिसेम्बर २०१८ बाट लागू हुनेगरी हटाएको घोषणा गरेका थिए ।
सोही दिन बर्खास्त गरिएको पत्र सम्विन्धत कर्मचारीलाई दिन निर्देशन समेत गरिएको थियो । त्यसरी निकालिएका कर्मचारीहरुमा विकास संयोजक, सुरक्षा गार्ड र सूचना प्रविधि संयोजक रहेका छन् । उनीहरु विभिन्न जिल्लामा कार्यरत रहेका थिए ।
अचानक आफूहरुलाई बर्खास्त गरिएको भन्दै पीडित कर्मचारीहरुले यसअघि समाज कल्याण परिषद्, श्रम कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल पत्रकार महासंघ लगायतका संघ संस्थामा ज्ञापन पत्र बुझाएका छन् ।
उनीहरुले छिट्टै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई समेत नियम विपरित प्लान इन्टरनेसनलले हटाएकोमा ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।
उनीहरुले कर्मचारी हटाउने सो संस्थाको निर्णय नेपालको श्रम ऐन २०७४ को दफा १४५ विरुद्ध रहेकाले उक्त निर्णय खारेज गर्दै अविलम्ब पुनर्वहाली गर्न माग गरेका छन् ।
नेपालको श्रम ऐन २०७४ को दफा १४५ मा प्रतिष्ठान सञ्चालनमा आर्थिक समस्या उत्पन्न भएमा वा एकभन्दा बढी प्रतिष्ठानहरु गाभिएको कारण श्रमिक सङ्ख्या बढि भए वा अन्य कुनै कारणले प्रतिष्ठान
आंशिक वा पूर्ण रुपमा बन्द गर्नुपर्ने भएमा रोजगारदाताले श्रमिकको सङ्ख्यामा कटौती गर्न सक्ने उल्लेख छ ।
तर, बर्खास्तमा परेका कर्मचारीहरुले यी कुनैपनि कारणविनै आफूहरुलाई हटाएको दाबी गरेका छन् ।
प्लान इन्टरनेसनलले भने कर्मचारी हटाउनुपर्ने कारणहरुमा ग्लोबल स्ट्रटेजी, कन्ट्री स्ट्राटेजी २०१८–२०२२ अवलम्बन गर्ने क्रममा कर्मचारी कटौती गर्नुपरेको जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ