बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल टेलिकम नयाँ रूपमा प्रस्तुत हुँदै

बिहीबार, २९ कात्तिक २०७५, १४ : ३९
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौँ– नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । 

नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । पछिल्लो समयमा विभिन्न प्रकारका प्याकेज खरीद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरीद गर्नका लागि यो एपबाट सहज हुने टेलिकमको भनाइ छ । 

यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरीद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिनेछ । विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जिएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सहज हुनेछ । पिनकोड राखेर वा रिचार्ज कार्ड स्क्यान  (स्क्यान एन्ड्रोइडमा मात्र हुने) गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ । 

यो एपमार्फत आफ्नो मोबाइलबाट नेपाल टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेज गिफ्ट (उपहार) दिन पनि सकिने छ । साथै रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि यही एपमार्फत गर्न सकिनेछ । कम्पनीको फेसबुकलगायतका सोसल मिडियासमेत यहीबाट प्रयोग गर्न सकिनेछ । 

प्रवक्ता वैद्यका अनुसार यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बर डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पाइनेछ । उक्त एपमा कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाको महशुलदरबारे जानकारी लिन पनि सकिने व्यवस्था गरिएको छ । 

गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि यो एप चलाउन सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप