बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मन्त्रिमण्डल विस्तारको तयारीमा देउवा

सोमबार, ०९ साउन २०७४, १२ : ००
सोमबार, ०९ साउन २०७४

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।  शनिबारबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार सकेर देउवाले मंगलबारसम्मा मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन् ।  यद्यपी कांग्रेसभित्र अझैंपनि मन्त्रीको भागबण्डा मिलिनसकेको बताइएको छ । 
नेता रामच्नद्र पौडेल पक्षले ‘मालदार’ मन्त्रालय खोजेपछि समस्या भएको कांग्रेस स्रोत बताउँछ । स्रोतले मंगलबार बिहानसम्म पौडेलसमूहसँग थप छलफल गरेर सहमतिमा पुगि मन्त्रिमण्डल गर्ने तयारी गरिएको छ । 


यसअघि आईतबार प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालवीच भएको भेटबार्तामा मन्त्रिमण्डल विस्तारमा भएको ढिलाईबारे छलफल भएको थियो । भेटमा अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल विस्तारमा भएको ढिलाईले आलोचना हुन  थालेको तथा गठबन्धाप्रति नै प्रश्न उठ्न थालेको भन्दै देउवाको ध्यानाकर्षण गरेका थिए । 


जवाफमा देउवाले जतिसक्दो चाडो मन्त्रिमण्डल विस्तार गर्न आफु तयार रहेको भन्दै केन्द्रीय समिति बैठक सकेलगत्तै मन्त्रिमण्डल विस्तार गर्ने जावाफ दिएका थिए । शनिबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा सोमबार पदाधिकारी र सभापतिले जवाफ दिने कार्यक्रम रहेको कांग्रेस नेताहरुले बताएका छन् । 
गत जेठ २३ गते प्रधानमन्त्री बनेका देउवाले यसअघि कांग्रेस –माओवादी र लोकतान्त्रिक फोरमलाई समेटेर आठ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । 


यसअघि गतसाता नै मन्त्रिमण्डललाई पुर्णता दिने तयारीमा रहेका देउवाले नेता रामचन्द्र पौडेल पक्षले आफुले पाउने मन्त्रालयको एकिन नभएसम्म सरकारमा सहभागि नहुने जनाउ दिएपछि मन्त्रीमण्डल विस्तारमा ढिलाई भएको थियो । पौडेललाई मनाउन देउवाले अर्थबाहेक जुन मन्त्रालय मागेपनि दिन तयार भएको बुझिएको छ । 


मन्त्रिमण्डल विस्तारमा भएको ढिलाईले राज्यले गर्नुपर्ने नीतिगत निर्णयहरु हुन सकेका छैनन् भने नयाँ कार्ययोजना बन्न नसकेको भन्दै आलोचना बढ्दै गएको छ । 
मंगलबार विस्तारः डा महत
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताए । 

उनले भने,‘स्थानीय तहका दुई चरणका निर्वाचनपछि त्यसको समीक्षाका साथै अन्य समसामयिक विषयमा केन्द्रीय समिति बैठक बस्नुपर्ने भएकाले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सो बैठकमा व्यस्त हुनु परेको हो, बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ महतको भनाई छ ‘प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको आन्तरिक गृहकार्य सक्नुभएको छ । बैठक सकिनासाथ नेपाली काँग्रेस र अन्य दलहरुलाई मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारी भएको छ ।’ नेता डा.महतले हाल सञ्चारमाध्यममा आएजस्तो कुनै आन्तरिक या अन्य विवादका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नभएको दावी गरे । 


देउवाको मंगलबारे संयोग 
पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाका लागि मंगलबार शुभबार भएको छ । मंगलबार नै प्रधानमन्त्रीमा निर्वाचित देउवाले मन्त्रिमण्डल विस्तार पनि मंगलबार नै गर्ने संयोग जुरेको छ । हुन त प्रम देउवा हालका चलनचल्तीका नेताहरुमध्ये सवैभन्दा आस्तिक नेतामध्येमा पनि पर्छन् । उनी धेरै कुरामा ज्योतिषीको सुझाव पनि लिन्छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि बालुवाटार भित्रँदा पनि देउवाले ज्योतिषिको सुझाव लिएका थिए । उनले त्यसवेला ज्योतिषिको सुझावअनुसार नै बालुवाटार सर्न १५ दिन ढिला गरेका थिए ।तर, बालुवटार भित्रँदा भने उनलाई ज्योतिषिले सोमबार झिसमिसेको समय जुराएका थिए ।  


राप्रपा देउवाको जवाफ कुर्दै 
यता सरकारमा जाने विषयमा राप्रपा सकारात्मक बनेको छ ।   प्रम देउवाले ग्रिन सिग्नल दिनेवित्तिकै राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट निर्णय गराएर सरकारमा सहभागि हुने बताइएको छ । यद्यपी देउवाले अहिलेसम्म कुनै  खबर नपठाएको एक नेताले बताए ।  संशोधनमा सघाउँदैन कि भन्ने आशंकामा सत्तारुढ दल रहेकाले राप्रपासँग सशंकित रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप