नेपालमा मधुमेहका बिरामीमध्ये २९ प्रतिशतलाई ‘डिप्रेशन’
काठमाडौँ । आज नोभेम्वर १४ अर्थात विश्व मधुमेह दिवस । विश्वका मानिसहरुमा मधुमेह सम्वन्धी चेतना अभिवृद्धि गरी स्वस्थ जीवनयापन गर्न अभिप्रेरित गर्ने उदेश्यले यो दिवस मनाइने गरिन्छ ।
यस वर्षको नारा परिवार र मधुमेह रहेको छ । जावलाखेलमा रहेको अल्का अस्पताल, काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टर, लाइन्स क्लव अफ काठमाडौं अल्का डिस्ट्रिक एटु ३२५ लियो क्लव अफ काठमाडौं लगायतले दिवसको अवसर पारेर बुधबार बिहान र्याली निकालेका छन् ।
र्याली जावलाखेलस्थित अल्का अस्पतालबाट सुरु भएको कुमारीपाटी, लगनखेल , मंगलबजार, पुल्चोक हुदैँ पुन अस्पताल प्राङगणमा आएर टुंगिएको थियो ।
मधुमेह सरुवा रोग नभएतापनि यसलाई पारिवारिक रोग भन्दा फरक पर्दैन। परिवारको एक जना सदस्यलाई मात्र पनि मधुमेह भएमा सम्पूर्ण परिवारलाई नै असर गर्दछ ।
परिवारको सम्पूर्ण सदस्यको जीवन शैली, खानपिन, एक आपसको सम्वन्ध, आर्थिक तथा मानसिक पक्ष देखि कुराहरुमा प्रत्यक्ष असर देखिने डाक्टर अंशुमाली जोशीले बताए ।
उनका अनुसार परिवारको कुनै एकजनालाई प्रकार दुई मधुमेह भएमा अरु सदस्यलाई ढिलो चाँडो हुने सम्भावना ५० प्रतिशत हुन्छ । त्यसैले प्रकार दुई मधुमेहलाई वंशानुगत रोग मानिन्छ ।
नेपालमा मधुमेहका विरामीहरुमा २९ प्रतिशतलाई डिप्रेशन भएको देखिएको छ । डिप्रेशनले मधुमेहमा झन नकारात्मक असर पार्न सक्दछ । यो हुन नदिन परिवारको ठूलो र प्रभावकारी भूमिका हुन सक्दछ ।
मधुमेहको जोखिममा हुने हुनाले सवैले आफ्नो जीवनशैलीमा परिवर्त ल्याउनु पर्ने डाक्टर जोशी बताउँछन् । घरको भान्सामा वन्ने परिकारहरु र खाने समय सवैको एकै किसिमको हुुनु जरुरी छ ।
क्यालोरी वढी भएको खानेकुराहरु जस्तैः अन्न, चिल्लोयुक्त खानेकुराहरु, चिनी र ग्लुकोजजन्य खानेकुराहरु, मैदावाट वन्ने चिजहरु आदीमा कमी ल्याउनु पर्दछ। रेसादार खानेकुराहरु जस्तै सागसब्जी, सलाद, फलफुल आदिको मात्रा वढाउनु पर्दछ । रातो मासुको खपतमा कमी ल्याउनु पर्दछ । यी खानपिन सम्वन्धी परहेजका कुराहरु मधुमेहीहरुले मात्र होइन, परिवारका सवै सदस्यहरुले गर्न जरुरी छ ।
साथै मधुमेहीहरुसँग परिवारका परिवारका अन्य सदस्यहरुले पनि नियमित व्यायाम गरेर तौललाई नियन्त्रण गर्न जरुरी हुन्छ ।
परिवारका सवै सदस्यहरुले मधुमेहीसँग नियमित कुराकानी गर्ने, राम्रो र सुमधुर सम्वन्ध वनाइराख्ने र हौसल्ला दिई राख्नु पर्दछ । मधुमेहीहरुलाई सम्मान नगर्ने,दोष लगाउने, हिनतावोध गराउने काम कहिले पनि गर्नु हुँदैन ।
मधुमेहीहरुले भोग्नुपरेको समस्याहरुलाई सवैजना मिलेर समाधान गर्न पट्टि लाग्नु पर्दछ । उनीहरुको नियमित रुपमा सुगरको जाँच र डाक्टरको चेक जाँचका लागि सम्झाउनु पर्दछ । डाक्टरको परीक्षणमा जाँदा परिवारका अन्य सदस्यहरु सँगै गएमा राम्रो हुन्छ । आफू पनि जोखिममा भएको हुनाले जोखिमवाट वच्न के के गर्नु पर्दछ भन्ने कुरा सिक्नु पर्दछ र मधुमेहका विरामीहरुलाई दिने शिक्षा आफुले पनि अवलम्वन गर्नुपर्दछ ।
अहिले संसारभरि करीव ४२ करोड भन्दा वढी मधुमेहका विरामीहरु छन् र आउँदो २५ वर्षमा यो संख्या ६२ करोड भन्दा वढी पुग्ने आंकलन गरिएको छ । अहिले विश्व स्वास्थ्य संगठन,अन्तर्राष्ट्रिय डाइविटिज फेडेरेसन लगाएत सवै स्वास्थ्यसँग सम्वन्धित क्षेत्र मधुमेहको संख्या घटाउनतर्फ ध्यान केन्द्रित छन् । मधुमेह लाग्नबाट वच्न सकिने हुनाले यो कुराको चेतना सवैतिर फैलाउन जरुरी छ ।
मधुमेहको दीर्घकालिन उपचार महँगो छ । नियमित औषधि सेवन गर्नुपर्ने,औषधिको संख्या र मात्रा कालान्तरमा वढ्दै जाने, मधुमेह लामो समय सम्म नियन्त्रण नराखेमा यसले आँखाको रेटिनामा असर मुटुमा असर, पक्षघात हुने, मृगौला खराव हुने खुट्टाको घाउ निको नभएर खुट्टा काट्नु पर्ने अवस्था आएर उपचार झन महंगो पर्न जान सक्दछ । त्यसले गर्दा विरामी तथा विरामीको परिवारलाई ठूलो आर्थिक भार कम पर्न सक्दछ ।
त्यसकारण परिवारका सवै सदस्यहरु मिलेमा नै आर्थिक भार कम हुन सक्दछ । मधुमेहीहरुले मधुमेह लाग्यो भन्दैमा काम नगरी घरमै बस्ने गर्नु हुँदैन ।
आफुले नियमित गरिराखेको काम जारी राख्नु पर्दछ । केवल उनीहरुले खानपिन सम्वन्धी अनुशासन जस्तै समयमै खाने र मिलाएर खाने एवं नियमित व्यायाम गर्ने गरेमा आफ्नो जागिर छोड्नु पर्दैन ।
मधुमेहको विरामीहरुमा खाना समयमा नखाएमा वा अन्य कारणले कहिलेकाहीँ सुगर चाहिने भन्दा पनि कम हुन सक्दछ । यस्तो भएमा शरीरमा पसिना आउने,भोक लाग्ने, हात र जीउ काँम्ने, ढुकढुकी वढ्ने र कहिले काहीँ वहोस भएर अचेत हुन पनि सक्दछ । यी लक्षणहरुको पहिचान परिवारको सवै सदस्यहरुले गर्न जरुरी हुन्छ । यी लक्षणहरु देखा परेमा तुरुन्तै ल्लुकोज पानी वा गुलियो पदार्थ दिइ हाल्नु पर्दछ ।
महिलाहरु, वच्चाहरु र प्रौढहरुमा मधुमेह भएमा परिवारले अझ वढी विशेष ख्याल राख्नु पर्ने हुन्छ । महिलाहरुले घरमा सवै सदस्यहरुलाई खाना खुवाएपछि मात्र आफुले खाने प्रचलन छ । खाना खान ढिलो गरेमा सुगर कम भएर गाह्रो हुन सक्दछ । त्यसैले महिलाहरुले समयमा खाना खानुपर्दछ र परिवारले यसमा सहयोग गर्नुपर्दछ । वच्चाहरु र प्रौढहरु आफ्नो हेर विचार आफैं गर्न नसक्ने हुनाले उनीहरुलाई समयमै खाना खुवाउने,औषधि सेवन गराउने वा इन्सुलिनको इन्जेक्सन लगाइदिने र निरन्तर निगरानीमा राख्ने दायित्व परिवारको अझ वढी हुन्छ ।
परिवारमा कसैलाई मधुमेह भएमा परिवारको भूमिकामा ठूलो हुन्छ । मधुमेह नियन्त्रणमा यसका दीर्घकालिन असरहरुवाट वच्न तथा डिप्रेशसनवाट वच्न परिवारको भूमिकाले प्रत्यक्ष असर गर्दछ । परिवारवाट पाउने सहयोग र हौसलाले मधुमेहीहरुलाई आत्मवल वढ्दछ । साथै परिवारका अन्य सदस्यलाई पनि आफ्नो स्वास्थ्यको ख्याल राख्न र मधुमेहवाट जोगिनको लागि प्रेरणा मिल्दछ ।