केन्द्रीय संस्करण

प्रयोगकर्ताले प्रयोग गर्नसाथ आफैं सफा हुने शौचालय

person access_timeमंसिर १, २०७५ chat_bubble_outline0

‘शौचालय नहुनु समस्या होइन,’ रवीन्द्र शाहीले दाबी गरे, ‘भएका शौचालय सफा नहुनु मुख्य समस्या हो । शौचालय नहुनु समस्या हुन्थ्यो भने त जत्ति पनि बनाइन्थ्यो ।’ 

सार्वजनिक शौचालयको समस्या नयाँ होइन । एसिया महादेशमै शौचालय समस्या चर्को छ । चीनमा त समस्या छ भने नेपालमा शौचालय समस्या हुनु अनौठो होइन । शौचालय समस्या चर्को भएकाले आफैं सफा हुने शौचालय बनाउनुपर्छ भनेर शाहीले निधो गरे । 

‘आफैं सफा हुने शौचालय आविष्कार नयाँ होइन,’ १० वर्ष गैरसरकारी संस्थामा काम गरेका उनले थपे, ‘नेपालमा निर्मित र निर्माणाधीन आफैं सफा हुने शौचालयको प्रविधिचाहिँ नयाँ हो । सफा गर्ने तरिका पनि नयाँ हो ।’

प्रयोगकर्ताले प्रयोग गर्नसाथ आफैं सफा हुने शौचालय स्टीलले बनेका हुन्छन् । शौचालयमा सिंगै कम्प्युटर जडान गरिएको हुन्छ । कम्प्युटर भन्नासाथ किबोर्ड भएकै कम्प्युटरचाहिँ होइन । त्यस्तो प्रविधिजडित शौचालयको ढोकामा ‘क्वाइन’ हालेपछि ढोका खुल्छ । शौच गरिसकेपछि हात थाप्दा पानी र साबुन आउँछ । प्रयोगकर्ता बाहिरिएपछि शौचालय आफैं सफा हुन्छ । स्टीलद्वारा निर्मित शौचालयको भित्ता भने दैनिक बेलुका सफा हुन्छ । शौचालयको चार भित्ता र भुइँ सफा गर्ने हो । भुइँचाहिँ प्रयोग गर्नसाथ सफा हुन्छ । भित्ता र भुइँ सफा गर्न साबुन त्यहीं राखिएका हुन्छन् । शौचालयको प्यान सेरामिक नभएर स्टीलबाटै निर्माण गरिएकाले हार्पिक प्रयोग गरिँदैन ।

‘शौचालयका लागि आवश्यक १६ सय लिटर पानी राखिएको हुन्छ,’ शाहीको बुझाइ छ, ‘सामान्यतया एक प्रयोगकर्ताले दिसा गर्दा ६ लिटर र पिसाब गर्नेले एक लिटर पानी प्रयोग गर्छन् । पानी नहुँदा वा शौचालयका कुनै पनि मेसिन बिग्रेको खण्डमा शौचालयको ढोका खुल्दैन । तर, साबुनमात्रै नभएको बेला ढोका खुल्छ ।’ 

शौचालयमा पानी सकिएपछि ट्याङ्करवाला वा शौचालयसँग सम्बन्धितलाई एसएमएस जान्छ । उसले पानी व्यवस्था नगरिन्जेल शौचालयको ढोका खुल्दैन ।   

शौचालय भनेको चौबीसै घन्टा खुला हुनुपर्छ । काठमाडौंका सार्वजनिक शौचालयमा राति पैसा संकलन गर्ने बस्न सम्भव छैन । अपवादबाहेक सार्वजनिक शौचालयको ढोकाको चुकुल, धाराको टुटी, बत्ती हुँदैनन् । ‘आफैं सफा हुने शौचालयमा चोर्न मिल्ने केही हुँदैनन्,’ उनले गर्व गरे, ‘आफैं सफा हुने शौचालय टायल लगाएर बनाइएकोभन्दा महँगो पनि छैन । विदेशमा आफैं सफा हुने एक शौचालयलाई ८० लाख रुपैयाँसम्म पर्छ । हामीले बनाएको शौचालय २० लाखमा पाइन्छ । अब १० लाखमा उपलब्ध गराउनेगरी निर्माण गर्दै छौं ।’ 

नेपालमा भनेजस्तो मेसिन, सामान, सेन्सर पाइँदैनन् । जे उपलब्ध छ, त्यही सामग्रीबाट आफैं सफा हुने शौचालय निर्माण गरिँदै छ । यस्ता शौचालयका ‘मेकानिकल पार्टस् चेक’ गरिरहनुपर्छ । तर, शौचालयको ‘बडी पार्ट्स्’ २० वर्षसम्म टिकाउ हुन्छ । शौचालयको सामान्य मर्मत सम्बन्धित सरोकारवालालाई गर्न सिकाइन्छ । उनीहरुले नसक्ने ठूलाखालकै मर्मत भने आफैं सफा हुने शौचालय बनाइरहेको ल्याप्को टेक्नोलोजिज प्रालिले वर्ष दिनसम्म निःशुल्क गरिदिन्छ । 

आफैं सफा हुने शौचालय फरक–फरकखालका छन् । नेपालगन्जमा राख्न लागिएको शौचालयमा सबैखालका शारीरिक रुपमा अशक्तमैत्री छ । त्यहाँ ब्रेल राखिन्छ । कान नसुन्नेका लागि श्रव्यदृश्य (भिज्युअल) सुविधा हुन्छ । नेपालगन्जमा राखिन लागेका शौचालयमा आठजनाले एकैपटक प्रयोग गर्न सक्छन् ।

डोल्पा, काठमाडौंको स्वयम्भु र पानीपोखरीका राख्न लागिएका शौचलय पनि फरक–फरक प्रकृतिका छन् । डोल्पामा राखिन लागेको शौचालय ५० जनाले प्रयोग गरेपछि आफैं सफा हुन्छ । स्वयम्भू र पानीपोखरीमा राखिन लागेको शौचालयमा तीनजनाले एकैपटक प्रयोग सक्छन् । त्यसमा महिला र पुरुषले एकैपटक पिसाब गर्न सकिने संरचना बनाइएको छ भने दिसा गर्न चाहनेले पालो कुर्नुपर्छ । 

‘अबचाहिँ एकजनाले मात्रै प्रयोग गर्न सक्ने शौचालय बनाउने हो,’ उनले भावी योजना सुनाए, ‘त्यसो गर्दा शौचालय निर्माण लागत कम पर्छ । ढुवानीका लागि पनि सजिलो हुन्छ । सस्तो पनि ।’ एकबाट अर्को ठाउँमा सार्नै परे सजिलो पनि हुन्छ । 

काठमाडौं उपत्यकाको फोहोर र शौचालयको सिन्डिकेट तोड्न त्यति सजिलो नभएको उनले बताए । ‘काठमाडौं उपत्यकाबाहेक आफैं सफा हुने शौचालय नेपालभरि पठाउन सक्छु,’ उनी प्रस्ट छन्, ‘नेपाली र नेपालजस्ता मुलुकमा समेत पठाउन सकिन्छ । युरोपियन कन्ट्री र चीन पठाउन सकिँदैन । तर, अफ्रिकन कन्ट्री पठाउन सकिन्छ ।’  

स्वयम्भू र पानीपोखरीमा राखिन लागेको शौचालय निर्माण गर्न कति समय लाग्ला ? तीन महिनादेखि ११ जना कामदारसहित १८ घन्टा काम गरिरहेका ३५ वर्षीय रवीन्द्र शाहीले भने, ‘रिसर्च एन्ड डेभलपमेन्ट पिरियडमै रहेकाले कति समय लाग्छ अहिले नै भन्न सकिँदैन ।’

सार्वजनिक शौचालय हुनुपर्यो भनेर माग गर्नेको कमी छैन । तर, उनीहरूले मेरो घरछेउमा बनाउनुहुँदैन भन्ने गर्छन् । तर, आफैं सफा हुने शौचालय जोकोहीको घरछेउमा राख्दा पनि फरक पदैन । ठाउँ पनि धेरै चाहिँदैन ।

‘सय–सय मिटरमा शौचालय हुनुपर्छ,’ समाजशास्त्रमा स्नातकोत्तर उनको मान्यता छ, ‘त्यसो गर्न सके न भीडभाड हुन्छ । न मानिसले दिसा–पिसाब च्यापेर बस्नुपर्ने बाध्यता हुन्छ ।’
 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ