शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारको बहुआयामिक आतङ्क र उद्गम स्रोतको सफाइ (२)

आइतबार, ०२ मङ्सिर २०७५, ११ : १९
आइतबार, ०२ मङ्सिर २०७५

दार्शनिक चिन्तनजन्य भ्रष्टाचार
दार्शनिक आयामबाट हेर्दा हालसम्मका राजनीतिक दलहरू, तिनका कार्यकर्ता, लेखक, साहित्यकार, सांस्कृतिककर्मी लगायतले नेपाली समाजलाई एकाङ्कीपनातर्फ निर्देशित गरे, जसलाई अवैज्ञानिक कार्य मात्र नभई भ्रष्टाचारकै तहमा लिनुपर्ने हुन्छ । जीवनमा अनेक रङ छन् र सबै रङलाई प्रकाशको विविध स्वरूपको अर्थमा सत्य मान्नुपर्ने हुन्छ । अतः सत्य सापेक्ष हुन्छ, सत्यप्रतिको आआफ्नो निष्ठा र विश्वास निरपेक्ष हुनसक्छ ।
 
नेपाली समाजको इन्द्रेणी सत्यलाई स्वीकार्ने बहुलतायुक्त जीवन पद्धतिको चिन्तनबाट मात्रै सत्यको सही अर्थमा विभिन्न कोणबाट अन्वेषण हुनसक्छ । यसरी सापेक्षतामा गरिने अन्वेषणबाटै सत्यको प्रादुर्भाव हुने हो । तर, कम्युनिस्ट वा समाजवादी वा अन्य कुनै आयातीत वाद, चिन्तन मात्रै सत्यको रूपमा प्रचार गरिएको सुनियोजित दार्शनिक चिन्तनजन्य भ्रष्टाचारका कारण नेपाली समाज पूर्वीय ज्ञानको अजस्र धाराबाट लाभान्वित हुन वञ्चित भइरहेको छ ।
 
एउटै स्वाद मात्र खाइरहे गुलियो पनि तीतो लाग्छ । मानव जीवनमा जस्तै सामाजिक र राज्यको जीवनमा पनि तातो, चिसो, गुलियो, अमिलो, तीतो, टर्रो सबैखाले चिन्तनका स्वादलाई स्थान नदिइनु चिन्तनजन्य विकृति हो । राजनीति कर्मयोगमा आधारित हुनुपर्छ । गीताद्वारा निर्दिष्ट 'कर्म गर तर फलको आशा नगर' चिन्तन आत्मबोध नगरेकाहरू राजनीतिमा रहेकाले भ्रष्टाचार निर्वाध रूपमा भइरहेको छ । म आखिर मर्नैपर्छ भन्ने सत्यलाई हृदयङ्गम गरी काम गर्ने अनि म कहिल्यै मर्दिनँ, म अजर अमर छु भन्ने हृदयङ्गम गरी अध्ययन, चिन्तन, लेखनमा योगदान गर्ने प्रवृत्ति पूर्वीय चिन्तन पद्धति हो ।
 
अतः हिन्दूत्वसहितको सनातन मौलिक धार्मिक सांस्कृतिक ऐतिहासिक चिन्तन, वसुधैव कुटुम्बकम्को विश्व मानवतावादी चिन्तन, आलोचनात्मक चेतको सम्प्रदायको चिन्तन, व्यवहारवादी सम्प्रदायका चिन्तनलगायत विविध ज्ञान विज्ञानका पूर्वीय एवं पश्चिमा सैद्धान्तिक चिन्तनका सकारात्मक पक्षहरू नेपाली समाजको विशेषता अनुकूल हुनेगरी आत्मसात् गरी अघि बढे मात्रै भ्रष्ट संस्कृतिबाट समाजलाई क्रमशः निर्मलीकरण गर्न सकिनेछ ।
  

आर्थिक प्रलोभनमा आधारित इसाईकरणद्वारा भ्रष्टाचार

आर्थिक प्रलोभनमा आधारित इसाईकरण नेपालमा भ्रष्टाचारको अर्को उद्गम स्रोत हो । 

इसाई मिसनरीअन्तर्गत चलेका एनजीओ र आईएनजीओहरूमार्फत् विश्वका अतिकम विकसित राष्ट्रहरूमा क्रिस्चियन फन्डबाट स्वास्थ्य, शिक्षाजस्ता सतहमा सामाजिक देखिने तर भित्री रूपमा धर्मान्तरण र धर्मपरिवर्तनको अपराधको निमित्त संस्थागत लगानी हुने गरेको छ । नव साम्राज्यवादको विकासको निमित्त गरिने यस्तो लगानीबाट नेपालमा पछिल्लो समय राष्ट्रियतालाई नै भ्रष्टीकृत तुल्याइएको छ । इसाई नेपालको राष्ट्रियता होइन ।

इसाइकरणले नेपालमा सामाजिक संरचनाभित्रका विभिन्न परम्परागत संस्थाहरू जस्तै परिवार, विवाह इत्यादिलाई समेत भ्रष्टीकृत तुल्याइदिएको छ । एकल परिवारप्रतिको तीव्र मोह, विदेश जानकै निमित्त नक्कली वा झुटो विवाह गर्ने पेपर म्यारिजको आविष्कार इसाईकरणको प्रतिफल हो । यसले विवाह जस्तो पवित्र सामाजिक संस्थालाई पनि दुषित र भ्रष्टीकृत तुल्याइदिएको छ ।
 
गर्भपतनलाई बढावा दिएको इसाईकरणकै परिणाम स्वरूप विवाहपूर्वको यौन सम्बन्ध तथा 'लिभिङ टुगेदर'को जटिल सम्बन्धलगायतको विकृतियुक्त सामाजिक व्यवहारतिर नेपाली युवापुस्ता अग्रसर हुन पुगेका छन् ।

पछिल्लो समयमा कानुनले निषेध गर्दा गर्दै पनि धर्मान्तरणको आपराधिक गतिविधिलाई खुलमखुल्ला बढावा दिइरहेको यस्ता इसाई मिसनरी र चर्चहरूको क्रियाकलापलाई कानुनतः नियमनको दायरामा नल्याएसम्म नेपालमा भ्रष्टाचार रोकिन सक्दैन ।

आर्थिक एवम् व्यावसायिक क्षेत्रमा भ्रष्टाचार
आर्थिक र व्यावसायिक क्षेत्रमा उद्यमशीलतालाई निरुत्साहित गरी आयात र भन्सारमा आधारित कर प्रणालीलाई प्रोत्साहन दिंदा भ्रष्टाचार मौलाएको छ । विश्वभरबाट उत्पादित गुणस्तरहीन वस्तुको डम्पिङ गर्ने स्थलका रूपमा नेपाललाई परिणत गरिएको छ ।
 
नेपाली कच्चा पदार्थ कौडीको भाउमा विदेश पठाई तिनै कच्चा पदार्थबाट तयारी वस्तु महँगो मूल्यमा नेपाल भित्र्याउँदाखेरि प्राप्त हुने कमिसनबाट राजनीतिक दल एवम् उच्च प्रशासकीय नेतृत्वले भरणपोषण पाइरहेको अवस्था छ ।

बैङ्क तथा वित्तीय क्षेत्रमा ब्याजदरमा प्रतिस्पर्धा छैन । सिन्डिकेटको भद्दा स्वरूप यातायात क्षेत्रमा मात्र होइन, वित्तीय क्षेत्रमा पनि प्रष्ट देख्न सकिन्छ । आम नेपाली नागरिकलाई कर्जा सुविधामा सहज पहुँच छैन । सम्भ्रान्त परिवार र नवधनाढ्य एवं राजनीतिक पहुँचका आधारमा कर्जा प्रवाह गरिने पद्धतिले गर्दा उद्यमशीलताले प्रोत्साहन पाउन सकेको छैन ।

धितो राख्ने जग्गा नभएसम्म जस्तोसुकै प्रतिफलयुक्त परियोजनाले पनि ऋण पाउन नसक्ने अवस्था भनेको भ्रष्टाचारयुक्त अवस्था नै हो । घरजग्गा व्यवसायलाई राजनीतिक दलहरूले सामन्ती व्यवस्थाको निरन्तरताको निमित्त उपयोग गरेर भ्रष्टाचार गरिरहेका छन् । 

ऋण काढेर विदेशी भूमिमा गएर जीवनभरि काम गरेर आएको श्रमिकको भए जति कमाइ तीन चार आनाको एक टुक्रा घडेरी किनेर चारकोठे घर बनाउँदा सकिने गरी दलाली र कमिसनतन्त्रलाई राज्यले बढावा दिएर मालपोत कार्यालयहरूलाई भ्रष्टाचारको मूल अखडा तुल्याइएको छ । आम मानिसको आफ्नै छानोमुनि ओत लाग्ने सपना पूरा गर्न पूरै जीवन व्यतीत गर्नुपर्ने जग्गा दलालीको जुन पद्धतिलाई संस्थागत गरिएको छ, यो भ्रष्टाचारको कुचक्र हो । 

कृषि क्षेत्र पनि भ्रष्टाचारबाट अछुतो छैन । नेपाली बीउ बिजनको प्याटेन्ट अधिकार विदेशमा लगी दर्ता गरिनु आफैंमा भ्रष्टाचार हो । नेपाली कृषकलाई उचित समयमा बीउबिजन र मलखाद्यको उचित प्रबन्ध गराउन नसक्नु भ्रष्टाचारकै परिणाम हो । 

स्वास्थ्य क्षेत्रको भ्रष्टाचारको यस आलेखमा जति चर्चा गरे पनि कम हुनेछ । किनकि त्यो भ्रष्टाचारको नालीबेली डा. गोविन्द केसीको आन्दोलनबाटै नागरिकले थाहा पाइसकेका छन् ।
 
भ्रष्टाचारको उद्गम स्रोतको सफाइ

भ्रष्टाचारको उद्गम स्रोतको सफाइको सुरुवात विद्यमान उच्च तहका भ्रष्टचारीहरूको पहिचान, निगरानी, प्रमाण सङ्कलन, भण्डाफोर, कानुनी दण्ड सजाय र कारवाहीका माध्यमबाट गरिनुपर्छ । माथिल्लो तहका भ्रष्टाचारीको संरक्षण नभएपछि खुद्रामसिना भ्रष्टाचारी स्वतः सतर्क भई तोकिएको काम जिम्मेवारीपूर्वक गर्न बाध्य हुन्छन् । 

भ्रष्टाचारको कुचक्रबाट उम्कनका लागि आम नागरिकले पत्याएका स्वच्छ र निष्कलङ्क छवि भएका निर्भीक व्यक्तिहरू सम्मिलित स्वतन्त्र नागरिक आयोग गठन गरी यसैमार्फत् भ्रष्टाचारीहरूको विरुद्ध सूचना सङ्कलन गर्ने, अनुसन्धान गर्ने, तथ्यका आधारमा शङ्कास्पद भ्रष्टाचारीको सम्पत्तिको स्रोत छानबिन गर्ने र प्रमाणका आधारमा आम सञ्चारमाध्यमबाट तिनले गरेको कुकृत्य सार्वजनिक गरी आम बहिष्कार गर्ने एवम् कालोसूचीमा राख्ने एउटा उपाय हुनसक्छ । त्यस्ता व्यक्तिहरूको विरुद्धको प्रमाण अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत बुझाएर कारावाही गराउन सकिन्छ ।

यस्तै निर्वाचन आयोगलाई प्रमाण उपलब्ध गराई भविष्यमा कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य तुल्याउन सकिन्छ । भ्रष्टाचारीहरूलाई निर्वाचनमा पूर्णतः बहिष्कार गर्न आम नागरिकलाई आह्वान गर्नु प्रभाबकारी हुन्छ । 

भ्रष्टाचारीबाट जफत गरिएको सम्पत्ति छुट्टै कोषमा राखी उक्त रकम गरिबी निवारणमा मात्र खर्च गरिनुपर्छ ।

भ्रष्टाचार गरेर अकुत कमाएकाहरु औकातभन्दा बढ्दा शान देखाएर हिँड्ने गर्छन । हामी नागरिकले तिनका विरुद्ध प्रमाण एकट्ठा गर्न सक्छौं । अपराधीले प्रमाण लुकाउन खोजे पनि कतै न कतै ती प्रमाण छोडेको हुन्छ किनकि भ्रष्टाचार एक्लैले गर्ने अपराध होइन । विभिन्न तहमा विभिन्न मान्छे मिलेर भ्रष्टाचार गरिने हुनाले त्यहाँ कतै न कतैबाट सूचना चुहावट हुने सम्भावना रहन्छ । हो हामीले ती सूत्र भने चिन्र वा पहिचान गर्न सक्नु पर्छ ।

भ्रष्टाचारीको सूचना यथेष्ट मात्रामा सङ्कलन गरेपछि तिनको भण्डाफोर गर्नुपर्छ । तपाईं हामीले चिने जानेको कसैले पनि भ्रष्टाचार गर्छ भने तिनलाई तपाईं नमस्कार र शिष्टाचार होइन, तिनको पर्दाफास गर्नुपर्छ । तिनले गरेको भ्रष्टाचारले तपाईं हामी मात्र होइन, हाम्रा सन्ततिसमेत गरिबीमा बाँच्नुपर्ने हुन्छ । 

भ्रष्टाचारीलाई सामाजिक रूपमा बहिष्कार गर्ने, जन्त, मलाम, भोजभतेरमा निम्ता गर्न बन्द गर्नुपर्छ । भ्रष्टचारीहरूसँग नाता सम्बन्ध कायम गर्न बन्द गर्नुपर्छ ।  त्यस्तालाई समाजमा आइसोलेटेड गर्नुपर्छ । बहिष्करण गर्नुपर्छ । तिनलाई डिप्रेसनको शिकार बनाउनुपर्छ । विक्षिप्त तुल्याउनुपर्छ । मानसिक दबाब सिर्जना गर्नुपर्छ । जसबाट भ्रष्टाचारीहरू आफैंले अन्य भ्रष्टाचारीहरूको पोल खोल्न सुरु गर्नेछन् । 

तपाईं हामीसित कुनै पनि व्यक्तिले धेरै धन कमाएको धाक रवाफ लगाउँछ भने कर चाहिँ कति तिर्नुभयो त भन्ने प्रश्न गर्न छुटाउनु हुँदैन । तिनको कमाइको स्रोत के हो भनेर सोध्नु पर्छ ।
 
यसरी तपाईं हामी आम नागरिक नै सचेत हुने हो भने जो कसैले पनि भ्रष्टाचार गर्नु अघि एकपटक सोच्न बाध्य हुनेछ र समाजमा भ्रष्टाचारी घट्नेछन् ।

जो कसैलाई पनि भ्रष्टाचार गर्न अत्यन्त लज्जाबोध गर्ने, पीडाबोध गर्ने र घृणाबोध गर्ने अवस्था सिर्जना गर्नुपर्छ । 

भ्रष्टाचार भनेको गर्नै नहुने दुराचारी पापाचार र निकृष्ट कर्म हो भन्ने कुरा आम नयाँ पिढीको दिमागमा नैतिक शिक्षाका माध्यमबाट प्रत्यारोपण गर्नुपर्छ । यसको निमित्त नैतिकताले युक्त हाम्रो आफ्नो मौलिक परम्परागत सांकृतिक एवम् पूर्वीय दर्शन पद्धतिसहितको शिक्षा पद्धतिलाई अङ्गीकार गर्नुको विकल्प छैन ।

 
नेपालका लागि नेपाली अभियान नेपाली समाजको निमित्त पुनर्जागरणको अभियान अर्थात् एक प्रकारको रेनासा हो । यो अभियानले नै समाजमा बहुआयामिक तवरले व्याप्त भ्रष्टाचारलाई निर्मूल पारी सामाजिक आर्थिक एवम् राजनीतिक रूपान्तरणमार्फत् सभ्य नागरिक राज्य स्थापनाको निमित्त मार्ग प्रशस्त गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत खरेल
अमृत खरेल

अधिवक्ता खरेल वाणिज्य र अन्तर्राष्ट्रिय कानुनको स्नात्तकोत्तर हुन् ।

लेखकबाट थप