शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भोजनपुरमा ८५ वटा मानवअधिकार उल्लङ्घनका घटना

बुधबार, २८ कात्तिक २०७५, १४ : ०६
बुधबार, २८ कात्तिक २०७५

भोजपुर– भोजपुरमा सन् २०१८ को जनवरीदेखि हालसम्म ८५ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरले वार्षिक पूर्वसमीक्षा तथा मानव अधिकार अवस्था विषयको छलफल कार्यक्रममार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । 

प्रतिवेदनमा एक वर्षभित्र भोजपुरमा पाँच पुरुष, तीन महिला र एक बालिका गरी नौ जनाको हत्या भएको जनाइएको छ । त्यस्तै सात महिला र १२ बालिका गरी १९ जना बलात्कृत भएका छन् भने पाँच महिला र तीन बालिका बलात्कारको प्रयासबाट पीडित भएका छन् । 

त्यसैगरी घरेलु हिंसा १२, कुटपिट ३०, हत्या प्रयास चार, घरेलु हिंसा एक, बहुविवाह दुई र मानव बेचबिखनका एक वटा घटना गरी जिल्लाभर ८५ वटा घटना सङ्कलन गरेको इन्सेक भोजपुरका प्रतिनिधि गणेश विष्टले जानकारी दिए । 

जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले घटेका घटना र घट्न सक्ने घटनाको न्यूनीकरणका लागि सबैलै एकजुट भएर लाग्नुपर्ने बताए । नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को प्रकाशनपूर्व, सन् २०१८ मा भोजपुरमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन सार्वजनिक गर्दै ‘पुस्तक पूर्वसमीक्षा र जिल्लाको मानव अधिकारको अवस्था’ विषयक छलफल कार्यक्रम गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप