केन्द्रीय संस्करण

स्वस्थ्य सेवाको व्यापारीकरण

person explore access_timeकात्तिक २९, २०७५ chat_bubble_outline0

      शारीरिक र मानसिक रूपले तन्दुरुस्त रहनु नै स्वस्थ्य हो । स्वस्थ्य सेवा मानिसको नैसर्गिक अधिकार हो । स्वस्थ्य नै धन हो । स्वस्थ्य दिमाग नै स्वस्थ्य शरीर हो । स्वस्थ्य समान र सबैका लागि हुनुपर्छ । स्वस्थ्य नै अन्य सम्पूर्ण क्षेत्रको परिसूचक हो । स्वस्थ्य सेवाको अपरिहार्यता र संवेदनशीलताको विषयमा यस्ता मीठा नाराहरू लाग्दै आएको धेरै भइसकेकोछ । 
   

 वास्तवमा नारा वस्तुवादी र सही छ । किनकि स्वस्थ्य मान्छेविना स्वस्थ्य समाज बन्दैन । स्वस्थ्य र न्यायिक समाजविना सम्पूर्ण उत्पादन क्रियाकलापहरू न्यायोचित ढङ्गले सञ्चालित हुँदैन । न्यायोचित उत्पादन कार्यविना समाजको सर्वाङ्गीण विकास सम्भव हुँदैन । समाजको सर्वाङ्गीण विकास भन्नु नै आम नागरिकहरूको समान र न्यायोचित हैसियत बन्नु हो । न्यायोचित हैसियतविना विकासको गतिले आम फड्को मार्दैन । न्यायपूर्ण विकासविना शान्ति र स्थिरता कायम हुँदैन । शान्ति र स्थिरताविना समृद्धि कल्पनै गर्न सकिन्न । यसकारण स्वस्थ्य सर्वाङ्गीण क्षेत्रको आधारभूत परिसूचक हो । यसमा दुई मत छैन ।

     चिकित्सा विज्ञानको इतिहास धेरै पुरानो रहेको छ । करिब दुईदेखि तीन हजार  वर्ष पहिले संसारको विभिन्न भागहरूमा जडीबुट्टीमा आधारित उपचार पद्धति थियो । दुई हजार वर्षभन्दा अघिदेखि नै भारतमा आयुर्वेदिक उपचार पद्धति विकास भएको पाइन्छ । आज पनि यो पद्धति अस्तित्वमा छ । यद्यपि सत्रौं, अठारौं र उन्नाइसौं शताब्दीमा गरिएको व्यापक खोज, अनुसन्धान र आविष्कारहरूको कारण आधुनिक स्वस्थ्य सेवाको जग खडा भएको देखिन्छ । विज्ञान र प्रविधिको अभूतपूर्व विकाससँगै आज चिकित्सा विज्ञान अकल्पनीय अवस्थामा आइपुगेको छ । यसकारण आज प्रायः अधिकांश रोगहरूको निदान सम्भव भएको छ । यो सुखद र  गौरवको विषय हो । 

     यसरी चिकित्सा विज्ञानमा भएको प्रगति र उन्नति देखेर रोमाञ्चित हुनु स्वभाविकै हो । तर यसलाई दिशानिर्देश गर्ने राजनीतिको वर्गचरित्र मुख्य विषय हुन्छ । कुनै पनि खास सामाजिक सत्ताहरूको चरित्र समकालीन राजनीतिले निर्धारण गर्छ । यो तर्क नभएर सार्वभौम सत्य हो । अर्थात पुँजीवादी राजनीतिक चरित्र हावी भएसँगै सम्पूर्ण वस्तुहरूलाई पनि व्यापारिक प्रयोजनबाट हेर्न थालियो । शिक्षा र स्वस्थ्य जस्ता मानवीय संवेदनाका विषयहरूलाई पनि व्यापारको माध्यम बनाइयो । नाफा–नोक्सानको व्यवसाय बनाइयो । वस्तुतः पुँजीवाद भन्नु नै नाफाको एकल उद्देश्यमा आधारित अर्थराजनीतिक पद्धति हो । यसले समाजको न्यायिक र गैरन्यायिक अनि समान र असमान वस्तुगत धरातललाई नजरअन्दाज गर्छ । सोलोडोलो सबैको शिक्षा, स्वस्थ्य, आवास र रोजगारी भन्दै पँहुच र स्रोतसाधन हुनेहरू बीचमा अवसरहरूको केन्द्रीकरण गरी नाफामुखी प्रतिस्पर्धा गरिन्छ । यसलाई योग्यतम र अनुकुलतमहरूको स्वार्थमा आधारित शासन पनि भनिन्छ । 

     चिकित्सा विज्ञानको अभूतपूर्व विकास भएको साँचो हो । सेवा पर्वाह व्यापक भएको पनि सत्य हो । तर यसको उपयोग समान र न्यायपूर्ण हुन नसक्नु दुर्भाग्यपूर्ण विषय हो । विश्व स्वस्थ्य सङ्गठनको प्रतिवेदन अनुसार आज पनि अफ्रिका र दक्षिण एसियामा गुणस्तरीय स्वस्थ्य सेवा पाउने र नपाउने बीच डरलाग्दो खाडल रहेको छ । करोडौँ नागरिकहरू आधारभूत स्वस्थ्य सेवा नपाएर अकालमै मरिरहेका छन् । चालिस करोड नागरिकहरू आधारभूत स्वस्थ्य सेवावाट वञ्चित छन् । यो अनुपात अफ्रिका र दक्षिण एसियामा अझ डरलाग्दो रहेको छ । बीस करोडभन्दा बढी बालबालिकाहरूले आधारभूत स्वस्थ्य सेवा पाएका छैनन् । वार्षिक एक करोडभन्दा बढी बालबालिकाहरूको मृत्य हुनेगरेको छ । प्रजनन स्वस्थ्यको कमीको कारण वार्षिक छ लाखभन्दा बढी आमाहरूको मृत्यु भइरहेको छ । यसमा पनि अफ्रिका र दक्षिण एसियामा अझ यो भयावह देखिन्छ ।

     पछिल्लो समय स्वस्थ्य जस्तो हरेक नागरिकले पाउने मौलिक अधिकारलाई निजीकरण मार्फत व्यापारीकरण, विस्तारीकरण, व्यापकीकरण र एकाधिकारीकरण गरिएको छ । यसलाई नाफा कुम्ल्याउने तातो केक बनाइएको छ । सम्पत्ति आर्जनको आकर्षक साधन तुल्याइएको छ । नाफा–नोक्सानको व्यापार ठानिएको छ । नाफा केन्द्रित हुनाले नागरिकहरूको जीवनमाथि खेलवाड गरिँदैछ । विश्वमा स्वस्थ्य क्षेत्रमा निजी लगानी दुई तिहाइ भन्दा ज्यादा रहेको छ । भारतमा झण्डै नब्बे प्रतिशत हस्पिटल र क्लिनिकहरू निजी क्षेत्रमा सञ्चालित छ । नेपालमा पनि स्वस्थ्य क्षेत्रमा निजी लगानी दिन दुई गुना रात चौगुनाको रफ्तारमा बढिरहेको छ । चौधरी ग्र्रुपले नब्बेको दशकबाट हात हालेको स्वस्थ्य क्षेत्रमा आजसम्म आउँदा पचास अरब बराबरको लगानी भइसकेको छ । निजी लगानीमा सञ्चालित दर्जनौं ठूला हस्पिटलहरूमा अस्सी प्रतिशतभन्दा बढी बिरामीको चाप रहेको छ । नाफामुखी निजी अस्पतालको सेवा चुस्तदुरुस्त र आकर्षक छ । तर सरकारी अस्पतालको गुणस्तरीयता कमजोर हुनुको साथै भद्रगोल देखिन्छ । तब महँगो हुँदाहुँदै पनि सर्वसारधरणहरू निजी अस्पतालमा उपचार गर्न विवश छन् ।

     आज नेपालमा चार सयभन्दा बढी निजी अस्पताल सञ्चालित  छन् । तर निजी अस्पतालको सेवा असाध्यै महँगो देखिन्छ । त्यसैले यसमा वस्तुतः धनाढ्यहरूको मात्र पँहुच रहेको छ । यता गरिबहरूको हकमा कि त घरबारी जायजेथा सबै बेचेर सुकुम्बासी बन्नु पर्ने बाध्यता छ भने कि त अकालमै मृत्युवरण गर्नुपर्ने देखिन्छ । स्वस्थ्य सेवा लिने र दिने सन्दर्भ वा पँहुच हुने र नहुने बीचमा अन्तर्निहित वर्गीय खाडल डरलाग्दो रहेको छ । अर्थात वर्गीय असमानताको यथार्थ तस्बिर स्वस्थ्य क्षेत्रमा व्याप्त विसङ्गतिहरूले प्रष्ट पार्छ । गरिबी र अभाव घातक मात्र नभएर अभिशाप सिद्ध भइरहेको छ । यता निरक्षरता र भौगोलिक विकटताले पनि नकरात्मक भूमिका खेलिरहेको छ । अझै पनि एक चौथाइ नागरिकहरू आधारभूत स्वस्थ्य सेवावाट वञ्चित हुनुपरिरहेको छ । 
सामन्य झाडापखाला र निमोनियाको समेत समयमा उपचार नपाई अकालमा ज्यान गुमाउनु पर्ने विडम्बनायुक्त अवस्था छ । 
 

   वस्तुतः राजनीतिले सबै कुराको निर्धारण गर्छ । तसिलका सबै सत्ताहरू राजनीतिद्वारा नै निर्देशित हुन्छ । अर्थात पुँजीवादी राजनीतिक पद्यतिमा सबै वस्तुहरूलाई नाफामूलक व्यापारिक साधनको रूपमा ग्रहण गरिन्छ । यस्तो राजनीतिक पृष्ठभूमिमा स्वस्थ्यलगायतका जनसरोकारका क्षेत्रहरूलाई व्यापारीकरण गर्नु अनौठो हुँदै होइन । यसकारण स्वस्थ्य सेवामा देखिएको असमान परिवेशको मूलभूत कारण समकालीन राजनीति नै हो ।  यस अतिरिक्त पर्याप्त स्वस्थ्य संस्था नहुनु, स्वस्थ्य सेवा र सुविधा आवश्यक्ता अनुरूप नहुनु, डाक्टर दुर्गम गाउँमा परिचालन गर्न नसक्नु अनि ग्रामीण जनता धामी झाँक्रीमा विश्वास गर्नुले पनि स्वस्थ्य सेवामा ठूलो समस्या पैदा गरेको छ । 

यसैगरी दुर्गम स्थानबाट अस्पतालको पँहुच टाढा हुनु, यातयातको अभाव, सरकारी अस्पताल सुविधा सम्पन्न नहुनु, निजी अस्पताल महँगो हुनु आम राजकीय स्वस्थ्य नीति व्यवसायीकरण र नाफा–नोक्सानमा आधारित हुनु आदि कारणहरूले गर्दा स्वास्थ्य सेवामा सबैको पहुच सुनिश्चित हुनसकेको छैन । यद्यपि यिनीहरू सहायक कारणहरू नै हुन् ।
     मुख्य कारण भनेको पुँजीवादी मूल्य अनुरूप स्वस्थ्य सेवालाई निजीकरण मार्फत व्यापारीकरण गर्नु नै हो । हाल संसारभरी स्वस्थ्य सेवालाई सम्पत्ति आर्जन गर्ने नाफामूलक व्यवसायको रूपमा विकास गरिएको छ । 
यसरी स्वस्थ्य जस्तो संवेदनशील विषयलाई व्यापारिक प्रयोजनमा उपयोग गर्नु खेदजन्य सवाल हो । यसका लागि मुख्य जिम्मेवार पक्ष निजी लगानीकर्ता वा संस्थाहरू हुँदैहोइन । यसमा पँुजीवादी शासन अन्तर्गतको उद्धार बजार अर्थतन्त्र जिम्मेवार रहेको छ । यस्तो अर्थतन्त्रमा आवरणमा सेवा भनिए पनि भित्री नाफा कमाउने रणनीति हुन्छ । अर्थात यो चौधरी ग्रुप वा कुनै अर्बपतिको निजी इच्छाले सिर्जना गरेको सवाल होइन । यो वस्तुतः राज्यको राजकीय अर्थराजनीतिक पद्धति वा चरित्रको सपाट अभिव्यक्ति हो । यस्तो नाफामुखी अर्थराजनीतिक सम्बन्धमा धनी गरिब सबै जनताको समान र न्यायपूर्ण सहभागिता असम्भव हुन्छ । 
 

    त्यसैले स्वस्थ्य, शिक्षा, रोजगारी, आवस र खाद्यसम्प्रभुता जस्ता मौलिक अधिकारहरूको ग्यारेन्टी समाजवादी अर्थराजनीतिक पद्धतिमा मात्र सम्भव हुन्छ । यसमा सामूहिकतामा आधारित सामाजिक पद्धति अङ्गीकार गरिन्छ । स्वस्थ्य संस्थाहरू राज्यको नियन्त्रण, अनुगमन र निर्देशनमा सञ्चालित हुन्छ । समग्र स्वस्थ्य क्षेत्रलाई राजकीय कमाण्डमा राखिन्छ । हरेक नागरिकहरूको स्वस्थ्योपचारको दायित्व राज्यले लिनेगर्छ । 

पुँजीवादमा जस्तो स्वस्थ्योपचार धनसम्पत्ति, भनसुन र हारगुहारमा निर्भर हुँदैन । धनीहरूले स्वदेश तथा विदेशमा गएर असाध्यै महँगोमा उपचार गर्ने र गरिबहरूले आधारभूत स्वस्थ्य सेवाविना नै मर्नुपर्ने विडम्बनापूर्ण अवस्था रहँदैन । उपचारकै कारण घरबारी लिलाम गरेर कङ्गाल बन्नुपर्दैन । यसकारण समाजवादी स्वस्थ्य पद्धति न्यायपूर्ण हुन्छ ।
 

  उदाहरणका लागि चीनमा माओले सन् १९६५ ताका ग्रामीण सहकारी स्वस्थ्य सेवा अन्तर्गत खालीखुट्टे चिकित्सकको नीति लिनु भयो । यसमा आधारभूत स्वस्थ्य तालिम लिएका हजारौं जनशक्तिलाई गाउँगाउँमा परिचालन गरिएको थियो । त्यसबेला गाउँका किसानहरू खाली खुट्टै हिँड्ने गर्थे । यही परिवेशलाई सङ्केत गर्दै माओले यो अभियानलाई पनि खालीखुट्टे चिकित्सक सेवाको सज्ञा दिनुभएको थियो । यसैको कडी अनुरूप आज पनि चीनमा डाक्टरहरूलाई गाउँ फर्क वा गाउँ केन्द्रित बनाइएको छ । यो असाध्यै प्रभावकारी भएको बताइन्छ । वास्तवमा समाजवादमा सहर भन्दा गाउँलाई प्राथमिकतामा राखिन्छ । उत्पीडक भन्दा उत्पीडित, धनीभन्दा गरिब, पहुँच र पावर हुनेभन्दा नहुने अनि आत्मनिर्भर भन्दा परनिर्भरहरूलाई उच्च प्राथमिकता दिइन्छ । परिणामतः यही प्रक्रियाको निरन्तरताबाट नै समाजवाद हुँदै साम्यवादमा सङ्क्रर्मण सम्भव हुनेगर्छ । 

    यसकारण वस्तुतः नाफामा आधारित पुँजीवादी अर्थराजनीतिक सम्बन्धलाई विस्थापन गर्नु जरुरी छ । किनभने पुँजीवादी अर्थराजनीतिमा सबै जनताका समान र न्यायिक पँहुच हुँदैन । साँचो अर्थमा यो खुल्ला प्रतिस्पर्धाको नाममा कथित योग्यतमहरूको एकाधिकार रहने शासन पद्धति हो । सबै विपन्न वर्ग, जाति, क्षेत्र र लिङ्गले पनि धनीहरूले जस्तै खाएको, लाएको, उपचार गरेको, शिक्षा आर्जन गरेको र रोजगारी पाएको देख्न चाहनु हुन्छ भने समाजवादलाई आत्मसात गर्नुको विकल्प छैन ।

अन्यथा दुःखी गरिब, शोषण र अन्याय भन्ने पदावलीहरू केवल भावनात्मक ढोंग मात्र हुनेछ । समाजवादमा मात्रै स्वस्थ्यमा राजकीय दायित्व रहन्छ । तेरोमेरो व्यापारीकरण र नाफानोक्सानको स्वार्थ हुँदैन । सामूहिकतामा आधारित न्यायपूर्ण सामाजिक पद्धति हुन्छ । स्वस्थ्य उपचारमा धनी–गरिब भएकै कारण विभेद गरिँदैन । त्यसैले स्वस्थ्य क्षेत्रमा बढ्दो नाफामुखी निजी लगानीलाई निरुत्साहित गर्दै महँगो स्वस्थ्य सेवा बन्द गरौं । समाजवादी राजकीय सामूहिक स्वस्थ्य पद्धति लागू गरौं । राज्यको दायित्व, लगानी र नियन्त्रण बढाऔं । गरिबहरू समेत वाँच्न पाउने स्वस्थ्य प्रणाली सुनिश्चित गरौं ।
   
     
     

     

     
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...