बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

शहिद परिवार भेट्न प्रचण्ड र गृहमन्त्री बादल गाउँमा

बुधबार, २८ कात्तिक २०७५, २० : ३४
बुधबार, २८ कात्तिक २०७५

बेनी । पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शहीद परिवारलाई भेट्नु भएको छ । 

पार्टी अध्यक्ष दाहाल र गृहमन्त्री थापा मङ्गला गाउँपालिका–२ सिमलचौरका शहीद परिवारकी गुमाकुमारी खड्काको परिवारलाई भेट्न पुगेका थिए । 

तत्कालीन माओवादी जनयुद्धमा होमिएर परिवारका दुई सदस्य गुमाएकी ५५ वर्षीया खड्कालाई आफ्नै गाउँमा आज मात्रै भेट्ने अवसर जुरेको हो । 

पत्नी सीता दाहालको नशासम्बन्धी रोगको तातोपानी कुण्डमा स्नान गरी उपचार गर्न म्याग्दी पुगेका नेता दाहाल र कुण्डमै स्नानका लागि पारिवारिक भ्रमणमा आउनु भएका गृहमन्त्री थापा यहाँ आएका थिए । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पार्टी सदस्य लिएका गुमाका पती नन्दबहादुर खड्कालाई २०५९ भदौ २ गते म्याग्दीकै कुहुँ र उहाँकी छोरी सिर्जनालाई २०५८ चैत १३ गते शिखमा गिरफ्तार गरी तत्कालीन राज्य पक्षबाट हत्या गरिएको थियो । 

‘जनयुद्धमा होमिएर हामीले परिवारका सदस्य गुमायौँ, मुलुक सङ्घीय गणतन्त्रमा रुपान्तरण भयो, परिवर्तनका लागि नेतृत्व गर्ने नेतालाई पहिलोपटक भेट्न पाउँदा खुशी लाग्यो,’ खड्काले भने, ‘अब जनताका लागि विकास दिन सक्नुपर्छ नेताहरुले ।’

‘हामीमाँझ शहीद परिवारका सदस्य पनि हुनुहुन्छ, परिवर्तनको निम्ति उहाँहरुको योगदान अतुलनीय छ, हामी परिवर्तनलाई संस्थागत गरेरै अगाडि बढ्छौँ’, नेकपा अध्यक्ष दाहालले भने । 

उनले लामो सङ्घर्ष र बलिदानीले मात्रै स्थानीय, प्रदेश तथा सङ्घीय गरी तीन तहको सरकारको परिकल्पनाले सार्थकता पाएको बताए । 

पार्टी एकता चाँडै निष्कर्षमा पुग्ने 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता चाँडै निष्कर्षमा पुग्ने बताउनुभएको छ । प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अब बस्ने बैठकले प्रदेश, जिल्ला र स्थानीय तहसम्म एकताको काम सम्पन्न गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिए । 
 
‘पार्टी सङ्गठनदेखि जनवर्गीय सङ्गठनको एकताबारे गृहकार्य सकिएको छ अब केही दिनमै पार्टी एकताको प्रक्रियाले नतिजा ल्याउँछ, एकताबाट दायाँबायाँ गर्नसक्ने कुनै ठाउँ छैन’, उनले भने । 

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको मुस्ताङ र चीनको सिमानामा पर्ने कोरला नाकालाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन पूर्वाधार निर्माणसँगै सरकार तथा पार्टीकातर्फबाट समेत कूटनीतिक पहल भइरहेको अध्यक्ष दाहालले बताए ।

यसअघि अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले समाजवादको बाटोमा पार्टी अघि बढ्ने र सरकारका काम कारवाही त्यसै दिशामा उन्मुख हुने चर्चा गरे । 

यस्तै म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा नेता दाहालले राज्य र व्यवसायीले एकलेअर्कालाई आफ्नो पूरक मान्ने वातावरण सिर्जना गरी उद्योग व्यवसायका क्षेत्रमा बनेका पुराना ऐन संशोधन गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकको अबको यात्रा आर्थिक विकास, समृद्धि र सुशासन कायम गर्नमा केन्द्रित हुने बताउँदै स्वदेशमै रोजगारी सिर्जना हुनेगरी लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । गत सोमबार म्याग्दी आएका अध्यक्ष दाहाल र गृहमन्त्री थापा आज काठमाडौँ फर्किएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप