जुँगु घटनाबारे देवी खड्का : मारिने मेरा मित भाइ थिए, म त्यहाँ भएको भए जोगाउन सक्थे

person access_timeसाउन ९, २०७४ chat_bubble_outline0

स्थानीय तह निर्वाचनको पहिलो चरणमा दोलखाको जुँगुमा गोली लागेर एक जनाको मृत्यु भएको र गोली चलाउने आदेश माओवादी केन्द्रकी नेता देवी खड्काले दिएको भनेर समाचारहरू प्रकाशित भए । तर घटनापछिको ‘पोस्टमार्टम रिपोर्ट’मा मृतकको मृत्यु गोली लागेर होइन कि टाउकोमा गहिरो चोटका कारण भएको पुष्टी भयो । घटनालगत्तै प्रहरीको टोली काठमाडौँबाट घटनास्थल पुगेर ठूलै जाँच पड्ताल गर्यो तर रिपोर्ट के तयार पार्यो कसैलाई थाहा छैन । आज पनि जुँगु घटनामा वादी–प्रतिवादीका आआफ्नै दावी छन् तर वास्तविकता के हो कसैले भन्न सकेका छैनन् । त्यही घटनाकी मुख्य अभियुक्तका रूपमा किटान गरिएकी पूर्वराज्यमन्त्री तथा पहिलो संविधानसभाकी सभासद खड्कासँग रातोपाटीका लागि घटनाबारे जान्ने चेष्टा गरेका छन् नरेश ज्ञवालीले ।  


दोलखाको जुँगु घटनामा प्रमुख आरोपी भनिएको तपाईं, त्यही मान्छे हो जो हिजो नेपाल सरकारको राज्यमन्त्री पनि हुनुहुन्थ्यो । एकातर्फ राज्यको ऐन, कानुन लागू गराउने स्थानमा हुने र अर्कोतर्फ कानुनलाई नमानी भागेर लुकेर हिँड्न मिल्छ ? यो भनेको कानुनी राज्यको अवहेलना होइन ?


राम्रो र स्पष्ट प्रश्न सोधेकामा तपाईंलाई धन्यवाद । कानुनी राज्यको अवहेलना गर्ने र कानुन नमान्ने कोही पनि मान्छे अदालतको कठघरामा छ घण्टा उभिएर बयान दिँदैन । तपाईंले सोधेको प्रश्नमा सत्यको भन्दा भ्रमको गन्ध बढी छ । त्यसैले मैले भन्ने गरेकी छु, विज्ञानको त आयु हुन्छ भने भ्रमको पनि आयु हुन्छ । यो भ्रमको पर्दा च्यातिएपछि तपार्इंले सोध्ने प्रश्न पनि अलिक फरक किसिमको हुन्छ भन्नेमा म ढुक्क छु । 


कुलबहादुर तामाङ जो घटनामा मारिन पुगे मेरा मित भाइ थिए । म घटनास्थलमा हुन पाएको भए उनलाई म मारिनबाट जसरी पनि जोगाउने थिएँ, भलै मलाई जे हुन्थ्यो । तर उनी आफ्ना भनिएकाहरूबाटै मारिन पुगे, जसको मलाई गहिरो दुःख छ । म मृतकका आफन्तप्रति साहानुभूति र शोक व्यक्त गर्न चाहन्छु । जहाँसम्म तपाईंले मलाई यो घटनाको प्रमुख आरोपी भन्नुभयो त्यो कुरा सत्य हो । तर आरोपी हुनु र आरोप प्रमाणित हुनु फरक कुरा हुन् । 


अहिले हाम्रो समाज चरम राजनीतिक ध्रुवीकरणबाट गुज्रिरहेको हुनाले परिस्थिति कस्तो निर्माण भएको छ भने पशुपतिको साधुलाई पनि राजनीतिक र आर्थिक फाइदाका लागि मानिसहरू मुद्दा लगाउन पछि हट्दैनन् । तपाईंले बुझिहाल्नु हुन्छ । यस्ता कुरामा हिजो आपराधिक गतिविधिबाट राजनीतिमा प्रवेश गरेकाहरूले राजनीतिलाई धमिल्याउने र माछा मार्ने गरिरहेका छन् । उनीहरू आफ्नो आर्थिक फाइदाका लागि जसरी भए पनि शक्ति र सत्तामा बस्न चाहन्छन् । कानुनी शासन र न्यायालयको न्याय पद्धतिप्रति म पूर्ण विश्वस्त भएको हुनाले मैले न्याय पाउनेमा म ढुक्क छु । 


जसरी कुनै आधारबिना दोलखा जिल्लाका माओवादी केन्द्रका ४० जनामाथि मुद्दा चलाइएको छ । जसरी षडयन्त्र गर्दागर्दै उहाँहरूले जाहेरीमा तालमेल र कानुनी परामर्श लिन चुक्नुभएको छ । घटनाको प्रकृति र चस्मदित गवाहहरूले जसरी अदालतसामु आफ्नो बयान दिँदै हुनुहुन्छ र उहाँहरूको तर्फबाट खडा गर्नुभएको प्रत्यक्षदर्शीमा जसरी मलेसियामा रहेका समेतलाई हतार हतार सामेल गर्नुभएको छ त्यसले के देखाएको छ भने उहाँहरूले बुनेको चक्रव्युमा उहाँहरू स्वयम् पर्ने निश्चित छ । म र मेरो पार्टी न्यायालयको निर्णयप्रति पूर्ण विश्वस्त छु । किनभने हामी निर्दोष छौँ ।

घटनामा परेर जुन व्यक्ति मारिनुभयो, तपाईंको ठाडो आदेशमा मारिएको हो भन्ने विपक्षी दल एमालेको र जाहेरी दर्ता गर्ने जाहेरवालाको भनाइ छ । तपाईं घटना भएको बेलामा त्यो गाउँमा थिइन भन्दै आउनुभएको छ, तपाईं कुन गाउँमा हुनुहुन्थ्यो भन्नेले के फरक पर्छ र ?


ठीक कुरा उठाउनुभयो । घटना घट्ने बेलामा म कहाँ थिएँ र घट्ना घटाउनका लागि कसले भूमिका खेलेको थियो भन्ने कुरा जाहेरी दिने र विपक्षीहरूलाई पनि राम्रो गरी थाहा छ । जाहेरी पत्रमा घटनाबारे जसरी उल्लेख गरिएको छ, त्यसलाई आधार मान्ने हो भने उहाँले घटनालाई कसरी तोडमोड गरी रहनुभएको छ भन्ने थाहा हुन आउँछ । तपाईं जत्तिको पत्रकारले त्यो जाहेरी पत्र र घटना स्थलमा गएर एक पटक फिल्ड रिपोर्टिङ गर्नुपर्छ । अनि मात्र घटनाको वास्तविकता के हो भन्ने थाहा हुन्छ । 
जस्तै जाहेरी पत्रमा मैले हान भनेर आदेश दिएँ भन्ने कुरा र मृतकलाई घिसार्दै लगे भन्ने पनि लेखिएको छ । तर, त्यहाँका स्थानीय गवाहहरूले भने मृतकलाई सामान्य चोट लागेको तर उनीसँगै रहेका अर्का घाइतेलाई भने गम्भीर चोट लागेको कुरा अदालतसामु बताइसकेका छन् । त्यसका साथै स्थानीय स्वास्थ्य चौकीका अहेबले कुलबहादुर तामाङ (घटनाका मृतक) लाई मैले उपचार गरेर पठाएको बताएका छन् । सबै साक्षी, बयानहरू सुन्दा यो घटना निर्वाचन जित्नका लागि पूर्णरूपमा रचना गरिएको भन्ने देखिन आउँछ । 


दिउँसो ३ बजेतिर मोटर बाटो हुँदै हिँड्दै जाँदा म त्यहाँ पुगेको कुरा सत्य हो । तर चार बजे त्यहाँबाट म झ्याकु पुगेको र साँझको ६ बजे फलाँटे भन्ने ठाउँमा पुगेर पार्टीको छलफलमा रहेको कुरा त्यहाँका स्थानीयवासी तथा छलफलमा रहेका पार्टीका अन्य नेता कार्यकर्ताहरूलाई सोध्दा प्रष्ट हुन्छ । तर घटना घटेको राति पौने ९ बजे हो भन्ने सुन्नमा आएको छ । मेरो चिन्ताको विषय मलाई दोषी देखाइयो भन्ने होइन । मेरो चिन्ता भनेको मृतक जो मेरा मित भाइ थिए । उनको परिवारले न्याय पाउने कि नपाउने भन्ने हो । म त आफ्नो निर्दोषिताको प्रमाण पेश गर्दै जाउँला तर त्यो परिवारले के फेरि कुलबहादुर तामाङलाई पाउन सक्छ ?

घटना हुनुभन्दा एक महिनाअघिदेखि गाउँका २०–२५ वर्ष उमेरका युवाहरूलाई ‘टाइगर ग्रुप’ नाम दिएर जसले बियर, रक्सी र मासु खुवाइरहनु भएको थियो, उहाँको नाम माननीय पार्वत गुरुङ हो । उहाँ एमालेमा यस्ता धेरै टाइगर ग्रुप चलाउने माननीयहरूमध्ये एक हो ।


त्यसैले मैले यो घटनाभर कहीँ पनि उत्तेजित नभईकन यो सबै प्रक्रिया र षडयन्त्रको मूल कारण पहिल्याउन लागेकी छु । यो घटना घटाउने जो हो, म उसलाई न्यायको कठघरामा उभिएको देख्न चाहन्छु । म न्यायका लागि लड्दा लड्दै पूर्व राज्यमन्त्री र सभासद भैसकेकी मान्छे, न्यायको पक्षमा उभिन पर्छ भनेर लागेकी छु । मलाई मृतकको परिवारले सहयोग गरेमा यो घटनालाई पहिल्याउन र दोषीलाई सजाय दिलाउन सहयोग पुग्छ । किनभने अहिलेसम्म घटनाको वास्तविकता के हो भन्ने पनि गर्भमै छ । 


तपाईं मिडियाकर्मी साथीहरूलाई यसको सत्यतथ्य आफैले बुझेर, समाजलाई पनि स्पष्ट पार्नका लागि यो घटनाको जाहेरी, घटनाक्रम र राजनीतिक खोल ओडेर आपराधिक समूह चलाउने पात्रहरूलाई चिन्न आग्रह गर्छु । यस घटनाको चुरो कुरा जुन मैले बुझ्न सकेँ, त्यो के हो भने चुनाव जित्ने स्वार्थमा एक जनालाई उनीहरूले नै मारे । आज जो जहाँ छ र जसले जे जे गरिरहेको छ, समय आउँदा उनीहरू सबैले यो समाजलाई वास्तविकता भन्नु पर्नेहुन्छ । 

तपाईंका नजरमा घटनाको वास्तविकता के हो त ?


घटना हुनुभन्दा एक महिनाअघिदेखि गाउँका २०–२५ वर्ष उमेरका युवाहरूलाई ‘टाइगर ग्रुप’ नाम दिएर जसले बियर, रक्सी र मासु खुवाइरहनु भएको थियो, उहाँको नाम माननीय पार्वत गुरुङ हो । उहाँ एमालेमा यस्ता धेरै टाइगर ग्रुप चलाउने माननीयहरूमध्ये एक हो । युवाहरूलाई सीप सिकाउने, राजनीति सिकाउने, अध्ययनतर्फ प्रेरित गर्नेभन्दा पनि जाँड रक्सी खुवाएर आफ्नो स्वार्थपूर्ति गर्ने व्यक्तिलाई राजनीतिमा के भनिन्छ तपाईंलाई थाहा छँदैछ । 


कुनै कानुनी धरातलमा नटेकीकन ‘टाइगर ग्रुप’लाई जुँगुको माओावदीको ‘मुटु कलेजो’ निकाल्न आदेश दिने उहाँले विभिन्न कार्यक्रममा बोलेको भिडियो रेकर्डहरू तपाईं सामाजिक सञ्जालहरूमा पाउन सक्नुहुन्छ । उहाँले गलत ढङ्गले युवाहरूको प्रयोग गरेको हुनाले त्यो समूहले पहिले पनि गाउँमा बियरका बोतल हान्ने, मुखमा बियर भरेर अरूको मुखमा थुक्ने तथा विभिन्न राजनीतिक आस्था राख्नेहरूको घरमा ढुङ्गा हान्ने गरेको पहिले पनि सुनिँदै आएको थियो । 


त्यसैको फलस्वरूप गाउँका मानिसहरूले उनीहरूको प्रतिकार गरेका हुन् अथवा उनीहरूका बीच आपसमा झगडा भएको हो ? भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन । मलाई त घटना घटेपछि फोन गरेर जानकारी दिएपछि मात्र थाहा पाएकी हुँ । तर रोचक कुरा के छ भने जुन मैले अलिकति तपार्इंलाई माथि पनि भने घटनापछि घाइते भएका दुई जनालाई त्यहाँको स्थानीय हेल्थ पोस्टको अहेब कहाँ उपचार गर्न लगिएको रहेछ । जुन कुरा अहेब स्वयम्ले भनिरहेका छन् । 


उहाँको भनाइलाई आधार मान्ने हो भने दिलबहादुर बुढाथोकीलाई अलिक गहिरो चोट लागेको थियो भने कुलबहादुर तामाङ (मृतक)लाई चाहिँ सामान्य चोट लागेको थियो । सामान्य चोट लागेको हुनाले कुलबहादुर आफैले औषधी खाएर, आफैले जुत्ता लगाएर गाडीमा चढेर गएको बताएका छन् । दिलबहादुरलाई पुलिसको गाडीमा सदरमुकाम चरिकोट लगियो भने कुलबहादुरलाई छुट्टै बोलेरो गाडीमा लगियो । 


अब प्रश्न उठ्छ घटना को–कसका बीच घटेको थियो ? जसले गर्दा दिलबहादुरलाई पुलिसको गाडीमा र कुलबहादुरलाई बोलेरोमा लगियो । स्वास्थ्य चौकीमा बोली रहेको र औषधी खाइरहेको मान्छे कसरी मृतकमा परिणत भयो ? यी कुराहरू प्रहरीको अनुसन्धानमा समेत खुलेको छैन । प्रहरीले मात्र के भनेको छ भने ‘टाइगर टिम’ एउटा होटलमा बस्दै आएको थियो । त्यो होटेल लच्छु जिरेल नाम गरेकाले चलाउँछन् । जाहेरीमा लच्छु जिरेलको होटलमा घटना घटेको भनिएको छ तर प्रहरीको मुचुल्का निलकण्ठेश्वर उच्च माविको प्राङ्गणमा उठाइएको छ । 


अर्को कुरा पुलिसको घटना प्रकृति मुचुल्का र ‘पोस्टमार्टम रिपोर्ट’ लिने बेलामा मृतकको शरीरमा भएका लुगा फरक–फरक भएको मृतकको प्रहरीले नै खिचेको फोटोमा देखिएको छ । 


तपाईंको भनाइलाई आधार मान्ने हो भने एमालेका सांसद पार्वत गुरुङको नेतृत्वमा माओवादी केन्द्रलाई चुनावमा हराउन यो सबै गरियो ?


यो कुराको पुष्टि कहाँबाट पनि हुन्छ भने घटना घट्नु भन्दा ३ दिनअघिदेखि केही युवाहरू त्यो ‘टाइगर ग्रुप’सँग बस्न छोडेका रहेछन् । म उनीहरूको नाम अहिले भन्दिन तर आवश्यक परेमा सम्माननीय अदालतमा म ती नामहरू भन्न तयार छु । उनीहरू एमालेकै कार्यकर्ताहरू हुन् । तर त्यो टिमले पार्वतजीको निर्देशनमा मलाई, गङ्गा कार्की र विशाल खड्कामध्ये एक जनालाई मार्ने योजना बनाएपछि उनीहरू आफूहरूले त्यसो नगर्ने बताएपछि ‘प्लान लिक’ हुने डरमा आन्तरिक विवाद भएको उनीहरूले नै बताएका छन् । 


आवश्यक परे उनीहरू अदालतसामु पनि बोल्न तयार हुन्छौँ भनेका छन् । त्यसैले घटनाको प्रकृति, उनीहरूबीचको विवाद आदिलाई हेर्दा के लाग्छ भने यो घटना पार्वत गुरुङ माननीयले नै शक्तिको दुरूपयोग गरेर घटाएको हो । कुलबहादुर तामाङ उनीहरूबाटै मारिएका हुन् । 

एमालेका नेताहरूले माओवादीलाई नै परिलक्षित गरेर घटना घटाए भन्ने तपाईंको भनाइमा त्यति मजबुत आधार भेटिँदैन तर यससँगै तपार्इंले एमाले नेताहरूको जलविद्युतमा भएको लगानी जोगाउने साइनो घटनासँग जोडिएको बताउँदै आउनुभएको छ । तपाईंले भन्न खोजेको स्पष्ट कुरा के हो ? 


गौरीशङ्कर गाउँपालिका पुरानो सातवटा गाविस मिलेर बनेको गाउँपालिका हो । जनसङ्ख्या र मतको आधारमा जुँगु र झ्याकुको मत अरू पाँच गाविसको मत बराबर छ । तर, जुँगु र झ्याकुमा ९५ प्रतिशत माओवादी मत छ भन्ने एमालेका सबै साथीहरूलाई समेत थाहा छ । जुन कुरा त्यतिका धेरै नेता कार्यकर्ताहरूमाथि मुद्दा लगाउँदा पनि जुँगु र झ्याकुका जनताले माओवादीलाई स्थानीय तहको निर्वाचनमा विजय गराएर पुष्टि गरेका छन् । तर एमालेले त्यो गाउँपालिका नजिती नहुने बाध्यता जोडिएको थियो । किनभने ७–८ सय मेघावाटका ‘रनिङ प्रोजेक्ट’मध्ये ३ वटा पार्वतजीको आफ्नै हो । 


पहिलो, ‘हिमपर्वत हाइड्रो पावर’ अर्थात हिमाल गुरुङ उनका दाजु र पार्वत आफ्नै नाममा खोलिएको हाइड्रो पावर हो । दोस्रो, ‘मक्करमना हाइड्रो पावर’ अर्थात मकरध्वज बुबाको नाम र आमाको नाम जोडेर खोलेको हाइड्रो पावर हो । त्यसैगरी अर्को उनको छोरा–छोरीको नामबाट खोलिएको छ । त्यसका साथै अन्य प्रोजेक्टहरूमा पनि उनको लगानी छ । उनले जसरी त्यहाँको साधान स्रोतमाथि एकलौटी दोहन गर्दैछन् । माओवादीले त्यो क्षेत्र जिते उनी जनताप्रति, समाजप्रतिको सामाजिक उत्तरदायित्वमा उनले गर्नुपर्ने लगानीबाट जोगिन उनले यो सबै गरेका हुन् भन्ने त्यो क्षेत्रको लाटो भनिएको मान्छेले पनि सजिलै बुझ्छ । 


उनले आफ्नो पार्टीको आन्तरिक बैठकमा मैले जसरी पनि गौरीशङ्कर गाउँपालिका जिताउँछु भनेर कसम खाएका छन् भन्ने हल्ला हामीले पनि सुनि राखिएको थियौँ । तर त्यसको मूल्य कुनै मान्छेको जीवनसँग साटुनुपर्छ भन्ने हामीले सोचेका थिएनौँ । त्यहीँ हाम्रो गल्ती भयो । 

त्यस क्षेत्रका अन्य प्रोजेक्टहरूमा एमालेका केन्द्रीय नेताहरूको लगानी छ भन्ने कुरा पनि तपाईं बारम्बार भन्ने गर्नुहुन्छ । तपाईंसँग त्यसका केही प्रमाणहरू छन् अथवा भूपिले भनेको कविता झै हल्लै हल्लामा लाग्नुभएको ?


हल्लै हल्लामा लाग्ने थिएँ भने राजनीति गरेर यहाँसम्म पुग्ने थिइन । जनताका बीच सुख–दुःख बाँढेर आएपछि यस्ता कुरामा हामीले धेरै टाउको दुखाउनुपर्दैन । जनताले माया गर्छन् । समाचार दिन्छन, सूचना दिन्छन् र प्रमाणहरू पनि दिन्छन् । तपाईंले यदि चाहनुभयो भने म तपाईंलाई प्रमाण दिउँला । 

ल म त पल्लो गाविसमा थिएँ रे । विशाल खड्का त प्रमुख जिल्ला अधिकारी र डीएसपीसँगै चरिकोटमा बसिरहेको थियो । गङ्गाबहादुर कार्की रामेछापको मन्थलीमा पार्टी प्रशिक्षणमा हुनुहुन्थ्यो । त्यो कुरा त्यहाँका सीडीओ, डीएसपीलाई सोधपुछ गर्दा पनि थाहा हुन्छ । त्योभन्दा पनि आश्चर्यको कुरा त आफ्नो कार्यक्षेत्रमा विभिन्न ठाउँमा खटिरहेका पार्टीका वरिष्ठ कार्यकर्ताहरूलाई समेत मुद्दा लगाइएको छ ।


तपार्इंलाई सानो उदाहरण दिऊँ घट्टेखोला प्रोजेक्टमा मात्र एमालेका पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य बोर्ड अध्यक्ष छन् । त्यसैगरी अर्को प्रोजेक्टमा एमालेका धेरै ठूला र संसदमा सम्मानीय पदमा पुगेका नेताको समेत लगानी परेको छ । त्यस्तै त्यहाँका प्रोजेक्टहरूमा दर्जनौँ नेताहरूको लगानी छ । अब भन्नुस्, आफ्नो लुटको स्वर्ग कसैले गुमाउन चाहला । दोलखामा भएको घटना यिनै सबै कुराहरूको परिणाम हो । 

तपाईंले यति भन्दाभन्दै पनि एउटा प्रश्न जब्बर गरी उठ्छ त्यो के भने जति बेला घटना घट्यो माओवादी सरकारमा थियो र घटना घटी सकेर अहिले जे–जस्तो हुँदैछ त्यतिबेला पनि माओवादी सरकारमै छ । शक्तिको दुरूपयोग सत्तामा भएको पार्टीले गर्ला कि बाहिर भएको पार्टीले ?


हामीले जुन राजनीतिक प्रणाली अवलम्बन गरेर अगाडि बढिरहेका छौँ, त्यहाँ संसदमा विपक्षी रहेको पार्टी पनि सत्ताको अङ्ग हो । आजको सरकारमा छ भन्ने प्रश्न त्यति महत्वपूर्ण हो जस्तो मलाई लाग्दैन । किनभने राज्यका अङ्गहरूमा विपक्षी पार्टी पनि हावी हुन्छ । यसको उदाहरणका रूपमा तपाईंले कर्मचारीहरूको चुनावमा एमाले सम्बद्ध कर्मचारीहरूको विजय, स्थानीय निर्वाचनमा एमालेको विजयलाई लिन सक्नु हुन्छ । अनि त्यो पार्टीसँग शक्ति छैन भनेर तपाईं कसरी भन्न सक्नु हुन्छ । 


तर मुद्दाको सन्दर्भमा आउँदा के कुरा महत्वपूर्ण हुन्छ भने उहाँहरूले षडयन्त्र गर्दागर्दै अलिक ध्यान दिन सक्नुभएनछ । चुनावी चटारोले गर्दा पनि होला उहाँहरूले आफ्ना परामर्शदाताहरूसँग परामर्श लिन चुक्नुभएछ । नभए यति कमजोर षडयन्त्र एमालेका नेताहरूले कसरी गर्थे होला र ? जुँगु घटनामा माओवादीका ४० जना नेताहरूमाथि मुद्दा लगाइयो । झण्डै अढाइ तीन सय कार्यकर्ताहरूलाई भाग्न बाध्य पारियो । यो कसरी सम्भव भयो त ? 


ल म त पल्लो गाविसमा थिएँ रे । विशाल खड्का त प्रमुख जिल्ला अधिकारी र डीएसपीसँगै चरिकोटमा बसिरहेको थियो । गङ्गाबहादुर कार्की रामेछापको मन्थलीमा पार्टी प्रशिक्षणमा हुनुहुन्थ्यो । त्यो कुरा त्यहाँका सीडीओ, डीएसपीलाई सोधपुछ गर्दा पनि थाहा हुन्छ । त्योभन्दा पनि आश्चर्यको कुरा त आफ्नो कार्यक्षेत्रमा विभिन्न ठाउँमा खटिरहेका पार्टीका वरिष्ठ कार्यकर्ताहरूलाई समेत मुद्दा लगाइएको छ । मानिसलाई नाम खोजी खोजी मुद्दा लगाइन्छ भने तपाईंले यसलाई के भन्नु हुन्छ ? के यो मुद्दा र घटनाको षड्यन्त्रपूर्ण होइन त ?


तर पनि एमाले पार्टीका अध्यक्ष केपी ओलीज्यू, जो यो देशको प्रधानमन्त्री समेत भैसक्नु भएको छ, उहाँले समेत यो विषयमा भ्रामक अभिव्यक्ति दिई रहनुभएको छ । उहाँलाई गलत ब्रिफिङ गरिएछ । म उहाँलाई एक पटक घटनाबारे बुझ्न र अध्ययन गर्न आग्रह गर्छु । 

मानिलिनुस् यदि न्यायालयले तपाईंलाई दोषी ठहर्यो भने के तपाईं जेल जान तयार हुनुहुन्छ ? यो प्रश्न मैले किन सोधेको भने तपाईंकै पार्टीका नेताहरू अदालतले गरेको फैसलाको विरुद्धमा अदालत पीडित सङ्घ खोलेर आन्दोलन गरिरहेका छन् ।


मलाई न्यायालयको न्यायप्रणालीमा पूर्ण विश्वास छ । त्यति मात्र होइन, यो देशको कानुनी राज्य जुन निर्माण गर्न हामीले ठूलो मिहिनेत गर्यौँ । त्यसप्रति समेत मलाई ठूलो विश्वास छ । म यो देशको जिम्मेवार नागरिक हो । त्यसो हुँदा न्यायालयले गरेको जस्तो सुकै फैसला स्वीकार्न म तयार छु । मुद्दा झुठा हो भन्ने थाहा हुँदाहुँदै पनि मुद्दा दर्ता भयो । तर पनि मैले कहीँ कसैलाई भनसुन गर्नतर्फ लागिन । किनभने मैले आफैले मिहिनेत गरेर बनाएको संविधान र कानुनप्रति मलाई निकै गहिरो विश्वास छ । 

विशेष गरेर कान्तिपुर जस्तो पत्रिकामा यो घटनाबारे समाचारहरू धेरै तोडमोड गरेर प्रकाशित भए । त्यसको कारण के हो भने कान्तिपुरका दोलखा संवाददाता एमाले पार्टीको भातृ सङ्गठन प्रेस चौतारीका नेता हुन् । बाँकी त तपाईं पनि त बुझुनु हुन्छ होला नि । तर मेरो कुरा के भने त्यसरी कुनै पार्टीको सङ्गठन प्रमुखले समाचार लेख भनेर भनेकै आधारमा समाचार लेख्नु उचित हो कि होइन ?


मैले तपार्इंलाई सुरुमै भने विज्ञानको त आयु हुन्छ भने भ्रमको पनि त आयु हुन्छ । अहिले म न्यायालयको कठघरामा उभिए आफ्नो निर्दोषिता सावित गरेर आएकी छु । त्यसैले तपाईंका अगाडि यति नैतिक बलका साथ बोल्न सकेकी छु । तर जसले वास्तवमै गलत काम गरेका छन्, उनीहरूलाई पक्कै पनि सहज नहोला । उहाँहरू अरू केही सीप नलागेर अदालतको निर्णयलाई गलत बताइरहनु भएको छ । उहाँहरूले भन्ने गरेको न्यायिक राज्य यही हो ? जहाँ न्यायालयले निर्णय सुनाएपछि जुलुस र पत्रकार सम्मेलन गरिन्छ ।

तपाईंले पटक–पटक यो घटनामा मिडियाको भूमिकामा प्रश्न उठाउनुभएको छ, तपाईंलाई कहिलेदेखि लाग्यो कि मिडियाले यो घटनाको वास्तविक रिपोर्टिङ गरेन ?


नसोचेको घटना भयो । मेरै मित भाइले ज्यान गुमाए । कोही न कोही त दोषी छ । दोषी पत्ता लगाउनुमा प्रहरी र अदालत मात्रको नभएर हामी आम नागरिकको भूमिका समेत सहयोगी हुन सक्छ । मैले दोषीउपर कडाभन्दा कडा कारवाही गरिनु पर्छ भनेर यसको सत्यतथ्य पत्ता लगाउन एउटा छानविन समिति गठन गरेर अगाडि बढौँ भनेकी छु । यसमा मैले मेरो र पार्टीको तर्फबाट के सहयोग गर्नुपर्छ म तयार छु । 


नरेशजी म पूरै इमानदारीकासाथ भन्छु, मैले यो घटनाबाट मिडियाको भूमिका जस्तो हुनुपर्दछ र पर्दथ्यो भन्ने ठानेकी थिएँ त्यो हुन सकेन । यसो हुनुको मूल कारण चाहिँ के भने समाचार जति बेलादेखि प्रसारित प्रकाशित हुन थाले त्यतिबेलादेखि नै गोली लागेर मान्छे मारियो भनेर समाचार सम्प्रेषण गरिए । तर ती गोली लागेर होइन कि डाक्टरको रिपोर्टमा टाउकोमा गहिरो चोटका कारण मृत्यु भएको उल्लेख छ ।


विशेष गरेर कान्तिपुर जस्तो पत्रिकामा यो घटनाबारे समाचारहरू धेरै तोडमोड गरेर प्रकाशित भए । त्यसको कारण के हो भने कान्तिपुरका दोलखा संवाददाता एमाले पार्टीको भातृ सङ्गठन प्रेस चौतारीका नेता हुन् । बाँकी त तपाईं पनि त बुझुनु हुन्छ होला नि । तर मेरो कुरा के भने त्यसरी कुनै पार्टीको सङ्गठन प्रमुखले समाचार लेख भनेर भनेकै आधारमा समाचार लेख्नु उचित हो कि होइन ? उहाँले मलाई पनि त सम्पर्क गरेर यो घटनामा के भएको हो भनेर सोध्न सक्नु हुन्थ्यो तर उहाँले मलाई कहिलै फोनसमेत गर्नुभएन । तर सबै पत्रकार र मिडिया हाउस त्यस्तै नहुन् भन्ने मेरो शुभेक्षा हो । 
 

नरेश ज्ञवाली

नरेश ज्ञवाली रातोपाटीका अन्तर्वार्ताकार तथा विचार पृष्ठका संयोजक हुन् । अन्तर्वातासँगै उनी लेख, फिचर र समाचारमा कलम चलाउँछन् । @GyawaliNaresh 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ