केन्द्रीय संस्करण

संघर्षबीच चम्किँदै ट्विङ्कल

person access_timeमंसिर २, २०७५ chat_bubble_outline0

आकाशमा उड्ने र अरूलाई पनि उडाउने रहरले आजसम्म पनि छाडेको छैन ट्विङ्कल न्याछ्योलाई । एयरक्र्याफ्ट अपरेट गर्न नपाए पनि उड्ने अनि उडाउनेहरूसँगको सहकार्यले उनलाई त्यो सपनाको नजिक भने पक्कै पुर्याएको छ । 

ओमान एयरकी एयरपोर्ट अपरेसन म्यानेजर ट्विङ्कल राजभण्डारी न्याछ्योको पाइलट बन्ने चाहना परिवारको अस्विकृतिबाटै तुहिएको थियो । आकाशमा उड्ने र उडाउने जुन साहस उनमा थियो त्यो साहस उनको बाबु आमामा थिएन । छोरीलाई पाइलट बन्ने स्वीकृति दिन सकेनन् ट्विङ्कलका बाबु आमाले । 

पाइलट पेसालाई जोखिमयुक्त पेसा मान्ने, त्यसमा पनि छोरी मान्छेका लागि त अझ कसरी परिवारले आँट गरून् र । यस्तै भनेर चित्त बुझाएकी ट्विङ्कलले सन् १९९१ तिर बाबुको स्वीकृति लिएर भारतमा कम्प्युटर सफ्टवेर प्रोग्रामिङ गरिन् । 

बाबुआमाको चाहनालाई सर्वोपरी ठानेर सन्तानले आफ्ना चाहनालाई दबाउन बाध्य हुनुपरेको उदाहरण प्रशस्तै छन् हाम्रो समाजमा । यस्तैमा एक हुन ट्विङ्कल । पाइलट पढ्न स्वीकृति नपाएपछि रसिया गएर इन्जिनियरिङ गर्ने योजनामा पनि परिवार तगारो बनिदिएको थियो उनको । कलिलो १५–१६ वर्षकी छोरीलाई सात समुन्द्र पर पठाउन सकेनन् उनका बाबुआमाले ।

अतः भारतबाट पढेर नेपालकै पहिलो महिला कम्प्युटर सफ्टवयर प्रोग्रामर बनेर आएका थिए ट्विङ्कलका दिदी बहिनी । प्रोग्रामिङको राम्रो स्कोप थियो र अवसर पनि । विभिन्न होटल, बैङ्क, फाइनान्सहरूमा होस्ट प्रोग्रामिङ गर्न पनि थालिन् उनी । अडिटको काम गर्नुपर्ने, दिन रात भन्न नपाइने । राति अबेरसम्म पनि अडिटको लागि बस्नुपर्ने भएपछि परिवार फेरि उनको जागिरको पनि तगारो बनिदियो । रातिको काम भन्नेवित्तिकै बुबाले जान दिनुभएन र उनी पछि हट्न बाध्य भइन् । 

नेपालमा ट्रलीबस स्थापनामा मुख्य भूमिका निर्वाह गर्नुभएका नरेन्द्रबहादुर न्याछ्योले छोरीहरूलाई उचित शिक्षा दिएर आत्मनिर्भर बनाउन निकै मिहिनेत गरे । भोलि कसैको आशा अनि भरोसामा बाच्नु नपरोस् भनेर नै आफ्ना छोरीहरूलाई छोराहरूसरह काठमाडौंकै उत्कृष्ट स्कुल अनि कलेजमा पढाए । 

अमेरिकन प्रोजेक्टमा काम गरेका बुबा नरेन्द्रबहादुरले आफ्ना छोरीको नाम पनि अमेरिकन शैलीमै राखिदिए लक्की, ट्विङ्कल भन्दै । छोरीको चाहना विपरीत नै सही तर छोरा सरह उचित शिक्षादीक्षा दिएका थिए र त आज छोरीहरू आत्मनिर्भर बन्न सके र अरूका लागि उदाहरण बने ।

पारिवारभित्रको सङ्घर्ष धेरै कठिन

ललितपुरको पढेलेखेको सम्पन्न परिवारकी तीन छोरी र तीन छोरामध्येकी कान्छी छोरी ट्विङ्कल १९ पुगेकी मात्रै थिइन् । जागिर छाडेर बसेकी उनले आफैले रोजेको केटासँग विवाह गर्ने निर्णय गरिन् । परिवार विवाहका लागि तयार भयो । उनलाई लागेको थियो विवाहपछि घर परिवार अनि पतिको साथले करियर अगाडि बढाउन मद्दत पुग्नेछ । उनले कहिल्यै सोचिनन्, विवाहपछिको परिवार पनि उनको करियरको तगारो बन्न सक्छ भनेर ।

आफ्नो इच्छाशक्तिलाई दबाएर घरपरिवारमै रुमल्लिरहेकी एक पढेलेखेकी ट्विङ्कललाई कसैको प्रोत्साहनको खाँचो थियो । उनको भावना बुझेकी भाउजू सरोजा न्याछ्योको प्रोत्साहन र बल उनको जीवनको महत्वपूर्ण खुड्किलो बन्न पुग्यो । भाउजुले बाहिर निस्किन प्रोत्साहित नगरेको भए सायद आज ट्विङकल एक बौद्विक परिवारको पर्दाभित्र घोलिएको बुज्रुकताबाट पिल्सिरहेकी हुनेथिइन् होला । 

भाउजू सरोजाले गल्फ एयरले नेपालमा कर्मचारी आह्वान गरेको छ, तिमीले निवेदन दिनुभन्दा आँट गर्न सकिनन् उनले । कम्प्युटर सफ्टवयर प्रोग्रामर ट्विङ्कललाई एभियसन क्षेत्रमा गएर काम गर्न सक्छु भन्ने आत्मविश्वास भएन । तर पनि भाउजूले फोर्स गरेपछि एप्लिकेसन दिइन्, जुन एप्लिकेसनले आज उनलाई एक आत्मनिर्भर अनि जिम्मेवार अफिसरको हैसियतमा उभ्याएको छ । 

एभियसनबारे थाहा नभएपछि एयरलाइन्समा सफ्टवयर डेभलपरमा त पक्का काम मिल्ने आशामा एप्लिकेसन दिएकी थिइन् । तर उनलाई कस्टमर सर्भिसका लागि आग्रह गरियो । सहर्स स्वीकार पनि गरिन् । अन्य बच्चाले जस्तै सानामा पाइलट बन्छु भन्दै हिँड्ने ट्विङ्कल पाइलट बन्न नसके पनि एयरलाइन्सकै क्षेत्रमा २१ वर्षदेखि कुशल प्रबन्धकको जिम्मेवारीमा छिन् ।

विवाहपछिको सुखी जीवनको सपना बोकेकी उनलाई यो त भ्रम मात्र रहेछ भन्ने थाहा जागिरे जीवनको सुरुवाती दिनबाटै हुन थाल्यो । हाम्रो समाजले डाक्टर, इन्जिनियरलाई राम्रो कामको दर्जामा राख्ने गर्छ । तर एयरलाइन्सको काम पनि उत्तिकै चुनौतीपूर्ण र उच्च दर्जाको हुन्छ भन्नेमा भने अनभिज्ञ रहेछ ट्विङ्कल थप्छिन् । 

ट्विङ्कलको जीवनमा एउटा अपत्यारिलो अँधेरी सुरु भयो, जब उनले एयरलाइन्सको जागिर सुरु गरिन् । मैरे परिवारबारे सोध्न नभ्याउँदै उनका आँखा भरिन थाले । भावुक हुँदै ट्विङ्कलले थपिन एभियसनको जागिर सधैँ एकैनास कहाँ हुन्छ र ? समयको अनिश्चितता, कुनै दिन समयमै काम सकिए पनि कुनै दिन रातिको १–२ पनि बज्ने । जिम्मेवारी बढेसँगै समयमै घर जानु उनका लागि सम्भव थिएन । घर फर्कने समयले गर्दा नै घरमा किचलो बढ्न थाल्यो । 

दुई छोरीकी आमा ट्विङ्कललाई घरमा निकै नै टर्चर हुन थाल्यो । सानी छोरी दुई वर्ष पुग्दै थिइन् । सहनसम्म त सहने तर हद पार भएपछि के गर्ने त उनको मनमा अनेकन प्रश्न आउन थाले । कि त जागिर छाड्नुपर्ने भो कि त परिवार ? उनले झलझली आफ्नो मिहिनेतलाई सम्झिन् । केही बन्नुपर्छ भन्ने उनको अठोटलाई परिवारको दिन दिनको असहयोग र मानसिक यातनाले विगार्न सकेन । सहन सक्ने हद पार भएसँगै अन्तत उनले परिवार त्याग्ने निर्णय गरिन् ।

एक महिला जो जिम्मेवारी बहन गर्न सक्षम छे अनि आफ्नो क्षमतालाई विस्तार गर्न मिहिनेत गर्छे भने त्यो बाटोमा परिवार र समाजले तगारो हाल्नु अशोभनीय प्रवृत्ति हो । ट्विङ्कलले यही मनन गरेर परिवार त्यागिन् र सुरु गरिन् जीवनको अर्को चक्र ।

ट्विङ्कललाई लाग्छ, महिला सिङ्गो हाउसहोल्ड हो र सँगसँगै कुशल व्यवस्थापक, इन्जिनियर, डक्टर, पाइलट, बैङ्कर, बिजनेस पर्सन, राजनीतिज्ञ आदि आदि । ट्विङ्कल भन्छिन्, ‘महिलाले घर र बारिही दुवै रोल सफलतापूर्वक पूरा गर्न सक्छन् तर पुरुषले बाहिरी रोललाई मात्र महत्व दिने हुनाले उनीहरू हामीभन्दा धेरै कमजोर छन् ।’

आत्मविश्वासले निखारिदियो करियर

१४ वर्षदेखि एक्लै सङ्घर्ष गर्दै आएकी ट्विङ्कलको कुशलतामा डाहा गर्नेको कमी छैन आज । उनलाई माइतीको साथ भए पनि श्रीमान् अनि परिवारबाट अपहेलना मात्र मिल्यो । तर त्यो अपहेलनाले अझ बलियो बनाइदिएको छ उनलाई । अगाडि केही गर्ने ऊर्जा मिलेको छ । जो महिला परिवारको पर्खालभित्र रुमलिएका छन् र अपहेलनाको शिकार भएका छन्, उनीहरूका लागि एउटा गतिलो उदाहरण बनेकी उनी भन्छिन्, ‘हरेकको आआफ्नै क्षमता हुन्छ, त्यसलाई उजागर गरेर बाहिर निस्कने हो भने सफलता अवश्य मिल्नेछ र आत्मनिर्भर बन्न सक्छौँ ।’

अहिले ट्विङ्कलको कामको प्रशंसा गर्ने कम छैनन् । उनको प्रगति देखेरै होला हिजो गलत दृष्टिले हेर्नेहरू आज यो पेसामा लाग्न अरूलाई सुझाउने गरेको देख्दा आफूले सही बाटो रोजेको महसुस हुन्छ उनलाई । ओमान एयरको सर्टिफाइड इन्स्टकटर्ड ट्विङ्कल आफ्ना सहकर्मी र स्टाफका लागि प्रेरणा बनेकी छिन् । उनी आफ्ना स्टाफलाई सधैँ अगाडि बढ्न र आफ्नो क्षमतालाई निखार्न सुझाव दिने गर्छिन् ।

घर परिवारका लागि भए पनि जागिर छाड्नेसम्मको अवस्थामा पुगेकी ट्विङ्कलका हरेक राजीनामा अस्वीकृत हुन्थे । गल्फ एयरका कन्ट्री म्यानेजर मोहमद ज्यानलले जीवनमा आउने उतारचढावलाई पार लगाउन सक्नु नै जीवन जिउनुको सार्थकता हो भन्दै हरेस् नखान सुझाउँथे । सहकर्मीले हरेस नखाई अगाडि बढ्न उत्साह थपिदिन्थे । उनलाई आफ्ना सिनियर र सहकर्मीको यस्तो सुझाव ओखतीजस्तै बन्यो र घरपरिवारबाट टाढै बसेर भए पनि आफूले आर्जेको इमानलाई बचाउने निर्णय गरिन् । २०११ मा उनको कामको प्रसंशा गर्दै गल्फ एयरले समग्र नेटवर्कमै बेस्ट स्टाफको अवार्ड दियो । 

बाबुआमाको भूमिका एक्लैले निभाएकी उनलाई आफ्ना दुई छोरीको साथले आज थप ऊर्जा र हौसला मिल्छ । दोस्रो विवाहका लागि थुप्रै प्रस्ताव आए पनि स्वीकार नगरेकी ट्विङ्कल जीवन जिउँने कला एक्लै बस्दा अझ धेरै सिक्ने मौका पाएको बताउँछिन् । 

एयरलाइन्समा काम गर्दा गर्दै आईओएममा पार्ट टाइम काम गरेकी उनले थुप्रै देशको भ्रमण गर्ने अवसर पनि पाइन् । “हरेक चुनौतीलाई कसरी सामना गर्ने हो, त्यो हामी आफैले तय गर्न सक्छौं र अप्ठ्यारा परिस्थितिलाई पनि सुल्झाउन सक्नुमै मिल्छ सक्षमताको प्रमाणपत्र” उनको आत्मविश्वास हो यो ।

एयरलाइन्समा २१ वर्ष

२१ वर्षदेखि विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सहरूमा एक कुशल अफिसरका रूपमा इमेज दर्ज गराइसकेकी ट्विङ्कलले १६ वर्ष गल्फ एयरमा विताइन् । एक वर्ष फ्लाई दुबईमा पनि काम गर्ने अवसर पाएकी उनी तीन वर्षदेखि भने ओमान एयरको एयरपोर्ट अपरेसन म्यानेजरको जिम्मेवारीमा छिन् । 

एयरलाइन्समा आइपर्ने विभिन्न समस्याको समाधान गर्न दिनरात नभनी जुट्छिन् उनी । कहिले काहीँ यति क्रिटिकल समस्या आइरहेको हुन्छ, त्यसमा भने विभिन्न सङ्घ संस्थाको साथ मागेरै समस्यामा परेकाको सेवा गर्छिन् उनी । एयरलाइन्समा यात्रीको समस्या सुन्नुदेखि समस्यामा परेकालाई सहयोग गर्नु उनको दैनिकी नै हो । 

कहिलेकाहीँ वैदेशिक रोजगारीबाट फर्केका महिलाहरूको अवस्थाले उनलाई निकै पिरोल्छ । कति त मानसिक सन्तुलन नै गुमाएर नेपाल फर्किरहेका हुन्छन् । यस्ता अवस्थाका महिलालाई डाक्टरसँग परामर्श गरेर परिवार तथा परिवार नभएकालाई माइती नेपालको जिम्मा लगाउने काम गर्छिन् उनी । कुनै पनि पेसा जागिर मात्र नभएर सेवा पनि हो भन्ने लाग्छ उनलाई । दुःखमा परेकाको सहयोग गर्दा भने उनलाई निकै आनन्द आउँछ रे बच्चैदेखिको सहयोगी भावनाले गर्दा नै उनको नाम नै दाताराम रहन गएको थियो ।  

एक सफ्टवयर डेभलपरले घरै बसेर काम गर्दा भइहाल्छ, किन बाहिर जानुपर्यो भन्ने परिवारको अव्यावहारिक प्रस्तावलाई स्वीकार गरेको भए सायद आज यो स्थान उनले कहिल्यै हासिल गर्ने थिइनन् ।  भन्छिन्, ‘यदि मेरो भाउजूले त्यो समय मलाई बाहिर आउन फोर्स नगर्नु हुन्थ्यो भने आज मात्र हाउस वाइफमा सीमित हुने थिएँ म ।’

एभिएसनको रोजगारी फाइभ स्टार लेभलको

२१ वर्षदेखि एयरपोर्टको सेरोफेरोमा रमाइरहेकी ट्विङ्कलले धेरै उतारचढावको सामना त गर्नु पर्यो नै तर एयरपोर्टमा धेरै परिवर्तन देख्ने अवसर पनि मिल्यो । राति राति कामबाट घर फर्कंदा नराम्रो सोच्ने हाम्रो परिवार अनि समाजले बुझेन यो कति लग्जरियस जब हो भनेर । बुझाउने प्रयत्न गर्दा पनि सुन्ने कोही हुन्थेनन् । तर आज समय बदलिएको छ र धेरैको आँखा यो क्षेत्रमा परेको छ । 

नेपालमा एभिएसनको क्षेत्रमा जान चाहनेका लागि अहिले आएर विभिन्न अध्ययन संस्थाहरू जस्तोः नाड, फ्लाई टेक, फ्लाइङ स्कुलहरू खुलेका छन् । पहिले एभिएसनमा प्रवेश गर्दा एभिएसन नै थाहा नभई काम सुरु गर्नुपर्ने अवस्था थियो भने अब त्यो अवस्था छैन । एभिएसन निकै टफ अनि भास्ट भएको ट्विकङ्ल बताउँछिन् । 

नेपालमा हाल ३२ अन्तर्राष्ट्रिय एयरलाइन्सले आफ्नो उडान भर्ने गरेका छन् । बढ्दो चापले गर्दा एयरपोर्टको सरसफाई अनि व्यवस्थापनमा केही समस्या देखिए पनि सबैले आआफ्नो ठाउँबाट पहल गर्ने हो भने यो समस्याको समाधान छ । ओमान एयरको एक जिम्मेवार कर्मचारीको हैसियतले सबै एयरलाइन्स अनि एयरपोर्ट कर्मचारीलाई सहभागी गराएर एयरपोर्टको सरसफाई अनि एयरपोर्टको सुधारमा कार्य गर्ने योजना छ उनको ।

एभिएसनको काम लग्जरियस मानिन्छ । ट्विङ्कल सुरुमा एयरलाइन्समा छिर्दा एयरलाइन्सका कर्मचारी हात मिलाउन आयो भने नमस्कार गर्ने गर्थिन् र सिकाउँथिन कि नेपालमा हात मिलाउने होइन, नमस्कार गरिन्छ भन्दै । एयरलाइन्समा काम गर्नेहरू खराब मनोवृत्तिका हुन्छन् भनी उनलाई बताइएको थियो । तर त्यो गलत थियो । काम गर्दै जाँदा पो थाहा भयो एभियसनको काम त फाइभ स्टार लेभलको काम पो हुने रहेछ ।


 

टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ