केन्द्रीय संस्करण

युवा संघ नेपाल अध्यक्ष रमेश पौडेलको जीवन : भाग्य, विधाताभन्दा कर्मदातामा विश्वास

person access_timeमंसिर १, २०७५ chat_bubble_outline0

‘कर्ममा विश्वास गर्छु,’ युवा संघ नेपाल अध्यक्ष रमेश पौडेलले सुनाए, ‘कर्मलाई धर्म मान्ने र भौतिकवादी दर्शन आत्मसात् गरेकाले भाग्य, विधाताभन्दा दातामा विश्वास गर्छु ।’ 
युवा संघ नेपाल अध्यक्ष पौडेलका घरभित्रै पुरेत, पण्डितहरू छन् । उनीहरूका अनुसार, उनी राजग्रह परेको व्यक्ति । तर, उनी कर्मजीवी हुन् । कर्ममा विश्वास गर्छन् । कर्मलाई धर्म मान्छन् । कर्मअनुसार धर्म कमाइन्छ भन्ने युवा संघ नेपाल अध्यक्ष रमेश पौडेलसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : 

मेरो खाना
विशेषतः ढिँडो र दाल असाध्यै मन पर्छ । त्यसो भन्दैमा यो वा त्यो खानेकुरा भान्छामा नपाकिदिए हुन्थ्यो, खान नपरे हुन्थ्यो भन्ने छैन । कामविशेषले पुगिरहे पनि योजनाबद्ध ढंगले खानकै लागि रेष्टुरेन्ट जाने गरिँदैन । रेष्टुरेन्ट पुगिहाल्दा मेनु पल्टाए पनि मःमः नै माग्ने गर्छु । समयानुकूल हुँदा भान्छामा पसेर श्रीमतीलाई सघाउँछु । 

मेरो पोसाक
सामान्यता सर्ट–पाइन्ट, कोट लगाउँछु । त्यसबाहेक लगाउँदा सहज हुने पोसाक रोजाइमा पर्छन् । मलाई दुई जोर पोसाकले वर्ष दिन धान्छ । दुई जोर पोसाकको २० हजार रुपैयाँसम्म पर्ला । नीलो रङको पोसाक छान्ने गरेको छु । तयारी पोसाक र कपडा किनेर सिलाउने बराबरीजस्तो हुन्छ । पोसाकको ब्रान्डबारे त्यति ‘कन्सस’ छुइनँ । ढाकाटोपी पनि लगाउने गरेको छु ।

मेरो फिटनेस
उफ्रिने, दौडिने गरेको छु । डाइटिङ छैन । योगा गरेको अनुभव छ । 

मेरो अध्ययन
हिजोआज म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यास दोहोर्याएर पढ्दै छु । माक्र्सवादी साहित्यका किताब रुचिपूर्वक पढ्ने गरेको छु । नेपालीमा भूपी शेरचन, लक्ष्मीप्रसाद देवकोटा, मोदनाथ प्रश्रितहरूको लेखनशैली प्रिय लाग्छ । विदेशीमा गोर्की, लुसुन, शेक्सपियर, शेलीलगायत मन पर्छन् । मेरो घरको निजी पुस्तकालयमा दुई हजारजति किताब होलान् । किताबमा निश्चित बजेट छुट्ट्याउने गरेको छैन । तर, बजारमा आएका तर आफूलाई उपयोगी लागेको किताब किनिहाल्छु । 

मेरो घुमफिर
घुमफिर गर्न नरुचाउने को होलान् र ? मलाई पनि घुमफिर गर्न असाध्यै मन पर्छ । राजनीतिक कार्यक्रमको सन्दर्भ पारेर नेपालका ६५ जिल्ला पुगेको छु । एक, दुईवटा देश घुमेको छु । घुमेकामध्ये चीन मन पर्यो । त्यहाँको विकासले कसलाई नलोभ्याउला ? जीवनमा एकपटक जोमसोम पुग्ने रहर छ ।

मेरो फुर्सद
काम भन्नाले त्यस्तो काम पनि हुँदैन । तर, नतिजा नदेखिने काममा सधैं व्यस्त हुन्छु । त्यसलाई कसरी अथ्र्याउने ? व्यस्त र फुर्सदको परिभाषा गर्न नसकिने हामीजस्ता राजनीतिक, सामाजिक कार्यकर्ताको समस्या ठूलो छ । जतिसुकै दौडधुप भए पनि मोबाइल स्वीचअफ गरेर आराम गर्ने बानी छैन । फुर्सद पाइहालेमा अध्ययन गरेर समय सदुपयोग गर्छु । कतिपय अवस्थामा वृत्तचित्रसमेत हेर्ने गरेको छु । घरपरिवारलाई भनेजति समय दिन सकेको छैन । 

मेरो खेलकुद
बाल्यकालमा कबड्डी र डन्डिबियो खेलेर रमाउनसम्म रमाइयो । आफूले नखेले पनि फुटबल असाध्यै मन पर्छ । प्रत्येक खेलका आ–आफ्नै विशेषता हुन्छन् । सबै खेलप्रति उत्तिकै सम्मान छ । ब्राजिल र अर्जेन्टिनाका फुटबल खेलाडी मन पर्छन् । स्वदेशीमा सबैका खेल हेरिरहेको छु । सबैको प्रगति लोभलाग्दो देखिन्छ । 

मेरो मोबाइल
मैले प्रयोग गर्दै आएको मोबाइल सामसुङ हो । यसको १५ हजारजति परेको थियो । मोबाइल परिवर्तन गरिरहने बानी छैन । मोबाइलका एप्लिकेसनमध्ये फेसबुक, ट्वीटर, गुगल, इमेल, इन्टरनेट बढी प्रयोग हुन्छ । 

मेरो टीभी
टेलिभिजनमा समाचार, अन्तर्वार्ता प्राथमिकतासाथ हेर्ने गर्छु । जानकारीमूलक कार्यक्रमसेत रुचिपूर्वक हेर्दै आएको छु । राति आठ बेजपछि टेलिभिजन हेर्ने समय जुर्छ । घरमा रहेको सामुसङ टेलिभिजनको आकार कत्तिको हो थाहा भएन । 

मेरो चलचित्र
पछिल्लो समय चलचित्र ‘धनपति’ युटुबमा हेरेको थिएँ । टीभी, भिसिडीमा समेत चलचित्र हेरेको छु । हेरेकामध्ये ‘बाहुबली’, ‘बलिदान’ र ‘टाइटानिक’ असाध्यै मन परेको थियो । राजेश हमाल, भुवन केसी, करिश्मा मानन्धर र रेखा थापाको अभिनय जीवन्त लाग्छ । 

मेरो रोग
अहिलेसम्म स्वस्थ छु । म सालिन्दा दुईपटक ‘होलबडी चेकअप’ गराउँछु । खानपान, व्यायाममा ध्यान दिनुपर्छ । त्यतिमात्रै होइन, चिन्तन गरे पनि चिन्ता गरिएन भने मानिस स्वस्थ रहन सकिन्छ । 

मेरो भाषणशैली
आफूले आफ्नो भाषणशैली मूल्यांकन गर्न गाह्रो हुन्छ । म सरदर वक्ता हुँ । राजनीतिक नेताले श्रोता र परिस्थिति हेरेर भाषण गर्न जान्नुपर्छ । म पनि त्यसै गर्छु । प्रशिक्षणमा बौद्धिक र विषयवस्तुकेन्द्रित भनाइ राख्नुपर्छ । भाषण गरेकै आधारमा विवादमा तानिनु अस्वाभाविक होइन । सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार र दुर्गा तिवारीको हत्या हुँदा काठमाडौंको नयाँबानेश्वरमा मैले गरेको भाषणलाई लिएर मलाई विवादमा तान्न खोजिएको थियो । भाषण गर्नुअघि तयारी गर्दा राम्रो भए पनि मैले त्यसो गर्दिनँ ।

मेरो मापसे
मादक पदार्थ खान्न । जनजाति बस्तीमा हुर्किएकाले स्वादचाहिँ थाहा छ । 

मेरो संगीत
गीत गाउन नजाने पनि गीत–संगीत सुन्न मन पर्छ । नारायण गोपाल, जीवन शर्माका गीत कर्णप्रिय लाग्छन् । गाउन नजान्नेले पनि गुनगुनाउने गर्छन् । म पनि अछुतो छैन । म सुन्न जान्दछु । 

मेरो भूल
जान–अञ्जानमा गल्ती गर्नु मानवीय स्वभाव हो । तर, पश्चाताप लाग्नेगरी मैले गल्ती गरेजस्तो लाग्दैन । मटिहानीमा ठूलाबाका छोरासँग छात्रवास बसेर पढ्थें । स्कुलबाट भागेर चलचित्र हेर्न जाँदा, अर्काको नरिवल चोरेर खाँदा कठोर सजाय पाएको हिजैजस्तो लाग्छ । गल्ती नगरी पनि सजाय पाएको छु । 

मेरो घर
म बस्दै आएको घर बुवाको हो । घर बनाउँदा मेरो एक पैसा परेको छैन । राजनीतिक कार्यकर्ता भएकाले कमाउने काममा लागेको छैन । श्रीमती ‘नर्सिङ अफिसर’ हुन् । उनको अलिकति परेको होला । नत्र बुवाको जिन्दगीभरिको कमाइ, मेरा व्यवसायी दुई भाइले पनि सहयोग गरेपछि घर ठडिएको हो । 

मेरो राशी
मेरो राशी वृश्चिक हो । कर्ममा विश्वास गर्छु । कर्मलाई धर्म मान्ने र भौतिकवादी दर्शन आत्मसात् गरेकाले भाग्य, विधाताभन्दा कर्मदातामा विश्वास गर्छु । त्यसैले कस्तो होला भनेर ग्रहदशा हेराइरहन्न । मेरा बाउबाजे पुरेत, पण्डित छन् । उहाँहरूका अनुसार म राजग्रह परेको मानिस हुँ रे । म कर्म गर्दै जान्छु । त्यहीअनुसारको फल पाउने हो । 

मेरो सौन्दर्यचेत
कपालमा तोरीतेल प्रयोग गर्छु । फेसियल गर्ने बानी छैन । श्रीमतीले फेयर हेन्सम लगाउनू भनेर ल्याइदिन्छिन् । त्यही लगाउँछु । 

मेरो प्रेम
प्रेमलाई मागीबिहेमा रूपान्तरण गरेका हौं । उनी पनि विद्यार्थी राजनीतिमै थिइन् । पूर्वप्रधानमन्त्री माधव नेपाल, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तात्कालिक एमालेसम्बद्ध नेताको उपस्थितिमा हामीले बिहे गरेका हौं । 

मेरो सपना 
जनताले जनतामाथि अन्याय नगरून् । सबै नेपाली समान हुन् । नेपाल र नेपाली समृद्ध हुन् । जी–८ बैठकमा नेपालले समेत अध्यक्षता गर्ने हैसियत राखोस् । दुनियाँले नेपालको राजनीतिमा हस्तक्षेप गर्दै आएको छ, नेपाल दुनियाँको पथप्रदर्शक बन्न सकोस् । सचेत नागरिकको देश बनाउने सपनाले राजनीतिक क्षेत्रमा डोरिएको हुँ । 
अहिले युवा संघ नेपाल अध्यक्ष छु । कर्म गर्दै जाउँ । एक असल नागरिक बन्ने चाहनासहित कर्म गर्दै जानेछु ।

मेरो मृत्यु
मानिस जन्मेपछि मर्नुपर्छ । यो ध्रुवसत्य हो । मृत्युदेखि डर लाग्दैन । जीवनमा मृत्युको नजिक–नजिक पुगेका घटना, दुर्घटना सम्झँदा आज पनि आङ सिरिङ्ङ हुन्छ । मोटरसाइकल दुर्घटना, गाउँ (खोटाङ, बडहरे) मा रहँदा घाँस काट्न चढ्दा रूखबाट गल्र्यामगुर्लुम झरेको थिएँ । त्यतिबेला मृत्युको नजिक पुगेको अनुभूति गरेको थिएँ । मृत्यु गर्विलो होस् । दर्बिलो होस् । मेरो मृत्युले समाजलाई केही न केही सिकाओस् । त्योभन्दा धेरै लोभ गरेको छैन । 
 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ