शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रम्पलाई थाहा भएन कसले मनाउँछ दिवाली, ट्वीटरमा यसरी उडाइयो खिल्ली

बुधबार, २८ कात्तिक २०७५, १३ : ०५
बुधबार, २८ कात्तिक २०७५

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प बारम्बार विवादमा छाइरहन्छन् । सम्भवतः उनी सबैभन्दा धेरै विवादमा आउनुको मुख्य कारण उनले गर्ने ट्वीट नै हो । धेरैले उनलाई नसोचिकनै ट्वीट गर्ने गरेको आरोपसमेत लगाउँछन्  ।

ट्रम्पले मंगलबार गरेको एक ट्वीट पनि निकै चर्चामा छाएको छ । हिजो दिउँसो उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘आज हामी दिवालीका लागि भेला भयौं । यो एउटा यस्तो पर्व हो जसलाई बौद्ध धर्मावलम्बी, सिख र जैनले अमेरिका र संसारका विभिन्न भूभागमा मनाउने गर्छन् । हज्जारौं मानिसले आफ्नो परिवारसँग मिलेर दियो बालेर नयाँ वर्षको स्वागत गरे ।’

उनको यो ट्वीटमा हज्जारौं प्रयोगकर्ताले जवाफ फर्काएका छन् ।

राम नाम भएका एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो हिन्दुको चाड हो, मूर्ख । यस्तै हो भने तिमीले जैनलाई इदको शुभकामना दिनेछौ र मुस्लिमलाई क्रिसमसमा ।’

अर्का प्रयोगकर्ता चामिला दिलसानले लेखेका छन्, ‘म एक बौद्ध धर्मावलम्बी हुँ तर मैले यो चाड कसरी छुटाएँ ?’

यस्तै, जाफ नामका प्रयोगकर्ता लेख्छन्, ‘कसैले ह्वाइट हाउसका स्टाफलाई भनिदेउ कि दिवाली हिन्दु धर्मावलम्बीको चाड हो ।’

साथै, डा. अपूर्व गार्ग लेख्छन्, ‘मिस्टर प्रेसिडेन्ट, ह्याप्पी दिवाली । तर दुर्भाग्यवश, तपाईंले ती करोडौं हिन्दुलाई यहाँ छुटाउनु भयो जसले वास्तवमा नै यो पर्व मनाउँछन् ।’

अर्का प्रयोगकर्ता क्यारोलिन लेख्छिन्, ‘ह्वाइट हाउसमा विविधता नहुँदा यस्तो गती हुन्छ । दिवाली हिन्दुले मनाउँछन् । ’

मानक गुप्ता लेख्छन्, ‘जब तपाईंले स्टेटमेन्ट पढ्नुभएको थियो तब तपाईंले ‘हिन्दु पर्व’ (भिडियो हेर्नुहोस्) भन्नुभएको थियो तर यहाँ के भयो ट्रम्प जी ? तपाईंका लागि यो ट्वीट कसले लेखिदियो ?’

यस्तै सारी थोम्पसन लेख्छिन्, ‘यहाँ केही मुख्य शब्द छुटेका छन् जस्तै पर्व, हिन्दु, एक हप्ता अघि ।  तपाईंले विकिपेडियाको भर्सन ट्वीट गरेको भए हुन्थ्यो । तपाईंको भन्दा त्यो नै भरपर्दो हुन्थ्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप