शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरको सौन्दर्य बढाउन एक अर्ब लगानी गर्ने तयारी

मङ्गलबार, २७ कात्तिक २०७५, १७ : ३१
मङ्गलबार, २७ कात्तिक २०७५

जनकपुर– २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरधामको विकास निर्माण तथा सौन्दर्यकरण बढाउन खानेपानी तथा सरसफाइ मन्त्रालयले १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । जनकपुरधामका ३२ वटा धार्मिक तथा ऐतिहासिक पोखरी एवं बाह्र बिगाहा (रंगभूमि मैदान) मा सुरु हुने जनकपुर सौन्दर्यीकरण आयोजनाको ठेक्का यहि कातिक मसान्तभित्र लगाउने मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले जानकारी दिए ।

सचिव ठाकुरका अनुसार जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहसँगको छलफलपछि काम सुरु हुनेछ । जनकपुर सौन्दर्यीकरण आयोजना अन्तर्गत अङ्गराज र धनुषसागरमा जडान गरिने लाइट एन्ड साउन्ड (विद्युतीय फाउन्डेशन) तथा गंगासागरमा लेजर लाइटको माध्यमबाट दैनिक सञ्चालन हुने जानकी लिला प्रदर्शन गरिनेछ । 

पहिलो चरणमा गंगासागर, धनुषसागर, अंगराजसर सागर तथा महाराजसर सागर, रत्नसागर सागर, विहार कुण्ड सागरसहितका ८ वटा पोखरीको सौन्दर्यीकरणको काम सुरु गरिनेछ । जस अन्तर्गत पोखरीहरूको घेराउ, सरसफाइ, विद्युतीकरण, पार्क निर्माण, बोटिङको व्यवस्था लगायतका काम गरिनेछन् । त्यस्तै गंगासागरमा अत्याधुनिक लेजर मार्फत जानकी लीला प्रदर्शनको व्यवस्था मिलाइनेछ ।

लेजर लाइट मार्फत प्रदर्शन गरिने जानकी लीलामा सीताको जन्मदेखि विवाह तथा राम राज्यको दृश्य तथा मिथिला परम्पराको लोकगीत तथा नृत्यको अवलोकन गराइने मेयर लालकिशोर साहले बताए । वि.सं. २०६२ श्रावण २६ गते मन्त्रिमस्तरीय निर्णयद्वारा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष भोजराज घिमिरेको अध्यक्षतामा गठित उच्चस्तरीय कार्यदलले जनकपुर र यसको वरिपरि ४९ वटा धार्मिक महत्वका सार्वजनिक पोखरीहरूको सूची सार्वजनिक गरेको थियो ।

जनकपुर टाउन प्लानिङको प्रोफाइल २०४८ मा उल्लेखअनुसार जनकपुरमा ५८ वटा सार्वजनिक पोखरी र अन्य माछापालन, मखाना, सिंघारा र खेती प्रयोजनका ४० हेक्टर जग्गामा कुल ८० पोखरी रहेको उल्लेख छ । जसमध्ये २४ दशमलव १५ ठिक अवस्थामा, ४३ दशमलव १ प्रतिशत नराम्रो अवस्थामा तथा ३२ दशमलव ८ प्रतिशत अस्तित्व संकटोन्मुख एवं लोपोन्मुख भएकोे उल्लेख छ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका पोखरी रामायणकाल देखिकै रहेको विभिन्न धर्मग्रन्थ तथा पुराणमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप