बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी भाँडियो नयाँ शक्ति र फोरमबीचको एकता

सोमबार, ०९ साउन २०७४, १३ : ०७
सोमबार, ०९ साउन २०७४

काठमाडौं–डा.बाबुराम भटराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वका संघीय समाजवादी फोरम नेपालबीचको एकीकरण प्रकृया अन्तिम चरणमा आएर रोकिएको छ । अब तत्कालका लागि एकीकरण नहुने देखिएको छ । 


एकीकृत पार्टीको नाम, झाण्डा, चुनाव चिन्ह, विधानलगायतको विषयमा टुंगो लगाएपनि अध्यक्ष तथा संयोजकको कार्यविभाजनमा कुरा नमिलेपछि एकीकरण प्रकृया भाँडिएको बताइएको छ ।


यस्तो थियो सहमति 
नेपालमा विभेदको अन्त्य गर्ने, समतामूलक समृद्धिका लागि समाजवाद निर्माण गर्ने तथा उत्पीडित राष्ट्रियताका लागि संघीयता निर्माण गर्नुका साथै संघीय समाजवाद पार्टीको माग दर्शन हुने दुई दलबीच सहमति भएको थियो भने यी माग दर्शनलाई पूरा गर्नका लागि पाँच आधार पनि तय गरिएको थियो । स्वाधीनता, सुशासन, समतामुलक समृद्धि, संघीयता र पहिचान तथा सम्मुनत समाजवाद गरि पाँच आधार तय गरेको थियो । 


पार्टीको सिद्धान्त, विचार नाम, झण्डालगायतको विषयमा कतै विवाद छैन । पार्टीका लागि तीनवटा नाम आएको छ । 


नयाँ संघीय फोरम, नयाँ समाजवादी फोरम र संघीय नयाँ शक्ति फोरम नेपाल गरी तीन नाम रहेको छ ।  जसमध्ये संघीय नयाँ शक्ति फोरम नेपाल हुने लगभग तय नै भएको फोरम नेपालका एक नेताले बताए । 


सामूहिक नेतृत्वमा पार्टी चलाउने  र त्यसका लागि उपेन्द्र यादव अध्यक्ष र बाबुराम भट्टराई संयोजक रहने पनि तय भएको थियो । 


दुवै जनाको कार्यविभाजन पनि भइसकेको थियो ।  फोरम नेपालका ती नेताका अनुसार कार्यकारी अध्यक्ष उपेन्द्र यादव नै बाबुरामको भूमिका पनि हालको संयोजकको जस्तै रहने सहमति भएको थियो । 


उनले भने, ‘बाबुरामजी पनि केन्द्रीय कार्यसमिति संयोजक हुनुहुने र  उपेन्द्र यादवजी केन्द्रीय समितिको अध्यक्ष हुने सहमति भएको थियो । तर बैठकको अध्यक्षता उपेन्द्र यादवले नै गर्ने सहमति बनेको उनको भनाई छ । 


 पार्टीभित्र हुने लेखा परिक्षण समिति, अनुसाशन समिति, कार्यकारणी समिति, संसदीय समिति, राजनीतिक समितिलगायत विभिन्न समिति तथा आयोगहरु संयोजककै मातहतमा हुनेछ । एक नेताले भने, ‘दुवैजनाको कार्यविभाजन हेर्दा संयोजक बाबुराम भट्टराईको अधिकार कम हुने थिएन तर बराबरीको हैसियत जस्तो देखिन्थ्यो  । कुनै प्राविधिक शब्दहरुमा कुरा नमिलेको हुनसक्छ ।’


बाबुरामको अड्को उपेन्द्रको अस्विकार
डा.बाबुराम भट्टराई संयोजक, उपेन्द्र यादव अध्यक्ष र अशोक राई वरिष्ठ नेता रहने गरि वरियताक्रम मिलाइएको थियो । तर, हिजो आइतवार साँझ भएको छलफलमा डा.भट्टराईले संयोजकको अधिकार पनि अध्यक्ष सरह नै हुने प्रस्ताव गरेपछि उपेन्द्र यादवले त्यसलाई अस्वीकार गरे । नयाँ शक्ति नेपालका एक नेताले भने, ‘दश वर्ष जनयुद्ध हाँकेर आएका, देशका प्रधानमन्त्री भइसकेका व्यक्ति सेरिमोनियल बस्न सक्दैन, उपेन्द्रजीलाई अध्यक्ष मानिसकेपछि बाबुरामजीलाई पनि अधिकार सम्पन्न संयोजक बनाउनुपर्छ ।’


तर फोरम नेपालको तर्क फरक छ । फोरम नेपालका एक केन्द्रीय नेताले भने, ‘डा.भट्टराईलाई पार्टी वरियाताक्रममा सबभन्दा माथि राखेर त्यत्रो सम्मान दिएको छ, अब के चाहियो उनलाई ? अध्यक्ष भएपछि संयोजक कहिले पनि कार्यकारी अधिकार सम्पन्न हुँदैन,  संयोजक र अध्यक्ष दुवैलाई कार्यकारी अधिकार दियो भने संगठनभित्र एउटा द्धन्द जहिले पनि कायम नै रहन्छ ।’


पार्टीभित्र पदको बाँडफाँड आधा आधा हुनुपर्ने कुरा पनि डा.भट्टराईले उठाएका छन् । हरेक कुरामा आधाको भागेदारि नयाँ शक्ति नेपाल हुने भनेपछि उपेन्द्र यादव झस्केका हुन् । आफूले तीन चारवटा पार्टीसँग एकीकरण गरेर यो पार्टी बनाएको भन्दै नयाँ शक्तिलाई आधा भाग दिन नसकिने यादवको तर्क छ ।  यसो त नयाँ शक्तिमा उपेन्द्रललाई अध्यक्ष मान्ने सवालमा केहि  नेताहरुले असन्तुष्टि पोखेपनि नयाँ शक्तिमा खटपट समेत सुरु भएको बताइन्छ । आइतबारमात्रै नयाँ शक्तिका युवा नेता सुशील खड्कालगायतले यादवलाई एकीकृत पार्टीको अध्यक्ष मान्न नसकिने भन्दै सो अवस्था आए  विद्रोह गर्ने चेतावनी दिएका थिए । 

के भन्छन् नेताहरु ?
नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य रामकुमार शर्माले उपेन्द्र यादवको संकीर्ण सोचका कारण हाललाई एकीकरण रोकिन पुगेको आरोप लगाए । 
शर्माले भने, ‘उपेन्द्र यादवको संकीर्ण  सोचका कारण पार्टी एकीकरण हुन सकेन, सबै कुरा मिलिसकेको थियो ।  अन्तिममा आएर अध्यक्ष र संयोजकमा कुरा नमिलेपछि एकीकरण भाँडिएको हो ।’ देशमा एउटा वैकल्पिक शक्तिको सम्भावना बढिसकेको थियो तर कुन शक्तिले कहाँबाट खेलिदियो र हाललाई एकीकरण नहुने देखियो ।’


फोरम नेपालका सहअध्यक्ष एवं वार्ता टोलीका संयोजक राजेन्द्र श्रेष्ठले एकता प्रकृया भाँडियो भन्नु गलत रहेको दाबी गरे । 


 उनले भने, ‘म वार्ता समितिको संयोजक हुँ, कहाँ कसरी वार्ता भाँडियो मलाई नै थाह छैन ।  हाम्रो वार्ता जारी छ, हरेक विषयमा छलफल भइरहेको छ । ढिलो चाँडो एकीकरण हुन्छ ।’


वैचारिक, राजनीतिकलगायतका दस्तावेजमा सहमति भइसकेको भन्दै उनले केहि  प्राविधिक कुरा टुग्यांउन मात्र बाँकी रहेको बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप