बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी महानिरीक्षक खनाल इन्टरपोलको ८७औं महासभामा सहभागी हुन दुवई प्रस्थान

शनिबार, ०१ मङ्सिर २०७५, ०९ : ०२
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोल महासचिवालयको आयोजनामा युनाइटेड अरव इमिरेटसको दुवईमा २०७५ मंसिर २ देखि ५ गतेसम्म संचालन हुने इन्टरपोलको ८७औं महासभामा सहभागी हुन शुक्रबार राति त्यसतर्फ प्रस्थान गरे।
     

महासभामा सहभागी हुन प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्युरोका निर्देशक प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशी समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।
    

उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाई गरे ।
    
१ सय ९२ देशका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिबेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन हुने, सदस्यताका लागि आवेदन गर्ने नयाँ देशहरुको लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच द्विपक्षीय छलफल हुने लगायतका कार्यक्रम रहेका छन् । 

यस वर्ष महासभामा इन्टरपोल सदस्यताको लागि गणतन्त्र कोसोभो, भानुआतु र किरिबाटी गरी ३ मुलुकले आवेदन गरेका छन् ।

महासभामा इन्टरपोल तथ्याङ्क प्रशोधनको आवश्यकता, सन् २०१७ को वजेट सम्बन्धी बाह्य लेखा परीक्षकको प्रतिवेदन,  सन् २०१९ का कार्यक्रम तथा खर्च वजेट सम्वन्धी प्रस्ताव, आतंकवाद र आतंककारी क्रियाकलापमा लगानी, साइबर अपराध, मानव बेचबिखन जस्ता विषयमा संकल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम हुनेछन ।

यसैगरी यस वर्ष कर्तव्यको सिलसिलामा मृत्युवरण गरी अमरत्व प्राप्त गर्ने प्रहरी कर्मचारीहरूको सम्मान गर्ने प्रस्ताव पनि रहेको छ ।

प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी  सम्हाल्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप