आर्मीकी रसिला तीन विधाको फाइनलमा
काठमाडौं– त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको महिला एकल, युगल र यू–१७ गल्र्स तीनै विधाको फाइनलमा प्रवेश गरेकी छन् ।
एकलको फाइनलमा रसिलाको भेट आर्मीकै नङ्शलदेवी तामाङसँग हुनेछ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको सेमिफाइनल खेलमा रसिलाले साविक विजेता एपिएफकी जेशिका गुरुङलाई २१–१३, २१–११ को सेटमा हराइन् । नङ्शलले एपिएफकी शोभा गौचनलाई २१–१२, २१–८ ले हराइन् ।
रसिलाले यू–१७ गल्र्सतर्फ मोरङकी रोज पाण्डेलाई २१– ९,२१–६ को सोझो सेटमा पराजित गरिन् । यसैगरी रसिला नङ्शलसँग मिलेर महिला युगलतर्फ पनि जित निकाल्दै उपाधि नजिक पुगेकी छिन् । रसिला र नङ्शलको जोडीले जेष्ट ब्याडमिन्टन क्लबकी सिता राई र बाँकेकी सम्झना शर्माको जोडीलाई २१–११, २१–११को सोझो सेटमा हराए । अर्को खेलमा एपीएफका पुजा श्रेष्ठ र जेशिका गुरुङको जोडीले आर्मीका अमिता गिरी र अनुमाया राईको जोडीलाई २१–१४, १७–२१, २१–१३ ले पराजित गर्दै फाइनलमा पुगे ।
यू–१७ ब्वाईजतर्फ प्रिन्स दाहालले जेष्टका प्रियान्सु सिंह क्षेत्रीलाई २१–१२, २१–९ ले पाखा लगाउँदै फाइनलमा पुगे । अर्को खेलमा आर्मीका दिवस शंकरले जेष्टकै पेम्बा शेर्पालाई २१–१४, १५–२१, २१–१२ ले हराउँदै फाइनलमा स्थान बनाए ।
प्रतियोगिताको पुरुष एकलतर्फ आर्मीका रत्नजित तामाङ र एपिएफका दिपेश धामी फाइनलमा पुगे । रत्नजितले आर्मीकै रुकेश महर्जनलाई २१–११, २१–१४ तथा दिपेशले आर्मीका नविन श्रेष्ठलाई २१–१७, २१–६ ले हराएका थिए ।
पुरुष युगलतर्फ रत्नजित र नविन श्रेष्ठ तथा को एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । रत्नजित र नविनको जोडीले आर्मीकै रुकेश महर्जन र प्रफुल महर्जनलाई २१–१५, २१–१९ ले तथा दिपेश र विजितले एपिएफकै गौतम कठायत र सुनिल जोशीको जोडीलाई २१–१७, १९–२१, २१–१८ ले पाखा लगाउँदै फाइनमा पुगेका छन् ।