मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

किन लोकप्रिय भयो छठ पर्व ?

मङ्गलबार, २७ कात्तिक २०७५, १८ : ५३
मङ्गलबार, २७ कात्तिक २०७५

–सन्तोष मेहता 
छठ पर्व नेपालको दक्षिणी र भारतका उत्तरी क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण लोक पर्व हो। यो पर्वमा छटी माइको आराधना गरी पुत्र, पति र परिवारको कल्याणको र आरोग्यको कामना गर्ने गरिन्छ। नेपालको विशेष रुपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवतरुपमा सम्पन्न हुने गर्दछ ।

परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । यश पर्वमा मुस्लिम समुदायका व्यक्तिको पनि सहभागी हुन्छ र यो पर्व त्यो समुदायले पनि बिधिवत रुपमा मनाउछ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । अरुवा, सुथनी, बेसार, भन्टा, नेवो, नारियल, ऊखू, तरकारी जस्ता कृषि उत्पादन नैवेद्यको रुपमा चढाउने गरिन्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसानाको चामललगायतका खाद्य वस्तु प्रयोग गर्न निशेष गरिएको हुन्छ । छठ पर्व मनाउनुको पछाडी अनेक लोक एव देव कथाहरु प्रचलित नभएको होइन तर यो आलेखमा छठ पर्वको अलिक फरक पाटो बाट  विश्लेषण गर्ने प्रयास गरिएको छ ।

हिन्दु धर्ममा कुनै न कुनै प्रतिमा स्वरुपको आराधना गर्ने प्रचलन हुँदा आजकल कहिँ कतै छठी माइ भन्दै दुर्गा देबी झैँ स्त्री स्वरुपको देबीको कल्पना गरि मुर्ति बनाउने चलन छ भने कहिँ गंगा देवीको प्रतिमा त कहिँ सुर्य देवको स्वरुप बनाई पुजा अर्चना गर्ने चलन छ वास्तवमा छठ पर्वमा कुन प्रतिमाको पूजा गर्ने त्यसमा एकरुपता भन्ने छैन । त्यसैगरी छठ पर्वको केहि बिषयहरु अत्यन्त उल्लेखनीय छ । जस्तै पन्चतत्व सूर्य, जलासय, स्थलरपृथ्वी, अग्नि, वायुको एकसाथ उपासना गर्नु, अरु पूजा वा अनुस्ठानमा पुरोहितको आवश्यकता भएझैँ छठमा पुरोहित वा कर्मकाण्ड नहुनु, स्थानीय समाज, वर्ण, जातिहरुद्वारा उत्पादित वस्तु, कृषकद्वारा उत्पादित सात्विक अन्न, कन्दमुल फलफुल आदिको प्रयोग हुनु, पकवान एव मिठाईमा पनि अरु पूजाआजामा प्रयोग हुने आधुनिक मिठाई होइन ठेकुवा, भुसवाजस्ता लोक पाकवान एव मिठाईको प्रयोग आदिले हामी भन्न सक्छौकि यो पर्व सभ्यता पूर्वकै पर्व हो ।   

मानिस जब ढुङ्गे युगबाट कृषि युगमा प्रवेश गर्दै थियो सम्भवत त्यसबेला मानिस या त प्रकृतिको पूजा गर्थे या त आफुलाई हराउनेलाइ देबत्वको स्वरुप दिन बाद्य हुन्थे । हो यहि युगमा जब समाज थोरै संगठित हुन् थालेको हुनुपर्दछ, मनिसहरुलाइ बाच्नको निम्ति आवश्यक आन्नपात उब्जनीको निम्ति आवश्यक पन्चतत्वलाई धन्यवाद दिनको निम्ति एकसाथ दिन, रात, सूर्य,चन्द्र, अग्नि, पृथ्वी, वायु र जलको समागम भएको बखत आफुले उब्जाएको अन्नवाली अखण्डितरुपमै पूजा सामाग्रीको रुपमा प्रयोग गरि पूजाको लोक परम्परा अगाडी बढेको हुनुपर्दछ । उखु, मुला, गाजर, अन्य कन्दमुल बोटसहित तथा केरा, सुन्तला, नरिवल, बोगटी लगायतका फलफुल खण्डित नगरिकन पुजा सामग्रीको रुपमा प्रायोग गरिन्छ । भुसुवाजस्तो मिठाई काँचो अन्नबाट तयार पारिन्छ भने आवश्यक हुने कोनिया, दाउरा, सुप काँचो बासबाट स्थानीय डुम जातिका श्रमिकहरुद्वारा तयार परिन्छ । 

धागो बधिजस्ता सामग्री पनि स्थानीय समाजमै खासगरी माली जातिका श्रमिक अथवा लहेरी जातिका मुस्लिमहरुद्वारा तयार पारिएको हुन्छ । समाजमा बर्ण व्यवस्था प्राम्भिक अवस्थामै रहेको बखत यो पर्वमा व्यापकता पाईसकेको हुनुपर्दछ । तसर्थ लोकपूजा छठी–व्रत आदिपूजा हो र सभ्यता संस्कृतिको साथै धेरैजसो अन्न र खाद्य पदार्थको प्रचलन ठीक ढंगले नभएको अवस्थाको रहेको बुझिन्छ ।
अर्को महत्वपुर्ण प्रश्न के हो भने, आखिर मधेश, विहार या आसपास को क्षेत्र मै छठ  किन ? र यो पर्वको सर्वव्यापकता को राज के हो ? के छठ पूजा भनेको सुर्यको उपासना हो त ? यो प्रश्नको उत्तर खोज्दा हामी के पाउँछौ भने आर्यावर्तको इतिहासमा शैव, वैष्णव, शाक्त, गाणपात्य एव सौर्या सम्प्रदायका मानिसहरु पाउँछौ । पछि तिनीहरुलाई नै हिन्दु भनिएको हो । साम्ब पुराण अनुसार यी उल्लेखित पाँच सम्प्रदायमध्ये सौर्य सम्प्रदाय प्राचिन र पहिलो हो । हालको इरानबाट आएको शाकलद्वीपी ब्राह्मण बिहारको मगध र भोजपुर इलाकामा र केहि मात्रामा पूर्वी उत्तर प्रदेश र नेपालको तराई मधेशमा यिनीहरुको बसोबास रहेको छ । यिनीहरु सुर्यका उपासक थिए, सौर्य सम्प्रदायका थिए । पछि पटना राजधानी भएको मगध साम्राज्यको राजाहरु पनि सौर्य सम्प्रदायका नै थिए ।

यहिनेर उल्लेख गर्नुपर्ने अर्को महत्वपूर्ण विषय के हो भने सूर्यको आराधना बौद्ध धर्मसँग पनि सम्बन्धित छ । सूर्य, बौद्ध र हिंदू परम्पराहरुमा पनि पाइन्छ, त्यसैले मगध साम्राज्यभित्र या भनौ बारह जनपद रहेको मधेश गणराज्यभित्र असंख्य सूर्य मन्दिरहरुको श्रृंखला पाइन्छ । त्यसैले सूर्य उपासनासंग सम्बन्धित पर्व छठ पर्व भारतको बिहार, झारखण्ड, पूर्वी उत्तर प्रदेश र नेपालको मधेश क्षेत्रमा परम्परागत रुपमा प्रचलित रहेको छ । अर्को महत्वपूर्ण कुरा भनेको छठ पर्व भनेको केवल सूर्यको मात्र उपासना होइन, त्यसो भएको भए कर्मकांडी विधिले पुरोहितद्वारा सूर्योपासना गरिन्थियो तर छठ त लोकाचारको रूपमा मनाईने पर्व हो । यस पर्वमा एकैसाथ  सूर्य(चन्द्रमा, आगो(पानी, पृथ्वी(वायुको आराधना एव उपासना गरिन्छ ।

त्यसैले कहिँ सूर्य देवताको त कहिँ गङ्गा मैया त कहिँ छठी मैयाको प्रतिमा बनाइ पूजा गरिएको हो । वास्तवमा छठ पूजा भनेको मूर्ति पूजा वा कुनै आकृतिको पूजा होइन । सूर्य उर्जाको बिम्ब, जलको स्वछान्द्ताको लहर, प्राण(वायुको बेग, अग्नि देवताको तेज र धर्ति माताको ममताको एकसाथ पुजा, उपासना एव आराधना हो ।  छटी माइ भनेको पनी यी सम्पूर्ण बिम्ब, लहर, बेग, तेज र ममताको समागम स्वरुप तथा प्रतिबिम्ब हो । प्राचिन मधेश र मगध क्षेत्रमा बालबालिका जन्मेको छैठौं दिनमा प्रत्येक सुत्केरी आमाले अनिवार्य रुपमा छठियार पुज्ने गर्छिन्। लोक विश्वास छकि छठिमैयाले बालकको भाग्य–भविष्य त्यसैदिन लेख्ने गर्छिन् । अर्को नवजात शिशु, शिशु अवस्थामा निदाएपछि, निन्द्रावस्थामा यिनै छठिमैयाको न्यानो काँखमा हुने गर्दछन् र यी मैंयाले शिशुको माया–दुलार गरी हर्ष–आनन्द प्रदान गर्ने गर्छिन्, भन्ने मान्यता छ।

सूर्यलाई भौतिक उर्जा, प्रकाश, आरोग्य, उपासना, आत्मोत्कर्ष, चतुष्प्रद फल, मोक्ष प्राप्ति, आयु, प्राण, आत्मोन्नति, व्रह्मचर्य तथा श्रद्धाको उदीयमान प्रतिक मानिन्छ । सौर्य–शक्तिलाई जन्म दिने जननीको प्रतिक पनि मानिन्छ। जीवन, जगत, प्रकृति, वनस्पति, ग्रहनक्षत्र, संवतसर, समय, काल सबैका कार्यकारक सूर्य नै हो । धर्ति हामी सबैको माता हो । ममता, सहनशीलता एवम् जीवनको प्रतिक हो । अग्नि उर्जाको स्रोत हो भने वायू प्राण हो । जल जीवन हो त्यसैले छठी माइको उपासना भनेको आदित्य, जीवन, उर्जा–शक्ति उत्पत्ति गर्ने आमाको रुपमा सम्पूर्ण उपासना गर्नु हो । छठी माइ भनेको प्रकृति देवी हुन्,  छठ पर्व भनेको किसानहरुको पर्व हो । 

सम्पूर्ण परिवार या भनौ समाजका हरेक तप्का कुनै न कुनै रुपमा समिलित रहेको यो पर्वको रुपमा अन्त्यमा यति भन्न सकिन्छ कि छठ पर्व समाजिक समरसता र उदारता को  ठुलो प्रतीक पर्व हो  र शायद यहीं यसको लोकप्रियताको कारण पनि हो । यस्तो साझा संस्कृतिको रुपमा ब्यापकता ग्रहण गर्दै गैरहेको छठ महापर्वको सरकारले राष्ट्रिय विदासम्म घोषणा गर्न नसक्नु भनेकै एकल जातीय नश्लवादतिर उन्मुख हुनु हो ।अस्थी । लेखक– राजपाका प्रवक्ता हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लेख
लेख

लेखक समसामयिक विषयमा कलम चलाउँछन् । 

लेखकबाट थप