बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर

शुक्रबार, ३० कात्तिक २०७५, १३ : ४१
शुक्रबार, ३० कात्तिक २०७५

नोमपेन्ह– कम्बोडियाका खमेर रुज शासनकालका दुईजना उच्च नेताहरु जातीय नरसंहारमा दोषी भेटिएको छ । कम्बोडियाको झण्डै एक तिहाई मानिसको मृत्युको कारण मानिएको क्रुर सत्ता पतन भएको ४० वर्षपछि शुक्रबार यस्तो ठहर गरिएको हो । 

खमेर रुज शासनका पूर्व प्रमुख ८७ वर्षीय खिउ साम्फान र दोस्रो नम्बरका नेता ९२ वर्षीय नुओन चेअ मात्र हाल जीवित छन् । अतिवादी माओवादी समूहका यी दुवै नेता सन् १९७५ देखि १९७९ सम्म कम्बोडियाको शासनसत्ताका प्रमुख पदाधिकारी थिए । 

‘ब्रदर नं. १’ भनेर चिनिने पोलपोटले अतिबढी काम लगाएको, भोकमरी र आमहत्याका कारण झण्डै २० लाख कम्बोडियालीको ज्यान लिएका थिए, तर शुक्रबारको फैसलामा यो हत्यालाई पहिलोपटक नरसंहार ठहर गरिएको छ । 

सन् १९७५ अप्रिलमा नोमपेन्हमा हिंसा मच्चाएको र मानिसलाई पलायन हुन बाध्य पारेको अभियोगमा दुई नेतालाई सन् २०१४ मा जन्मकैदको सजाय दिइएको थियो । 

तर कम्बोडियाली विशेष अदालतले शुक्रबार गरेको फैसलामा नुओन चेअलाई अल्पसंख्यक भियतनामी र चाम अल्पसंख्यक मुस्लिम समुदायको नरसंहारमा पनि संलग्न रहेको भन्दै दोषी ठहर गरेको छ । 

‘पोलपोटसँगै मिलेर नुओन चेअले शक्तिको दुरुपयोग गरेका छन्, त्यसकारण यी सबै अपराधमा नुओन चेअ जिम्मेवार ठहरिन्छन्,’ न्यायाधीश नील नोन्नले आदेशमा बताए । ‘चाम अल्पसंख्यक र धार्मिक समूहमा आबद्ध मानिसको हत्या गरी नरसंहारजस्तो गम्भीर अपराधमा नुओन चेअ संलग्न पाइए ।’ 

खिउ साम्फान पनि भियतनामी अल्पसंख्यकमाथि नरसंहार मच्चाएको आरोपमा दोषी भेटिएका छन्, अदालतको आदेशमा भनिएको छ । 

अदालतले फैसला सुनाउने क्रममा अदालत बाहिर भेला भएका सयौंले फैसलाको स्वागतमा नाराबाजी गरेका थिए । 

जातीय नरसंहारको यो घटनामा पोलपोट शासनकालका चार वर्षलाई समेटिएको छ । 

‘यो फैसलाले नुरेम्बर्ग फैसलालाई सम्झाएको छ, र यसको विशेष महत्व छ । यो फैसला कम्बोडिया, अन्तर्राष्ट्रिय फौजदारी न्याय तथा इतिहासको प्रामाणिक कथाका रुपमा रहनेछ,’ खमेर रुज मामिलामा राष्ट्रसंघ महासचिवका विशेष विज्ञका रुपमा सेवा गरिसक्नुभएका डेभिड सेफरले बताए । 

बौद्धमार्गीको बाहुल्य रहेको कम्बोडियामा खमेर रुज विद्रोहीहरुले बलको आडमा सामाजिक वर्ग र धार्मिक प्रणालीलाई ध्वस्त बनाउने अभियान चलाएका थिए । 

कारागार र कार्यस्थलमा जबर्जस्ती बिबाह, बलात्कार समेतका अमानवीय कार्यहरु पनि यही शासनकालमा भएको थप आरोप समेत दुवैमाथि लागेको छ । 

कम्बोडियाली र अन्तर्राष्ट्रिय कानुनको प्रयोग गर्नेगरी स्थापित यो अदालत सन् २००६ मा संयुक्त राष्ट्रसंघको अगुवाईमा गठन भएको हो । यो विशेष अदालतले खमेर रुजका वरिष्ट नेताहरुबाट भएका अपराधको सुनुवाई गर्दछ । 

यो अदालतले तीन जना विरुद्ध मात्र फैसला दिएको छ । अनुसन्धान र अदालती प्रक्रियामा करिब ३० करोड अमेरिकी डलर खर्च भइसकेको छ । 

खमेर रुज शासनका विदेश मन्त्री इएङ सारी र उनकी पत्नीको मृत्यु भइसकेको छ, भने पोल पोटको सन् १९९८ मा मृत्यु भएको थियो । 

धेरैको विश्वासमा शुक्रबारको फैसला अन्तिम हुनेछ । राजनीतिक हस्तक्षेपबाट विशेष अदालतको काम कारबाहीमा असर पुगेको थियो । 

विगतमा खमेर रुजका कार्यकर्ता समेत रहेका प्रधानमन्त्री हुन सेनले खमेर शासनका बारेमा थप अनुसन्धान नगर्ने बताउँदै आएका छन् । उनको विचारमा थप अनुसन्धानले मुलुकको स्थायित्वमा असर पर्नेछ । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप