बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी कार्यालय छिर्न लाग्दा कार्यकर्ताबाटै घेरिए शेरबहादुर देउवा (फोटोफिचर)

शनिबार, ०१ मङ्सिर २०७५, १६ : ४७
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौं–नेपाल विद्यार्थी संघको नेतृत्व महाधिवेशन मार्फत चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग शनिबार नेविसंघका नेता कार्यकर्ताले  कांग्रेस पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका छन् । 

नेपाल विद्यार्थी संघको महाधिवेशनका सम्बन्धमा छलफल गर्न बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी हुन आएका नेताहरुलाई दबाब दिन नेविसंघभित्रको रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले पार्टी कार्यालय परिसरमा नाराबाजी गरेका हुन् । 

पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य वीर बहादुर बलायरले शान्त बस्न आग्रह गर्दा नाराबाजीमा उत्रिएका विद्यार्थी र नेता बलायरबीच झण्डै झण्डै हातहालाहालको अवस्था श्रृजना भएको थियो । 

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुशील भट्ट लगायतको समूहले महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गर्दै टिके प्रथाको विरोधमा नाराबाजी गरेको थियो । 

अर्का विद्यार्थी नेता बलदेव तिमिल्सिना लगायतको समूहले पनि नयाँ तदर्थ समिति गठन गरेर अघि बढ्नु पर्ने माग गर्दै नाराबाजी गरेका थिए । 

दुवै पक्षले आआफ्नो हितमा निर्णय गराउन पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् । 

बैठकमा सहभागी हुन आएका सभापति शेर बहादुर देउवालाई दुवै पक्षले घेराबन्दी गर्दै नाराबाजी गरेका थिए । 

नेविसंघले ३ महिना अघि पार्टी केन्द्रीय समितिमा पेस गरेको विधान र नियमावलि पास हुन नसक्दा नेवि संगको भावि नेतृत्वमा अन्यौल छाएको छ । 

 भोलिदेखि नेवि संघको थप गरिएको पदावधि पनि सकिँदै छ । विद्यार्थी नेता भट्ट समुहले हालको पदाधिकारीलाई नै महासमिति आयोजक समिति बनाई प्रजातान्त्रिक प्रक्रियाबाट महाधिवेशन मार्फत नेतृत्व चयन गर्नुपर्ने अडान लिँदै आएको छ ।

तीन महिना अघि बुझाएको पार्टीको विधान र नियमावली पास नगरी पार्टी नेतृत्व नयाँ तदर्थ समिति गठन गरि आफू अनुकुलको बनाउने प्रयासमा लागेपछि विरोधमा उत्रिएको विद्यार्थी नेता भट्टले बताए ।

कार्यकर्ताको विरोधका कारण पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । अहिले नेताहरु आन्तरिक बैठकमा बसिरहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप