बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइन सपिङ : समय र पैसाको बचत कि बर्बादी ?

बिहीबार, २९ कात्तिक २०७५, १२ : २७
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौँ । अनलाइन सपिङको मात्र दुईवटा उद्देश्य हुन्छ, समय र पैसाको बचत । बजार गएर सामान खरिद गर्न नभ्याउनेहरू अनलाइनमा सामान खरिद गरेर आफ्नो समयको बचत गर्न चाहन्छन् । त्यति मात्रै होइन, बाहिर बजारमा भन्दा अनलाइन सपिङ स्टोरमा सामान सस्तोमा पाइने सामान्य सिद्धान्त पनि हो । किनभने अन्य थप विज्ञापन गर्न नपर्ने, ठूला ठूला सटर र पसल भाडामा लिएर सामान देखाउनु नपर्ने वा भाडासमेत तिर्नु नपर्ने हुँदा अन्य स्थान वा बजारमा भन्दा अनलाइनमा सामान सस्तोमा पाइनुपर्ने हो । 

बाहिर बजारमा भन्दा अनलाइनमा किन्दा विश्वभर नै सामानहरू सस्तो मूल्यमा पाइन्छ । त्यति मात्रै होइन, सामान चित्त बुझेन भने सामान फिर्ता गर्दा वा आफ्नो मुड चेञ्ज भएर सामान खरिद नगर्ने भएमा पनि उक्त सामान नलिन पनि सकिन्छ । र, महत्वपूर्ण कुरा त अनलाइनमा पाइने सामानको प्राइस म्याच वा प्राइस ग्यारेन्टी गरिएको हुन्छ । 

के हो प्राइस म्याचिङ वा प्राइस ग्यारेन्टी ?

उदाहरणका लागि क्यानडा, अमेरिका र मेक्सिकोमा ज्यादै चर्चित रहेको बेस्ट बाई अनलाइन सपिङ होस् वा विश्वभर नै चर्चामा रहेको अमेजन, यी दुवै अनलाइनले प्राइस म्याचिङ र प्राइस ग्यारेन्टी गराएका हुन्छन् । चीनको अनलाइन सपिङ स्टोर अलिबाबाले पनि लो प्राइस ग्यारेन्टी गरेका छन् । 

यसको अर्थ जुन सामानहरू यी अनलाइनमा राखिएका हुन्छन्, ती सामान बाहिर बजारमा भन्दा सस्तो मूल्यमा यी अनलाइनहरूमा किन्न सकिन्छ, पाइन्छ । यदि अनलाइनमा भन्दा बाहिर यी सामानहरू सस्तोमा पाएमा अनलाइनले अझ सस्तो मूल्यमा ती सामान उपलब्ध गराउने गर्छ । 

त्यसबाहेक यी अनलाइनहरूले बेला बेलामा मार्केट रिसर्च गर्दै सामानहरूको मूल्यसूची सङ्कलनसमेत गर्ने गरेको हुन्छ र बजारको मूल्यभन्दा सस्तो मूल्यमा नै यी सामानहरू उपलब्ध गराउने गरेका हुन्छन् । जसका कारण विकसित देशहरूमा अनलाइन सपिङ ज्यादै लोकप्रिय मात्रै छैन, सस्तो र भरपर्दो पनि छ । 

नेपालमा अनलाइन सपिङ
नेपालमा पनि करिब एक दशकदेखि अनलनाइन सपिङको चर्चा छ । पछिल्ला ५ वर्षमा अनलाइन सपिङले धेरै प्रगति गरेको छ । मुन्चा डटकम, क्यामु डटकम (हाल दराज डटकम डट एनपी) भाटभटेनी अनलाइन, सस्तो डिल, नेपबे, स्मार्टडोको आदि नाम चलेका अनलाइन सपिङ साइटहरू हुन् । 

अन्य देशमा जस्तै नेपालमा पनि अनलाइन सपिङ भनेपछि समय र पैसाको बचत सर्वमान्य सामान्य सिद्धान्त हो । बजार जान समय नहुनेहरू र सस्तो मूल्यमा सामान पाइने भन्दै अहिले नेपालमा पनि अनलाइन सपिङ गर्नेहरूको सङ्ख्या धेरै छ । 

बजारमा दराजको ‘ब्याड ब्रान्डिङ’

पछिल्लो दिनमा व्यापक प्रचार प्रसार गर्दै मेगा सेल डे मनाएको दराज अनलाइनको चर्चा चुलिएको छ । दराजको चर्चा यसकारण चुलिएको छ कि अधिकांश उपभोक्ताले दराजले ठगी गरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । दराजले बिक्रीमा राखेको सामानको प्राइस ग्यारेन्टी नभएको, अधिकतम बिक्री मूल्य बढाएर देखाएको र त्यसमा डिस्काउन्टको नाटक गरेको भन्दै उपभोक्ताहरू दराजमाथि खनिएका छन् । मेगा डिल वा मेगा सेलका नाममा दराजले पुराना, थोत्रा सामग्री बिक्री गरेको र पैसा पनि बजारमा पाइने मूल्यभन्दा धेरै बढी लिएको आरोप लागेको छ ।

दराजको मेगा डिल : यसरी ठगिए उपभोक्ता

हुन पनि चीनको ठूलो अनलाइन सपिङ स्टोर अलिबाबाको दक्षिण एसिया संस्करण दराजले नोभेम्बर ११ अर्थात् ११.११ लाई वर्षकै सेल डेको रूपमा मनायो । त्यसो त अलिबाबाले आफ्नो सबै देशमा रहेका अनलाइन सपिङ स्टोरमा नोभेम्बर ११ लाई सेल डेका रूपमा मनाएको थियो । मलेसिया, सिङ्गापुर, थाइल्यान्ड आदि देशमा रहेको सबैभन्दा ठूलो अनलाइन लाजडामा पनि अलिबाबाले नोभेम्बर ११ लाई सेल डे मनायो । 

नेपालमा पनि ११.११ का नाममा दराजले ८० प्रतिशतसम्म छुट दिने भन्दै मेगा सेल डे मनाउने भन्दै व्यापक प्रचारप्रसार गर्यो । 

जब नोभेम्बर ११ अर्थात् ११.११ आयो, दराजको वेभसाइटमा राखिएको सामानको मूल्य एकाएक बढाइयो । वास्तविक मूल्य वा बजार मूल्यभन्दा धेरै महँगो एमआरपी राखी त्यसमा हेभी डिस्काउन्ट दिइएको नाटक गरियो । त्यति मात्रै होइन, दराजमा बिक्रीमा राखिएका अधिकांश सामानहरू बजार मूल्यभन्दा धेरै महँगो रहेको पाइएको छ । अझ अधिकतम बिक्री मूल्य प्रिन्ट नभएको वा बजारमा त्यति धेरै नपाइने सामानको मूल्यमा दुई गुणासम्म बढीमा बिक्री गरिएको छ । 

उदाहरणका लागि ट्रान्ससेन्डको १ टेराबाइटको यो एक्सटर्नल हार्ड डिस्कको मूल्य हेरौं । दराजले मेगा डिल भन्दै १ टेराबाइटको यो हार्ड ड्राइभको मूल्य १३,५०० राखेको छ । मेगा डिल नहुँदा यो हार्ड ड्राइभको मूल्य कति हो केही भनिएको छैन । 

अब यसको बजार मूल्यतर्फ लागौं । न्युरोडको मुन्चा हाउसभन्दा केहीभित्र डिजिटल कर्नर नाम गरेको एउटा पसल छ । कम्प्युटरको पार्टस पाइने यो पसलमा खुद्रा तथा होलसेल गरी दुवै सामान किन्न पाइन्छ । कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायत कम्प्युटरसँग सम्बन्धित सबै सामान पाइने यो पसलले ट्रान्ससेन्डको १ टीबी (टेराबाइट)को यस हार्ड डिस्कलाई जम्मा ७,१०० मूल्यमा बिक्री गरिरहेको छ । 

बजारमा जम्मा ७ हजार १ सय रुपैयाँमा पाइने एउटा इक्सटर्नल हार्ड डिस्कको मूल्य दराजमा कसरी १३ हजार ५ सय पुग्यो ? यो मेगा सेल हो कि मेगा झेल हो ?

अब अर्को सामानको मूल्य पनि कम्पेयर गरेर हेरौं । 

दराजको अनलाइन पोर्टलमा क्याननको ५० एमएमको क्यामेरा लेन्सलाई २२ हजार रुपैयाँमा बिक्रीमा राखिएको छ । यो पनि दराजले मेगा सेलमै राखेको मूल्य हो । 

अब नेपाली बजारमा क्याननको यो ५० एमएमको एसटीएम लेन्सको मूल्य कम्पेयर गरौं । विशालबजार नजिकै न्युरोडमा रहेको लिंक क्यामेराले क्याननको सामानहरू बिक्री वितरण गर्दै आइरहेको छ । लिंक क्यामेराले क्याननको ५० एमएमको यही लेन्सलाई जम्मा १२ हजार ५ सय रुपैयाँमा बिक्री गरिरहेको छ । समय र पैसाको बचत गर्न भन्दै अनलाइन सपिङ गर्नै खोज्ने नेपालीहरूले दराजबाट यो सामान किन्दा ९ हजार ५ सय रुपैयाँ बढी रकम तिरिरहेका छन् ।

दराजमा राखिएका एकाधबाहेक अधिकांश सामानको मूल्य बजार मूल्यभन्दा धेरै महँगो रहेको देखिन्छ । सामानको बजार भाउ थाहा नभएका ग्राहकलाई ठगी गर्नकै लागि दराजको अनलाइन स्टोरमा बिक्रेताले सामान बेचेको कुरामा दुईमत छैन । तर दराजले मूल्य नियन्त्रण गर्न नसक्दा दराजबाट सस्तो वा छुट पाउनेभन्दा पनि लुटिने ग्राहकको सङ्ख्या बढी छ ।

दराजप्रति ग्राहकको असन्तुष्टी

बुधबार रातोपाटीमा दराजबाट उपभोक्ता ठगिएको बारे समाचार सामग्री प्रकाशन भएपछि धेरै पाठकहरूले रातोपाटीलाई सम्पर्क गर्दै दराजले आफूहरूलाई ठगेको गुनासो गरेका छन् । अधिकांश ग्राहकले दराजको सामान बजार मूल्यभन्दा धेरै महँगो भएको प्रतिक्रिया दिएका छन् भने केही ग्राहकले दराजले फिर्ता गरेको सामानको रिफन्ड नगरेको त केहीले पहिले भनेको भन्दा बढी मूल्य लिएको प्रतिक्रिया दिएका छन् ।

सञ्जय लामिछाने नाम गरेका ग्राहकले आफूलाई दराजले ठगी गरेको प्रतिक्रिया दिएका छन् । दराजमै ६ सय ९९ रुपैयाँमा पाइने पाइडुको घडीलाई आफूले १ हजार १ सय रुपैयाँ तिरेको प्रतिक्रिया दिएका छन् ।
त्यसैगरी पुस्कल पुष्कर थापाले ‘मेगा डिल ! बिचरा हामी सोझा नेपाली भन्दै दराजको ठगीको बारेमा लेखेका छन् । 

रिफन्ड नै नभएको गुनासो

आफूले किनेको सामान राम्रो वा गुणस्तरको नभएमा, सामान टुटफुट भएमा वा भनेको भन्दा अर्कै सामान पठाएमा उक्त सामान फिर्ता गर्न सकिने व्यवस्था दराजले गरेको छ । भनेको भन्दा अर्कै सामान आएपछि काठमाडौंका किरणकुमार कोजुले दराजबाट किनेको उक्त सामान फिर्ता पठाइदिए । दराजले फिर्ता गरेको सामानको पैसा बैङ्क खातामा हालिदिने बतायो र बैङ्क अकाउन्टसमेत माग्यो । आफूले सामान फिर्ता पठाएको २ महिना बितिसकेपछि दराजले फिर्ता गरेको सामानको पैसा आफूलाई फिर्ता नगरेको गुनासो गरेका छन् । 

बुकिङ नै क्यान्सिल गरेर बढी मूल्यमा बिक्री

दराजले नोभेम्बर ११ लाई मेगा सेल डे मनाउने भनी व्यापक प्रचार प्रसारसमेत गरेपछि बालुवाटारमा काम गर्ने एकजना सरकारी कर्मचारी टेकनाथ पोखरेलले एउटा फोनको बुकिङ गरे । 

पोखरेलले जीओमीको पोकोफोन एफ वान मोबाइलको बुकिङ नोभेम्बर ११ मा ११ बजेपछि गरे । बुकिङको समयमा उक्त मोबाइल फोनको मूल्य ३० हजार २ सय ४९ रुपैयाँ भनियो । बुकिङको समयमा उक्त फोनको अधिकतम बिक्री मूल्य ३३,९९९ राखियो र त्यसमा कार्ट रुल डिस्काउन्ट ३ हजार तथा ८ सयको क्यास भौचरसमेत दिइयो । यो सबै शुल्क घटाउँदा यो फोन जम्मा ३० हजार २ सय ४९ रुपैयाँमा आउने भयो । 

तर अपरान्ह ३ बजेतिर दराजले यो फोनको बुकिङ क्यान्सिल गरिदियो । ‘टेक्निकल्ली इरर’ भएको र मूल्य अन्तर परेको भन्दै दराजले पहिलेको बुकिङ क्यान्सिल गराउँदै फोनको मूल्य बढाएर ३६,९९९ पुर्यायो । अनि यो मूल्यमा ३ हजारको भौचरको घोषणा गर्दै ५० रुपैयाँ डेलिभरी चार्ज जोडेर ३४ हजार ४९ रुपैयाँ बनाइयो । 

खासमा बिक्रेता वा दराजले डिस्काउन्ट वा भौचरको जति नाटक गरे पनि यो फोनको बिक्री मूल्य ३४ हजार नै पुर्याइयो । पहिलेको बुकिङ क्यान्सिल गरेर बिक्री मूल्य बढाइयो र त्यसमा छुट दिएको भन्दै बुकिङ गरेको भन्दा ४ हजार बढी शुल्क लिएर दराजले उक्त फोन बिक्री गर्यो । 

के छ यस्तो समस्यामा अन्तर्राष्ट्रिय प्राक्टिस ?

त्यसो त कहिलेकाहीँ सिस्टममा समस्या नआउने भने होइन । केही वर्षअघि छिमेकी देश भारतमा एक युवाले एक अनलाइन स्टोरमा जम्मा ६ हजार भारतीय रुपैयाँ आइफोन फाइभ एस बुकिङ गरे । जब कि त्यति बेला उक्ता आइफोनको बिक्री मूल्य ६० हजार भारु थियो । ती युवाले ६ हजारमै आइफोन बुकिङ गरे पनि उक्त अनलाइनले सो मूल्यमा आइफोन उपलब्ध गराएन । बरु सिस्टममा समस्या आएको भन्दै पन्छिन खोज्यो । 

तर यही विषय लिएर ती युवा अदालतमा गए । अदालतले ‘डिल’ भएको मूल्यमा नै आइफोन उपलब्ध गराउन अनलाइन सपिङ सेन्टरका नाममा आदेश जारी गर्यो । अनि ती युवाले सस्तो मूल्यमै आइफोन पाएका थिए । 

तर नेपालमा भने दराजले आफै बुकिङ क्यान्सिल गराउँदै अर्को बुकिङ गर्न लगायो र ४ हजार बढी मूल्य लिएर जीओमीको पोकोफोन एफ वान बिक्री गर्यो ।  

अनलाइन सपिङ जोखिमतिर !

त्यसो त दराज मात्रै होइन, नेपालमा अनलाइन सपिङका नाममा अन्य अनलाइन सपिङ स्टोरबाट पनि ग्राहकहरू पीडित बनेका छन् । अहिले अमेजनका सामान नेपालमै डेलिभरी दिने भन्दै विसकार्ट (Wishkart Nepal) नाम गरेको एउटा अनलाइन स्टोर छ । विसकार्टले अमेजन इन्डियाको सबै सामान नेपालमा डेलिभरी दिने भन्दै विज्ञापन गरेको छ । 

अमेजनको सामान नेपालमै पाउने भएपछि तौलिहवा कपिलवस्तुका नरेश महराले विसकार्टमार्फत् किचन चिम्नी पाइप अर्डर गरे । सामान अर्डर गरेपछि विसकार्टलाई इसेवामार्फत् ३ हजार ३ सय ८० रुपैयाँ भुक्तानीसमेत गरे । 

६ सेप्टेम्बर २०१८ मा उनले सामानको अर्डर गरी भुक्तानीसमेत गरिदिए । तर एक सातामा आउने भनेको सामान लामो समयसमम पनि आएन । उनले पटक पटक विसकार्टलाई आफ्नो सामानबारे गुनासो गरे । तर विसकार्टले सामान डेलिभरी दिन सकेन । उनले सामानबापत भुक्तानी गरेको पैसा फिर्ता मागे । तर विसकार्टले न सामान डेलिभरी दियो, न त पैसा नै फिर्ता पठायो । ६ सेप्टेम्बरमा पैसा बुझाएपछि २ महिनाभन्दा बढी समय बित्दा पनि विसकार्टले सामान त दिएन नै पैसा पनि फिर्ता दिन मानेको छैन । पछिल्लो समय त विसकार्टले रिप्लाई समेत दिन छाडेको नरेशले रातोपाटीसँग गुनासो गरेका छन् ।

दराजको बचाउ गैरजिम्मेवार
यता सामाजिक सञ्जालदेखि मिडियासम्ममा दराजबाट उपभोक्ता लुटिएको बारे गुनासो र समाचार आएपछि दराजले आफ्नो बचाउ गर्ने कोशिश गरेको छ । दराजले बुधबार रातोपाटीसँग कुरा गर्दै सामानको मूल्य सस्तो वा महँगो हुनुमा दराजको कुनै हात नरहेको स्पष्ट पारेको थियो । दराजको अनलाइन स्टोरमा बिक्रीमा राखिएको सामानहरू दराज आफैले खरिद वा बिक्री नगर्ने भएकाले प्राइस म्याच वा प्राइस ग्यारेन्टी गर्न नसक्ने भन्दै मिडिया र उपभोक्ताले त्यो कुरा बुझ्नुपर्ने बताएको थियो । 

दराज एउटा प्लेटफर्म मात्रै भएको र त्यहाँ बिक्रेता आफैले मूल्यसहित सामान बिक्रीमा राख्न सक्ने र त्यसबापत दराजले निश्चित प्रतिशत कमिसन मात्रै लिने गरेको बताएको थियो । एउटै सामानको पनि मूल्य फरक फरक हुनुमा बिक्रेतापिच्छे फरक मूल्य हुनसक्ने स्पष्टीकरण दिएको थियो । 

तर बुधबार रातोपाटीमा दराजको स्पष्टीकरण प्रकाशित भएपछि ग्राहकले भने दराजको अभिव्यक्ति गैरजिम्मेवार भएको प्रतिक्रिया दिएका छन् । यो सबैको जिम्मेवारी दराजले लिनुपर्ने भन्दै प्राइस म्याचिङ वा कन्ट्रोलको जिम्मेवारी पनि दराज आफैले लिनुपर्ने भन्दै उपभोक्ताले आक्रोश जनाएका छन् ।

यसरी फस्यो दराज
पहिलेको क्यामुले बजारबाट मूल्यसूची लिई आफै अनलाइनमा राख्ने र निश्चित नाफा लिएर आफैले बेच्ने गरेको थियो । तर क्यामुलाई अलिबाबाले किनेर दराज बनाइसकेपछि अहिले दराज आफैले सामान बिक्री गर्ने काम गर्दैन । दराजले पनि विभिन्न तेस्रो बिक्रेता प्रयोग गरी सामान बिक्रीका लागि प्लेटफर्म दिने र त्यसबापत निश्चित प्रतिशत कमिसन लिने गर्छ ।

तर दराज कहाँ कमजोर रह्यो भने मेगा डिल वा मेगा सेल भन्दै गर्दा त्यसभन्दा पहिले सबै सामानको एमआरपी वा अधिकतम बिक्री मूल्य बिक्रेताबाट लिनुपथ्र्यो । बिक्रेताबाट लिइएको मूल्यको प्राइस म्याच र प्राइस कम्पेयर गराउने काम पनि दराजकै थियो । तर दराजले यी दुवै कुरामा कुनै ध्यान दिएन । बरु धेरै सामान बिक्री गरी बढी कमिसन लिने विषयमा दराजको ध्यान केन्द्रित रहँदा दराजले उपभोक्ताबाट तालीभन्दा बढी गाली खानुपर्यो ।

नेपालमा भर्खरै मात्र अनलाइन सपिङ मौलाउन थालेको छ । उपभोक्तामा अनलाइन सपिङबारे चाख बढ्न थालेको छ । तर समय र पैसाको बचत हुनुपर्ने अनलाइन सपिङमा यतिबेला समय र पैसाको बर्बादी मात्रै भएको छ । यी तथ्य र प्रमाणले नेपालमा अनलाइन सपिङ सरल, सहज र सस्तो होइन, जटिल र झनै महँगो छ भन्ने तथ्य दर्साइरहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप