शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद निर्णय तत्काल थाहा पाए समाचार लेख्नुस, कारवाही हुँदैन : सञ्चारमन्त्री बास्कोटा

बिहीबार, २९ कात्तिक २०७५, १८ : ३६
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौं– सुचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रिपरिषदको निर्णय साप्ताहिक रुपमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएका छन् । बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री बास्कोटाले मन्त्रिपरिषदले निर्णय गरेको २४ घण्टा पछि मात्र सुचना बाहिर ल्याउने उल्लेख गरे । २४ घण्टा नपुग्दै तत्कालको सुचना काँचो हुने भन्दै निर्णय परिपक्व भएपछि मात्र जानकारी दिने उल्लेख गरे । 

मन्त्रिपरिषदले गरेको निर्णय तत्काल बाहिर नचुहाउन समेत सम्पूर्ण मन्त्रीहरुलाई सचेत गराइसकेको मन्त्री बास्कोटाले जानकारी दिए । उनले भने– ‘हाम्रो सुचना लुकाउने नियत हैन, लेख्न गज्जबले पाइन्छ, सत्य–तथ्य, प्रमाणिक कुराहरु लेखिदिनुस, सरकारले चाहेको पनि त्यही हो, आलोचना पनि मज्जाले गर्न पाइन्छ ।’ उनले आजको मन्त्रिपरिषदको बैठकले पनि कुनै नियुक्ति सम्बन्धी निर्णय गरेको बताउँदै थाहा पाएर लेख्न सुझाव दिए । उनले मन्त्रिपरिषदको निर्णय सार्वजनिक नगरिकन कसरी थाहा पाउँछन् आफूले खोजी पत्रकारिता हेर्न खोजेको उल्लेख गरे । 

उनले भने– ‘कुनै पनि निर्णय गर्दा २४ घण्टासम्म त्यो निर्णय परिपक्व हुँदैन, २४ घण्टा नपुगी निर्णय सार्वजनिक गर्दा त्यो निर्णयमाथि जुन मन्त्रालयले प्रस्ताव पेश गरेको थियो, त्यसलाई फिर्ता लिन वा त्यसमा अरुनै किसिमले संशोधन गर्न आवश्यक पर्यो भने बाहिर गइसकेपछि सरकारलाई त्यो मौका हुँदैन । त्यो एउटा कच्चा काम जस्तो पनि हुन जान्छ, कतिपय विषयहरुमा भएको पनि छ । हामीले सुचनालाई छेक्ने, थुन्ने भन्दा पनि व्यवस्थित गरौँ भन्ने उद्धेश्यले मात्र यस्तो व्यवस्था गरिएको हो ।’

मन्त्रिपरिषदको निर्णयसम्बन्धी सुचना ब्यवस्थित ढंगले दिनका लागि पनि साप्ताहिक रुपमा पत्रकार सम्मेलन गरिन लागेको उनले बताए । साथै विभिन्न विषयगत मन्त्रालयका प्रवक्ताले पनि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिने ब्यवस्था मिलाईएको छ । साप्ताहिक रुपमा नियमित भेटघाट हुँदा सरकारको विषयमा उठेका प्रश्नको प्रवक्तालेनै जानकारी दिने र अन्य सम्बन्धित मन्त्रालयको बारेमा पनि सहि सुचना दिन प्रवक्ताहरुलाई बोलाउने जानकारी दिए । 

उनले डिजिटल माध्यमबाट पनि सरकारी सुचना दिने व्यवस्था गर्न लागेको पनि जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप