शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कृषिबाट एउटै घरमा वार्षिक २२ लाख आम्दानी

बिहीबार, २९ कात्तिक २०७५, ११ : ३०
बिहीबार, २९ कात्तिक २०७५

 बुटवल–कानमा मुन्द्रा, झपक्क दाह्री, कपडा पनि रफ, जसलाई नचिन्नेहरु पकेटमारा वा अपराधिक गिरोहको नाईके पो होकी भनेर त्रसित हुन्छन् । जब उनलाई जसले नजिकबाट चिन्छ तब उनीजस्तो मृदुभाषी, सहयोगी, मेहनती र आत्मीय भनेर बुझ्छ ।

उनी हुन् गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ९ अर्लाङगकोट ददल्का गाउँका २८ बर्षीय सुधन खरेल । 

जसलाई स्थानीयले सुन्तलावाला भनेर चिन्छन् । उनको फेसबुक आईडी नै छ सुन्तलावाला नामको । परम्परागत खेतीबाट राम्रो आम्दानी नहुने देखेपछि सुधनले केही बर्षअघि कोदो र मकै फल्ने बारीमा सुन्तला र अदुवा रोप्ने सोँच बनाए ।

तर सुधनका बाबु टिकानिधी र माता विष्णुदेवीलाई छोराको काम उट्पट्याङ लाग्यो । घरकै परिवारले नपत्याएपछि छिमेकीको साथ हुने कुरै थिएन । यद्यपी सुधनलाई कृषि कर्ममा साथ दिएका थिए उनका जेठा दाजु कृष्णप्रसादले ।

दाइको साथ पाएपछि सुधनले आफ्नो बारीमा ब्यवसायीक सुन्तला र अदुवा खेतीलाई थप निरन्तरता दिए । कृष्णप्रसाद एक समय गुल्मीमा अगुवा कृषकका रुपमा पहिचान बनाएर धेरै संघ संस्थाबाट पुरस्कृत पनि भए । उनी अहिले शिक्षक पेशामै छन् ।

कमाईका हिसावले शिक्षक पेशाका र जापानमा रहेका अर्का दाजुलाई समेत पछाडि पार्न सफल भएका छन् सुधन । सुधनले परम्परागत उब्जनीको तुलनामा आठगुना बढि आम्दानी गर्न थालेपछि हिजो नपत्याउने बाबुआमा पनि अहिले सुधनसँगै खेतीपातीमा रमाउन थालेका छन् ।

सुधनको बारीमा अहिले पहेंलपुर सुन्तला र अदुवाका चाका छन् । घरमै ट्रक मगाएर सुन्तला लोड गर्न र बेच्न व्यस्त छन् सुधन ।  २०६७ सालमा एसके एग्रिकल्चर नामक कृषि संस्था दर्ता गरेका सुधन अहिले गुल्मी, बाग्लुङ्ग , पोखरा  र बुटवलसम्म सुन्तला ब्यापारीका रुपमा परिचित छन् । 

अदुवा खेतीबाट उनले बार्षिक चार लाख सम्मको कारोवार गर्छन् भने सुन्तलाबाट बार्षिक २२ लाख सम्मको कारोवार गर्छन् । आफ्नो उव्जनी खेर जान नदिन उनले घरमै चिस्यान केन्द्र स्थापना गरेका छन् ।
जसले गर्दा उनले फाएका सुन्तला लामो समयसम्म विग्रदैनन् । सबै खर्च कटाएर बर्षमा कम्तीमा १० लाख  नाफा गर्ने सुधनलाई दाजुले जापान आउन पटकपटक प्रस्ताव राखेपनि दाजुको प्रस्ताव स्वीकार गरेनन् । 

आफ्नै कमाइले सुधनले गाउँमै पक्की घर बनाएका छन् । टेलिभिजन, ईन्टरनेट सबै सुविधा घरमै उपलब्ध छन् सुधनका । पहाडको विचमा रहेको ददल्का गाउँ सुन्तला पाकेपछि थप सुन्दर बनेको छ ।

‘यसरी नै हरेक युवा र उनका परिवारले ब्यवसायीक तरकारी, सुन्तला र अन्य खेतीमा पौरख गर्नसके समृद्धिका लागि सरकारको मुख ताक्नै पर्दैन’ सुधन अरुलाई पनि सुझाव दिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप