शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यभोटेकोशी आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित

बिहीबार, २९ कात्तिक २०७५, १८ : ५९
बिहीबार, २९ कात्तिक २०७५

मेलम्ची । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित बनेका छन् । 

आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक शेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि शेयर खुला गरेकै दिन नगरपालिकाले आयोजनाविरुद्ध उजुरी दिएको हो । 

आयोजना शुरु गर्दा प्रभावित क्षेत्रमा विभिन्न सहयोग गर्ने लिखित प्रतिबद्धता गरे पनि हालसम्म आयोजनाले कुनै काम नगरेकाले उजुरी दिएको नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए । 

नगरप्रमुख शेर्पासहितको टोलीले आयोजनाका निर्देशक मणिराम काफ्ले, कम्पनी सचिव टोमलाल सुवेदी, प्रमुख सुनिलकुमार लामा र डिजाइनर विजयलाल श्रेष्ठविरुद्ध प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको छ । 

नगरपालिकाले आयोजनाका अख्तियार प्राप्त सबैलाई बोलाएर आयोजना शुरु हुँदाका बखत प्रभावित क्षेत्रका बासिन्दासँग गरेका लिखित प्रतिबद्धता पूरा गराउन प्रशासनलाई आग्रह गरेको छ । 

आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासीलाई सहयोग गर्न आयोजना कार्यान्वयन सरोकार समिति गठन गरेर कार्यविधिसमेत बनाएर सहयोग गर्ने प्रतिबद्धता गरेको थियो । सरोकार समितिका संयोजकमा नगर प्रमुख शेर्पा स्वयम् रहनु भएको छ ।

सरोकार समिति र स्थानीय सरकारले पटकपटक लिखित आग्रह गर्दासमेत आयोजनाले प्रतिबद्धता पूरा गर्न बेवास्ता गरेको बताइएको छ । 

आयोजनाले प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक बजेट दिएर विभिन्न विकासका काम गर्ने प्रतिबद्धता गरेको थियो । 

प्रतिबद्धताअनुसार हालसम्म पनि बजेट दिइएको छैन् । आयोजनाको सुरुङ मार्गसहित अन्य संरचना निर्माणका क्रममा भत्काइएका स्वास्थ्यचौकी, विद्यालयलगायत संरचनासमेत अहिलेसम्म निर्माण नगरेको वडा नं ५ का अध्यक्ष बेलबहादुर रोक्काले बताए । 

प्रजिअ कृष्णप्रसाद अधिकारीले दुवै पक्षलाई छलफलमा बोलाउने तयारी गरिएको बताए । जिल्लाको हालसम्मकै ठूलो जलविद्युत् आयोजना मध्यभोटेकोशीले हालसम्म ३० प्रतिशत मात्र काम सकेको छ । 

सन् २०१३ मा निर्माण शुरु भएको सो आयोजना व्यवस्थापकीय कमजोरीका कारण गति लिन नसकेको स्थानीयवासीको आरोप छ । 

साढे १४ अर्बको लगानीमा निर्माण हुने उक्त आयोजनालाई चाहिने आवश्यक पूँजीका लागि कर्मचारी सञ्चयकोषसँग यसअघि नै ऋण सम्झौता भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप