शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाई कि हलो ? : राप्रपा (प्रजातान्त्रिक) को निर्णय आज

शुक्रबार, ३० कात्तिक २०७५, ११ : ३०
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौँ । पूर्व पञ्चको पृष्ठभूमि भएका नेताहरुको बाहुल्यतामा सञ्चालित तीन राप्रपा एकता प्रसङ्ग ‘भ्यागुताको धार्नी’ जस्तै भएको छ । 

कहिले एकता भइहाल्ने त कहिले एकता भाँडियो भन्दै आएका ती पार्टीका नेताहरु पछिल्लो पटक एकता ढिलाइ हुनुमा एकले अर्कोलाई दोष देखाउँदै आरोप–प्रत्यारोपमा उत्रिएका छन् । 

सैद्धान्तिक विषयमा सहमति भएपनि पछिल्लो पटक कमल थापा र पशुपति शमशेर राणाबीच भएको छलफलमा चुनाव चिन्ह गाई वा हलो के राख्ने भन्नेमा कुरा नमिलेपछि राप्रपा अध्यक्ष कमल थापाले राणाकै कारण एकता भाँडिएको बताएका थिए । थापाको यो भनाई आएलगत्तै अर्का नेता राणाले आफ्नो कारणले नभई थापाका कारणले ढिलाई भएको तर एकता नभाँडिएको स्पष्टिकरण दिएका थिए । 

यसैबीच एकता प्रक्रियाबारे ठोस धारणा तय गर्न राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकको उच्चस्तरीय कार्यसम्पादन समितीको बैठक शुक्रबार बस्दैछ । 

महाराजगञ्जस्थित अध्यक्ष पशुपति शमसेर राणाको निवासमा दिउँसो २ बजेपछि बस्ने बैठकले पार्टी एकताका बिषयमा यसअघि भएका सहमति तथा नमिलेका विषयमा छलफल गरेर ठोस धारणा सार्वजनिक गर्ने महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए । पार्टी प्रवक्ता राजेन्द्र गुरुङले एकता कुनै हालतमा नरोकिने भन्दै निर्वाचन चिन्ह र झण्डाका बारेमा बैठकमा छलफल हुने बताए । ‘उच्चस्तरीय समितिको बैठकमा ति विषयमा विकल्पसहित छलफल हुन्छ त्यसपछि गाई वा हलो के भन्ने धारणा आउँछ,’ प्रवक्ता गुरुङले रातोपाटीलाई बताए ।   

कमल थापा बाहेक एकता 
राप्रपाका केही नेतहरुका अनुसार कमल थापा एकता प्रकृयामा नआए राणाको पार्टी, डा. प्रकाशचन्द्र लोहनीको पार्टी र कमल थापासँग असन्तुष्ट रहेका राप्रपाका केही नेताहरुलाई समेटेर एकता घोषणा गर्ने विकल्पमा समेत नेताहरुबीच छलफल भइरहेको छ । राप्रपा प्रजातान्त्रिकका एक नेताले नाम उल्लेख नगर्न आग्रह गर्दै भने, ‘ सकभर सिङगो पार्टी नै एकता गर्नुपर्छ भन्ने हाम्रो भनाई हो । यदि त्यसो भएन र कमल थापाजी मान्दै मान्नु भएन उहाँको पार्टीका धेरै असन्तुष्ट नेताहरु एकता प्रकृयामा आउनुहुन्छ ।’ 

उता, विवादका विषय महाअधिबेशनबाट निक्र्योल गर्ने गरी सहमती गर्दै तत्कालका लागि पार्टी एकिकरणमा जानुपर्ने दुबै दलका दोस्रो तहका नेताहरुले नेतृत्वलाई दबाब दिँदै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप