बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय पूर्वाधार विकास कार्यक्रममा २० योजना छनोट

आइतबार, ०२ मङ्सिर २०७५, १० : ००
आइतबार, ०२ मङ्सिर २०७५

सोलुखुम्बु– स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको बजेट सडक, खानेपानी, मोटरेबल पुल, सिँचाइ योजना र अन्य भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । 

निर्वाचित प्रतिनिधिसभा सदस्य हेमकुमार राई संयोजक रहेको निर्देशक समितिले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न २० योजना छनोट गरेको हो । 

योजना छनोट गर्दा सडकलाई विशेष प्राथमकिता दिइएको छ । यस्तै खानेपानी, मोटरेबल पुल, सिँचाइ योजना र अन्य भौतिक पूर्वाधारका योजना पनि छनोट गरिएको छ । 

छनोट गरिएका योजनामा सोलुदुधकुण्ड नगरपालिकाअन्तर्गत सामुदायिक भवन निर्माण सल्लेरीका लागि रु १० लाख, झाप्रे पिके हुँदै वडा नं २ टाक्टोर जुनवेशी पर्यटन पदमार्ग निर्माणका लागि रु २० लाख, तिङ्ला संसारीडाँडा भुद्रुङ कुर्लङ देविस्थान डाँडा सडकका लागि रु २० लाख र उद्धार सामग्री खरिद तथा गोदामघर जिल्ला प्रहरी कार्यालयको हाताभित्र निर्माणका लागि रु १० लाख रकम विनियोजन गरिएको छ । 

यस्तै, माप्यदुधकोशी गाउँपालिकाअन्तर्गत सोलुदुधकुण्ड नगरपालिकाबाट माप्यदुधकोशी १ जोड्ने ओलाङघाट मोटरेबल पुल निर्माणमा रु ९० लाख, वडा नं ६, ७ कायाघाटमा बेलीब्रिज निर्माणमा रु १० लाख र थालेम भुमेस्थान मर्मत वडा नं ६ काँकुमा रु १० लाख रकम विनियोजन गरिएको छ । 

त्यसैगरी थुलुङदुधकोशी गाउँपालिकाअन्तर्गत नेले चारघरे मुक्ली जोड्ने सडक स्तरोन्नतिमा रु ६० लाख रकम विनियोजन गरिएको जिल्ला समन्वय समिति सोलुखुम्बुका कम्प्युटर अधिकृत भोजनारायण राजभण्डारीले जानकारी दिए । 

लिखुपिके गाउँपालिकाको खानेपानी शुद्धीकरण तथा संवद्र्धन योजनाका लागि रु १५ लाख, किबीखेती प्रवद्र्धनमा रु १० लाख र लिखुखोला पिके पर्यटन पदमार्ग मर्मतसम्भारमा रु १५ लाख, सोताङ गाउँपालिकाअन्तर्गत छनोटमा परेका योजनामा सभाहल निर्माणका लागि रु १५ लाख र रिमुछा पतिसेसम्मको पर्यटन प्रवद्र्धनका लागि ट्र्याकओपनमा रु १० लाख विनियोजन गरिएको छ । 

नेचासल्यान गाउँपालिकाअन्तर्गत छनोट भएका योजनामा खहरे मुहान श्रीचौर देवीस्थानडाँडा हुँदै केउरेनी चुहान सिँचाइ आयोजना वडा नं २ का लागि रु १० लाख, बोसिमखोला मुहान फुर्के चुहान खानेपानी निर्माण वडा नं ३, ४ र ५ का लागि रु २६ लाख र शिवमन्दिर निर्माण तथा मर्मतका लागि रु १० लाख रकम विनियोजन गरिएको छ ।

त्यसैगरी खुम्बुपासाङल्हामु गाउँपालिकाअन्तर्गत वडा नं २ मगरटोलमा पुल निर्माणका लागि रु १५ लाख रकम विनियोजन गरिएको छ । 

जिल्ला समन्वय समिति सोलुखुम्बुलाई प्रशासनिक खर्चका लागि रु चार लाख रकम सांसद क्षेत्र विकास कोषबाट विनियोजन गरिएको कम्प्युटर अधिकृत राजभण्डारीले जानकारी दिए । 

त्यसैगरी महाकुलुङ गाउँपालिकाअन्तर्गत वडा नं ४ पोम्लालुङ पर्यटन पदमार्ग निर्माणमा रु २० लाख, वडा नं ५ योउ लुबुम मन्दिर भवन निर्माणमा रु १० लाख र वडा नं १ को हिमचुली सामुदायिक भवन निर्माणमा रु १० लाख रकम विनियोजन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप