केन्द्रीय संस्करण

मृत्युजस्तै निन्द्रा तर जीवनमैत्री तत्त्व !

person explore access_timeमंसिर ३, २०७५ chat_bubble_outline0

केही वर्षअघि बीआर चोपडाले ‘महाभारत’को कथानकमा टेलिशृंखला बनाएका थिए । तत्कालीन समयमा उपलब्ध ‘टेक्नोलजी’ अन्तर्गत यो उत्कृष्ट नै बनेको थियो र खुबै लोकप्रिय पनि भयो ।

टेलिशृंखलामा एक प्रमुख पात्र छन् धृतराष्ट्र ।

यस आलेखको प्रारम्भ धृतराष्ट्रबाट गर्ने अभिप्रेरणा ममा किन जागृत भयो ? यसको समुचित जवाफ मसँग छैन । म जुन विषयमाथि कलम चलाउन उद्यत भएको छु्, त्यसका लागि धृतराष्ट्रभन्दा अर्जुन झनै सटीक चयन हुन सक्थ्यो । अर्जुन, जसको अनेकमध्ये एउटा नाम नै गुडाकेश थियो, महाभारतमा । अथवा स्वयं योगेश्वर कृष्ण, सुन्दरतम् दृष्टान्त हुन सक्नु हुन्थ्यो ।

तर, हिन्दीमा एउटा उखान छ नि, ‘मन लाग्यौ यार फकीरी में, अब का सुख रह्यो अमीरी में ।’ उखानमा भनिएजस्तै मनले धृतराष्ट्रलाई रोजिसकेपछि उपाय के...? आफु स्वयं ‘योगेश्वर’को वाणी र देशना सर्वाधिक पछ्याउने नर ! आफ्ना नारायणको अपहेलना कसरी गरौं ? कृष्ण मनको एकाग्रतादेखि ‘स्थिरप्रज्ञता’को हिमायती, उहाँ व्यभिचारिणी भक्तिलाई किञ्चित पनि प्रश्रय दिनु हुन्न ।

हे कृष्ण, हे माधव, हे सखा ! आज मन धृतराष्ट्रकै बिम्बमा एकाग्र हुन गयो । तपाईंकै उद्घोष ‘कौरवहरुमा म दुर्योधन हुँ’ सम्झेर, आलेख अगाडि बढाउने अनुमति चाहन्छु ।

टेलिशृंखला महाभारतमा जब पाण्डव र कौरव दुबै युद्धको सँघारमा पुग्न लागेका हुन्छन् । रात्रिको दृश्यमा धृतराष्ट्र शैय्यामा हुन्छन् । गान्धारी भन्छिन्, ‘आर्यपुत्र, अब शयन गर्नुस् ।’

धृतराष्ट्र भन्छन्, ‘के गरौं गान्धारी, मलाई निद्रा नै लाग्दैन ।’

गान्धारी फेरि भन्छिन्, ‘प्रयास गर्नुस्, आर्यपुत्र ।’

धृतराष्ट्र अलिक झर्किदै भन्छन्, ‘निद्रा मेरो दासी होइन गान्धारी, जुन मैले बोलाउनासाथ हाजिर होस् ।’

हो, यही ‘निद्रा’ जुन धृतराष्ट्रबाट विरत्तिएर टाढा भएकी छन् ।  तिनै देवीको उपासनामा यो आलेख श्रद्धाभक्तिपूर्वक लेखिरहेको छु ।

हिन्दूहरु अति बाठा, धृतराष्ट्रजस्तै मनोदशामा पुगेको कुनै मनुवाले, आफ्नै करनीले निद्रा विलुप्त हुँदा करबद्ध गायो होलाः

‘या देवी सर्वभूतेषु निद्रारुपेण संस्थिता,

नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमो नमः ।

हिन्दू प्रज्ञाले अविलम्ब निद्रालाई देवी मानी स्तुती गर्न थाल्यौ ।

गान्धारीको सापेक्ष निद्राबारे आफ्नो दयनीय अवस्था स्वीकार गर्ने धृतराष्ट्र इमान्दार एवं आफ्नो असहाय स्थितिलाई सहज स्वीकार गर्ने प्राणी प्रतीत हुन्छन् । गान्धारी भने युगौंदेखिको थोत्रा परामर्श एवं उपदेश दिने कुटिल गुरुझैं ‘निद्रामा जाने प्रयास गर्नुस्’ जस्तो लफ्फाजी दिने बकम्फुसे लाग्छिन् ।

प्रयास नै त  निद्रामा बाधा हो । म आफ्ना समीचीन ‘गान्धारी किसिमका गुरुहरुसँग’ निद्राबारे विमर्श गर्न इच्छुक बनेको छु ।

‘निद्रा’ ! उमेरको अर्ध शतकीय ‘स्कोर’बाट उकालो लागिरहेको अवस्थामा मेरा झण्डै एक तिहाई वर्ष निद्रामै आर्जित भएका हुन् । स्पष्ट नै छ, मेरो एक तिहाई उमेर सुतेर नै व्यतीत भएको हो कि थपिएको हो, आफ्नो मान्यताअनुसार बुझ्नुस् ।

मलाई यति मात्र भन्नु छ, जीवनमा १७/१८ वर्ष सुतेर बिते पनि मलाई निद्राबारे केही थाहा छैन ।

अध्यात्मले सारा जगत ब्रह्ममय भन्छ । विज्ञानले सारा जगत ऊर्जाको विस्तार भन्छ । दुवै भनाइप्रति मेरो न समर्थन छ, न त विरोध नै । एउटा विनीत प्रश्न मात्र छ, दुवैवर्गसँग । निद्रा ब्रह्म हो कि होइन ? र, निद्रा ऊर्जाको प्रारुप हो कि होइन ?

निद्रा मनुष्यको मात्र नभएर सबै प्राणीको आवश्यकता हो । विज्ञानले त स्पष्ट भन्छ, बरु भोजनको अभावमा मनुष्य महिनौं बाँच्न सक्छ, तर निद्राको अनुपस्थितिमा अधिकतम् १०/११ दिनसम्म मात्र बाँच्छ ।

सामान्यतया १०/१२ घण्टाको जागृत अवस्थापछि शरीरले निद्राको आवश्यकता महसुस गर्न थाल्छ । जस्तोसुकै अन्य किसिमका विश्रामले पनि निद्राको पूर्ति गर्न सक्दैन । अहो, यस्तो के रसायन छ निद्रामा, जसको कुनै विकल्प छैन !

निद्राबारे शास्त्रीय चिन्तनका अवधारणा मेरा आँखा र मष्तिष्कबाट छुटेका होइनन्, तर आफ्नो स्वभाव अनुकूल बयान गर्दा ती सबै अति नै सतही हुन् । अन्धाहरुले गरेको हात्तीको बखानजस्तै ।

कतै हामी साँच्चै कुनै उन्नत सभ्यताका ‘कम्प्युटर सिमुलेशन’ त होइनौं ? ‘चार्जिङ’को व्यवस्था त होइन, निद्रा ?  यो विषयमा छुट्टै आलेख बन्न सक्छन् ।

हामी कुनै रोग लाग्दा औषधोपचारका लागि चिकित्सक कहाँ जान्छौं । चिकित्सकको  ध्यान निद्रामाथि  पनि केन्द्रीत भएको हुन्छ, ‘तपाईंलाई निद्रा लाग्छ कि लाग्दैन ?’

हाम्रो जवाफ ‘लाग्दैन’ भएको अवस्थामा चिकित्सकले रोगीलाई निद्रामा पठाउने उपाय पनि ‘प्रिस्काइब्ड’ गर्ने विश्वव्यापी चलन छ । चिकित्सकलाई निद्रा विषयक सटीक ज्ञान नभए पनि कत्ति चाहिं थाहा छ भने यदि उसको बिरामीलाई निद्राको खुराक उपलब्ध नभए पुर्जामा लेखेका औषधिका खुराक प्रभावी हुन सक्दैनन् ।

सबै प्रकारका औषधि विज्ञानलाई विदित् छ, निद्रा परम स्वास्थ्य हो ।

संसारका सारा सुख, वैभव, ऐश्वर्य, सम्पदा, कीर्ति एकातिर र ८/१० घण्टाको निद्रा अर्कोतिर । हतभागी नै हुनेछ त्यो मनुष्य, जसले निद्रा छाडी अर्को विकल्प रोज्ने चातुर्य प्रदर्शित गर्छ ।

निद्रा अर्थात् जीवनमैत्री तत्त्व !

मेरा लागि भने निद्रा जीवनभित्र मृत्युको अनुभूति हो, मृत्युसँग जम्काभेट हो । समस्त महत्वकांक्षाको अवसान हो । प्रत्येक रात म आफ्ना समस्त मनोवृत्ति निद्राको ‘डार्क एनर्जी जोन’मा अर्पण गरी दृश्यजगतमा अवतरित हुन्छु ।

तपाईंहरु कसैको जीवनमा पनि धृतराष्ट्रलाई जस्तै निद्रा निर्मोही नबनुन् ! नित्य आठ घण्टाको निद्रा उपलब्ध हुने अनुकूलता सहजता एवं संप्रभुता सधैं सुलभ होस् !!

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...