शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

५० शैयाको अत्याधुनिक अस्पताल निर्माण गर्न महायज्ञ

मङ्गलबार, २७ कात्तिक २०७५, २० : ३२
मङ्गलबार, २७ कात्तिक २०७५

सोलुखुम्बु–अस्पताल निर्माणका लागि सोलुखुम्बुमा महायज्ञ आयोजना गरिने भएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालीका–१ मुक्लीमा ५० शैयाको अत्याधुनिक तथा सुविधासम्पन्न अस्पताल निर्माणका लागि चैत २ देखि ९ गतेसम्म  श्रीमद् भागवत सप्ताहज्ञान वृहद महायज्ञ आयोजना  हुने भएको हो । वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल महायज्ञको प्रमुख वाचकका रुपमा रहने छन् ।

महायज्ञ सम्पन्न गर्न मंगलबार थुलुङ दुधकोशी गाउँपालिका प्रमुख असिम राई संयोजक विमल बस्नेत महासचिव र वलराम गुरुङ कोषाध्यक्ष रहेको ५ हजार १ सदस्यीय मूल समारोह समिति समेत गठन गरिएको छ ।

थुलुङ दूधकोशी गाँपालिकाको कार्यालय मुक्लीमा अस्पताल निर्माणार्थ आर्थिक सहयोग जुटाउने लक्ष सहित महायज्ञ आयोजना गर्न लागिएको गाउपालिका प्रमुख राइले जानकारी दिए । राईले महायज्ञ कुनैपनि राजनीतिक विचार, आस्था, जाती, धर्म, क्षेत्र र साम्प्रदायिक स्वार्थभन्दा माथी उठेर सम्पन्न गरिने प्रतिवद्धता जनाए ।

पण्डित पोखरेलले अस्पताल निर्माणका लागि महायज्ञ आयोजना हुनु आफैमा परोपकारी तथा धर्म र विज्ञानको संयोजन भएको बताए ।

“धार्मिक अनुष्ठानबाट संकलित आथिृक सहयोगको माध्यमबाट मानव जगतको हितका लागि अस्पताल निर्माण गर्नु आफैमा विज्ञान र धर्मबीचको संयोजन हो,” मूल समारोह समिति गठनमा बोल्दै पण्डित पोखरेलले भने, “यसबाट धार्मिक, सामाजिक  सांस्कृतिक सद्भाव बढाउँनुका साथै मानव जगतको हितमा धर्मको महत्व कति छ भन्ने स्पष्ट पारेको छ ।”

मूल समारोह समितिका संयोजक तथा गाउँपालिका प्रमुख राईले भेण्टिलेटर सहित ५० शैयाको अस्पताल निर्माण गर्न सके सोलुखुम्बु तथा आसपास जिल्लाका नागरिकस्वास्थ्य उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यताबाट मूक्त हुने बताए ।

गाउपालिका मातहत करिव २० हजार नागरिक रहेपनि सोलुखुम्बुका अन्य स्थानीय तह तथा खोटाङ, भोजपुर, ओखलढुंगा तथा संखुवासभाका नागरिकले समेत उक्त अस्पतालबाट सुलभ मूल्यमा उपचार पाउन सक्ने छन् ।

महायज्ञ मूल समारोह समिति गठन कार्यक्रममा बोल्दै सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य हेमकुमार राई, प्रदेशसभा सदस्यद्धय वुद्धिकुमार राजभण्डारी र उत्तमकुमार बस्नेत, कृषि विकास मन्त्रालयका सहसचिव योगेन्द्र कार्की, पूर्व सांसद भुपाल किराँती लगायतले अस्पताल निर्माणमा महायज्ञ आयोजना हुनु आफैमा पवित्र तथा मानव सेवाका लागि सहनीय कार्य भएको बताए । अस्पताल निर्माणकै लागि यसअघि नै गाउँपालिका–१ मुक्लीका स्थानीय वलराम गुरुङले ५० रोपनी जग्गा निशुल्क उपलव्ध गराइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप