बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बिक्रमको खुशी फर्किएको दिन !

सोमबार, ०३ मङ्सिर २०७५, ०९ : ०८
सोमबार, ०३ मङ्सिर २०७५

काठमाडौँ– फुटबल मैदानमा खुट्टा भाँचिएपछि कुन फुटबलरको आँसु चुहिन्न र ? अझ राष्ट्रिय टोलीको रोजाईमा पर्ने खेलाडीले आफ्नो दाइने खुट्टा भाँचिदाको पीडा कल्पनाभन्दा बाहिर हुन्छ । त्यस पीडाले खेलाडी मात्र होइन, सिंगो देशलाई पनि दुःखी बनाउँछ । 

नेपाली राष्ट्रिय टोलीका उपकप्तान बिक्रम लामाको १० महिनाअघि दायाँ नलीखुट्टा दुई ठाउँमा भाँचियो । धरानमा भएको बुढासुब्बा गोल्ड कपमा थ्रीस्टार क्लबले पुलिसविरुद्ध फाइनल खेल्ने क्रममा पुलिसका तेज तामाङसँग ठोकिदा बिक्रमको खुट्टा भाँचिएको थियो । 

त्यतिबेला मैदानमै अचेत बिक्रमलाई थ्रीस्टारका पदाधिकारीले तत्कालै प्लेनमा राखेर ग्राण्डी अस्पताल ल्याई उपचार गरायो । नौ महिना बिक्रम निरन्तर चिकित्सकको निगरानीमा रहे । उनको उपचारमा क्लबले पनि कुनै कन्जुस्याई गरेन । 

विक्रमको अभावमा यसबीचमा नेपाली फुटबलले पनि ठूलै क्षति बेहोर्यो । डेढ महिनाअघि बंगलादेशको ढाकामा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिंदा टोलीलाई बिक्रमको अभाव खड्किएको थियो । बिक्रमलाई पनि साफ खेल्न नपाएको छटपटी थियो । 

विश्वमै खुट्टा भाचिएका खेलाडी फेरि खेलमा फर्कन गाह्रो भएको पाइन्छ ।

 खेलाडी स्वयं शारीरिक र मानसिक रुपमा प्रस्तुत हुन सक्दैनन् र चाहदैँनन् पनि । तर, उनै राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डर बिक्रम शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आइतबार थ्रीस्टारको कप्तानीमा मैदान उत्रिएर सबैलाई चकित बनाए । 

ब्रिगेड ब्वाईजविरुद्ध पूरै समय मैदानमा डटेर खेलेका बिक्रम खुट्टा भाँचिएका खेलाडी जस्ता थिएनन् । यसअघि मिडफिल्डमा खेल्दै आएका विक्रमले ब्रिगेडविरुद्ध रक्षापंक्तिको जिम्मेवारी पाएका थिए । उनी मैदानमा अगाडी र पछाडी सबै स्थानमा खेल्न सक्छन् । 

खेलको अन्तिम समयमा हेड मार्फत कलात्मक गोल गरेका उनै विक्रम खुशी मैदानमा उफ्रिए । 
विक्रमले फुटबलबाट टाढिदाँको क्षणलाई आफूले विर्षन नसकेको बताए ।

 ‘आजको दिनलाई म जीवनमा भुल्दिन । सुरुमा मनमा केही डर त लाग्दो रहेछ । तर, खेल्न सक्छु भन्ने दृढ विश्वास थियो । परिवार, क्लब र साथीभाईको सहयोगलाई म धन्यवाद दिन्छु । अवको लक्ष्य थ्रीस्टारलाई लिगको उपाधि दिलाउनु हो । त्यसपछि सक्षम भएर राष्ट्रि टोलीमा फर्कन सोच छ,’ बिक्रमले भने । 

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खुट्टा भाँचिएको खेलाडीले कमब्याक गर्नु ठूलो कुरा भएको बताए । ‘विक्रमलाई थ्रीस्टारको लगानी ठूलो छ । विक्रमले पनि क्लबलाई धेरै दिएका छन् । अभ्यासमा राम्रो गरेकोले खेल्न सक्छ भन्ने लागेको थियो । 

ऊ आफै मानसिक रुपमा तयार थियो । उसले मैदानमा आफूलाई प्रमाणित गरेको छ । यो राष्ट्रिय टोलीका लागि पनि सुखद् खबर हो,’ केसीले भने । केसीका अनुसार बिक्रमको उपचारमा थ्रीस्टारले १० लाख रुपैयाँ भन्दा बढी खर्च गरेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप