शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेरियो प्रधानमन्त्री ओलीको अनुगमन शैली, कार्यालयबाटै यसरी हुन्छ मन्त्रालयको अनुगमन

मङ्गलबार, २७ कात्तिक २०७५, १९ : ०३
मङ्गलबार, २७ कात्तिक २०७५

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत अनुगमन गरिरहेका छन् ।  उनले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारवाहीबारे नियमित अनुगमन गरिरहनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए । प्रधानमन्त्री कार्यालयले विकास गरेको सफ्टवेयरमा सबै मन्त्रालयका सचिवले आफ्नो मन्त्रालयको कार्ययोजनाको कार्यप्रगति विवरण राख्ने गर्छन् । ती विवरण प्रधानमन्त्री ओलीले अनलाइनमार्फत अनुगमन गर्ने गरेका छन् । 

‘‘सबै मन्त्रालयका सचिवले प्रत्येक महिनाको ७ गतेभित्र अघिल्लो महिनाको कार्यप्रगति विवरण सफ्टवेयरमा राख्नुहुन्छ’, उनले भने, ‘‘सफ्टवेयरमा राखिएको विवरणलाई प्रधानमन्त्रीले अनुगमन गरिरहनुभएको छ ।’ मन्त्रालयका कामकारवाही ढिलासुस्ती भएको महसुस गरेपछि प्रधानमन्त्री आफैंले अनुगमन शुरु गरेका हुन् । गत असोजमा सोसम्बन्धी सफ्टवेयरको विकास गरिएको हो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा.कुन्दन अर्यालले प्रधानमन्त्री ओलीले नियमित रुपमा सबै मन्त्रालयको कार्यप्रगतिबारे निकट भएर अनुगमन गरिरहेको बताए । ‘‘प्रधानमन्त्री कुन मन्त्रालयको कार्यप्रगति कस्तो रहेको छ भनेर उहाँ नियमित अनुगमनबाट जानकार हुनुहुन्छ’ उनले भने, ‘‘अनुगमनका क्रममा देखिएका कतिपय समस्या प्रधानमन्त्री आफैँले मन्त्री र सचिवलाई निर्देशनसमेत दिनुहुन्छ ।’ 

प्रवक्ता कुँवरले कार्ययोजनामा आएका समस्यालाई नीतिगत रुपमा प्रधानमन्त्री कार्यालयले समाधान गरिरहेको बताए । ‘‘मन्त्रालयको नीतिगत र संरचनागत सहयोग हामीले गरिरहेका छौंँ’, उनले भने, ‘‘तर तोकिएको समयमा काम सक्नुपर्ने निर्देशन छ ।’ 

सरकारले विकास र पूर्वाधारका काम दूर्त गतिमा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई तोकिएका काम गर्न प्रधानमन्त्री ओलीले आफैँ निर्देशन दिएका छन् । ‘‘यसअघि वर्षायाम र चाडपर्व परेकाले विकास र पूर्वाधारका काम हुन सकेका थिएनन्’, प्रवक्ता कुँवरले भने, ‘‘अब वर्षायाम र चाडपर्व सकिएकाले यस आर्थिक वर्षमा सम्पादन गर्नुपर्ने विकास निर्माणसम्बन्धी भौतिक पूर्वाधारका काम दूर्त गतिमा हुन्छ ।’ 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप