बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२२ वर्षे युवक जसले चुम्बन गर्दा जान्छ ज्यान

बिहीबार, २९ कात्तिक २०७५, १० : ३०
बिहीबार, २९ कात्तिक २०७५

एली कास्टेलो र क्रिस्चिन हिगेल /बीबीसी

मानिसहरु आफ्नो पहिलो चुम्बनका लागि उत्साहित र उत्सुक हुन्छन् । तर एक व्यक्ति यस्ता पनि छ जसका लागि चुम्बन गर्नु मृत्युलाई निम्तो दिनुसरह हो ।

ब्रिटेनको सरीमा बस्ने ओली वेदरालका लागि उनको एलर्जी एउटा ठूलो समस्या बनेको छ । यसका कारण उनी बाहिर खाना खान सक्दैनन् । साथीहरुसँग छुट्टी मनाउन बाहिर जानुअघि अनेकौं कुरा सोच्नुपर्छ ।

यहाँसम्म कि कुनै व्यक्तिसँग व्यक्तिगत सम्बन्ध स्थापित गर्नका लागि उनले निकै सावधानी अपनाउनुपर्छ ।

२२ वर्षका ओली वेदराललाई बदामसँग एलर्जी छ ।

यो एलर्जीका कारण बाल्यकालमा उनको स्वास्थ्य यति बिग्रिएको थियो उनलाई अस्पतालमा नै भर्ना गर्नुपरेको थियो ।

ओलीका अनुसार एलर्जीका कारण उनको थुक यति गाढा भएको थियो कि उनलाई सास फेर्नसमेत समस्या भइरहेको थियो । त्यसबेला देखि उनको जीवनमा ठूलै परिवर्तन आएको छ ।

ओली वेदरालले बीबीसी रेडियो वान न्यूजबीटलाई आफ्ना समस्या, एलर्जी र आफ्नो लडाईंबारे जानकारी दिएका छन् ।

जब खाए पिनट बटरः

ओली भन्छन्, ‘पिनट बटर खाएपछि  पहिलो पटक अस्पताल जाँदाको अनुभव सबैभन्दा भयानक थियो ।’

आफ्नो शरिरमा के भइरहेको थियो उनलाई थाहा थिएन । तर उनको छाला सुन्निएको थियो र उनी रातो भइरहेका थिए ।

मानिसहरु सोच्ने गर्छन् कि जुन कुराको एलर्जी छ, त्यसलाई खान छोडिदिए स्थिती सामान्य हुन्छ । तर ओलीका लागि यो त्यति सजिलो थिएन ।

उनी बदाम खान त छोड्न सक्थे तर कुनै पनि सामानमा यसको अलिकतिको प्रयोगले मात्र पनि उनको ज्यान जान सक्थ्यो ।

यहाँसम्म कि उनी कसैलाई चुम्बनसमेत गर्न सक्दैनन् । यदि उनी अगाडि कसैले बदाम खाइरहेका छन् भने पनि त्यो उनका लागि खतरा हुनसक्छ ।

ओली भन्छन्, ‘यसकारण मानिसको ज्यानसमेत जान सक्छ । यो एउटा ठूलो जोखिम हो । जसलाई यस्तो एलर्जी छैन उनीहरुले यसको खतराबारे सोच्नसमेत सक्दैनन् । ’

‘यदि तपाईंलाई एलर्जी छैन वा तपाईंको कोही आफन्तलाई एलर्जी छैन भने तपाईंका लागि छुट्टीको योजना बनाउनु, विमानमा यात्रा गर्नु वा प्रेमसम्बन्ध स्थापित गर्न निकै सजिलो हुन्छ । तपाईं कुनै समस्याबिना नै यस्तो गर्न सक्नुहुन्छ ।’

दिमागमा खाना घुम्छः

ओली वेदराललाई बाहिर खान पनि निकै ठूलो समस्या छ । बाहिर खाएका बेला एलर्जी हुन्छ कि भन्ने डरले उनी भरसक बाहिर खानबाट बच्छन् ।

यदि ओली केही घण्टाका लागि मात्र पनि बाहिर गए सबैभन्दा पहिले उनले खानाबारे सोच्नुपर्छ ।

उनी भन्छन्, ‘त्यसकारण मेरो जीवनको धेरैजसो समय सुरक्षित खाना बारे सोच्दा नै बित्छ । म तुरुन्त कतै जान सक्दिनँ । पहिला मैले आफ्नो खानाको बन्दोबस्त गर्नुपर्छ ।’

हवाई यात्रामा समस्याः

विदेशमा छुट्टी मनाउन जानु पनि ओलीका लागि कुनै ठूलो खतराभन्दा कम छैन । हवाई जहाजमा दिइने खानाका साथै भाषा पनि निकै महत्वपूर्ण हुन्छ । यदि आफूले भनेको कुरा सम्झाउन थोरै गल्ती भयो भने पनि यसले तपाईंको ज्यान नै लिन सक्छ ।

ओली भन्छन्, ‘यदि हवाईयात्राको क्रममा एलर्जी भए मसँग एपीप्यान (एलर्जीको औषधी) भएको भए म ठिक हुन्छु भनेर धेरैले सोच्नुभएको होला । तर यस्तो हुँदैन ।’

एयरलाइन्सले चिकित्सा उपकरण र प्राथमिक उपचारका सामग्री राख्छन् तर यो आफ्नो लागि पर्याप्त नहुने उनको भनाई छ ।

‘उनी भन्छन्, ‘यदि तपाईं एपिप्यानको प्रयोग गर्नुहुन्छ भने तपाईंलाई तुरुन्त उपचारको आवश्यकता हुन्छ तर हवाईयात्रामा यस्तो हुन पाउँदैन । ’

‘त्यहाँ सुरक्षित माहौल हुँदैन । म विमानभित्र आफूलाई सुरक्षित लाग्ने खाना मात्र खान्छु ।’

‘म एउटै होटलको भिन्न ब्रान्चमा पनि खाना खान सक्दिनँ किनभने सबैतिर खाना बनाउने एउटै तरिका हुँदैन । यो निकै अचम्मको कुरा हो तर यसले पनि खतरा निम्तिन सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप