शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रे घटना थप  रहस्यमय बन्दै, सम्पत्ति हत्याउन पूजाको यस्तो हर्कत ?

सोमबार, ०९ साउन २०७४, ११ : ३०
सोमबार, ०९ साउन २०७४

काभ्रे–दुई शुक्रबार साँझ बनेपा बसपार्कमा एकै परिवारका चार जना मृत भेटिएको घटना थप रहस्यमय बन्दै गएको छ ।  मृतक बनेपा नगरपालिका वडा नं. २ का राजाराम दाहालले दुई श्रीमतीमध्ये कान्छी श्रीमती पूजा दाहालसँग आठ महिना अघि नै सम्बन्ध विच्छेद गरेको रहस्य खुलेको छ । 


मृतक  हरिभक्त दाहालका एकमात्र छोरा राजाराम दाहालले कान्छी श्रीमतिलाई  ८ महिना अघि नै अंश दिएर २०७३ साल मंसिर १२ गते सम्बन्ध विच्छेद गरेको पाइएको हो । 


जेठी श्रीमतीलाई अशं नदिने उद्देश्यका साथ आफ्नो नाममा रहेको जग्गालाई बकस पत्र गरी सम्बन्ध विच्छेद गरिएको हुन सक्ने बताइन्छ । राजारामका दुई श्रीमतीबीच अंशको विवाद रहेको यसअघि नै खुलासा भइसकेको छ ।  जेठी श्रीमती राजारामले कान्छी ल्याएसँगै बेग्लै बस्दै आएकी थिइन् । पूजा भने सम्बन्धविच्छेद भएपनि राजाराम सँगै बस्दै आएको  स्थानीय बताउँछन् । 

 पूजाले श्रीमान राजाराम, सुसुरा हरिभक्त र सासु हरिमाया दाहालको नाममा रहेको सम्पत्ति २०७३ मंसिर ७ गते आफ्नो नाममा बकस पत्र गराई  २०७३ साल मंसिर ९ गते जिल्ला अदालत काभ्रेमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी थिइन् ।  


 त्यसको चार दिन पछि मंसिर १२ गते जिल्ला अदालत काभ्रेबाट सम्बन्ध विच्छेद गरेको प्रमाणपत्र लिएको देखिन्छ । सम्बन्ध विच्छेदअघि आफ्नो मितिनी भनिने निर्मला थापाको श्रीमान पशुपति श्रेष्ठको नाउँमा यस अघिनै गोप्य रुपमा राखिएको साविक दक्षुटोल १ मा रहेको कित्ता नं. ६७९ बाट कित्ता नम्बर ९७९ मा २ आना २ दामको जग्गा र सोही जग्गामा बनेको तीन तले घर पुजाले सम्बन्ध विच्छेद गरेको २३ दिन  पछि पुस ५ गते बकस पत्र गरी लिएको देखिएको जिल्ला मालपोत कार्यालय काभ्रेका मालपोत अधिकृत विनोद कोइरालाले बताए । 
 
२०७३ साल मंसिर २ गते कित्ता नम्बर ७३० बाट हरिभक्त दाहालले टुकुचा गाविस वडा नं. ८मा रहेको ०–८–३–२ क्षेत्रफलको  बारी  आफ्नो नाउँमा अशं बुझिलिएको जिल्ला मालमोत कार्यालय काभ्रेको रेकर्डमा देखिएको छ । 


 जसको कित्ता नम्बर ९६३ रहेको छ । कित्ता नम्बर ७३० बाटै छोरा राजारामले ०–८–३–१ जग्गा अशं बुझिलिए ।  तर मंसिर ७ गते पुजाले सासु हरिमाया दाहालबाट उग्रचण्डी  नाला ६ को कित्ता नम्बर  ३३४ नम्बरबाट ५ रोपनी ८ आना २ पैसा ३ दाम  जग्गा बकस पत्र गरि लिइन् । 


 ७ गते सासुबाट जग्गा बकस पत्र गरी लिएपछि मंसिर ९ गते जिल्ला अदालत काभ्रेमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराई मंसिर १२ गते आफ्नो छोरा राजाराम दाहालसँगै रहने संझौता गराई आफुले सम्बन्ध विच्छेद गरिन् । सम्बन्ध विच्छेदको नाटक पछि आफैले यस अघि नै किनेको बनेपाको पक्की घर र जग्गा पुजाले आफ्नो नाउँमा ल्याइन् ।

यसो गर्दा उक्त घर जग्गा पनि राजारामकी अर्की श्रीमती कमलालाई दिनु नपर्ने उनको बुझाइ देखिन्छ ।  भएभरको सम्पती आफ्नो नाउँमा ल्याएपनि कानूनी मान्यता नदेखिने र कुनै न कुनै दिन उक्त सम्पती जेठी श्रीमतीको छोराले पाउने देखेपछि उनले सम्बन्ध विच्छेदको कागज गराएको बताइन्छ ।


घटना घट्ने दिन दिउँसो राजारामले बहिनीको विवाहको लागि आवश्यक खर्चको विषयमा पारिवारिक सल्लाह गरेका थिए । बहिनीको विवाहलाई पैसा नदिने अडान पुजाले गरेकी थिइन् । त्यतिमात्र नभई पुजाले आईतबारसम्म होटल खाली गर्न उर्दी जारी गरेको बताइन्छ । सबै सम्पत्ति कान्छीको नाउँमा दिइसकेको र आफुहरु सडकमा पुगेको दाहाल परिवारमा  आत्महत्या भयो वा हत्या नै भयो त्यो भने अझै एकिन हुन सकेको छैन ।  जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुल थापाले घटनाको अनुसन्धान भइरहेको बताए । 


सामुहिक चार जनाको रहस्यमय मृत्युमा उनकी कान्छी श्रीमतीको सम्पत्ति हत्याउने प्रपन्च भने  प्रमुख कारण  देखिन्छ । 


शुक्तबार राती  टुकुचा नाला डुुडामुखका बर्ष ६५ का हरिभक्त दाहाल उनकी श्रमती बर्ष ६० कि हरिमाया दाहाल उनका छोरा बर्ष ३२ का राजाराम दाहाल र उनकी छोरी बर्ष २५ कि रन्जना दाहाल आफैले संचालन गर्दै आएको बनेपा नयाँ बसपार्कको गौतम भोजनालयमा मृत भेटिएका थिए । घटना भएको चार दिन भईसक्दा समेत मृतकको पोष्टमार्टम हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप