बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गाजामा भड्किएको हिंसाले शान्ति प्रक्रिया सङ्कटमा

मङ्गलबार, २७ कात्तिक २०७५, १६ : १९
मङ्गलबार, २७ कात्तिक २०७५

गाजा सिटी– गाजा क्षेत्रमा भड्किएको पछिल्लो हिंसाले महिनौंदेखि जारी अशान्ति अन्त्य गर्ने प्रयत्नमै अवरोध सिर्जना गर्ने खतरा बढेको छ । इजरायली हवाई आक्रमणबाट पछिल्लोपटक चारजना प्यालेस्टिनीको मृत्यु हुनुका साथै हमासको टेलिभिजन भवनलाई क्षतिग्रस्त बनाएसँगै हिंसात्मक घटनामा अझ वृद्धि भएको हो । 

इजरायली सैनिक स्रोतले हमासको टेलिभिजन भवनबाट इजरायलभित्र क्षेप्यास्त्र प्रहार भएको र त्यसबाट मङ्गलबार एकजनाको मृत्यु भएको जनाएको छ । इजरायली विशेष फौजले आइतबार गाजा क्षेत्रमा गरेको गोप्य कारबाहीसँगै हमासले पनि त्यसको बदला लिने जनाएको छ । 

इजरायली सैनिकले सामबार अपराह्नदेखि मङ्गलबार बिहानसम्मको अवधिमा १०० भन्दा बढी विद्रोही इलाकामा आक्रमण गरेको जनाएको छ । हमासले आफ्नो नियन्त्रण भएका क्षेत्रबाट इजरायली भूमितर्फ तीन सय ७० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ । 

गाजा क्षेत्रबाट प्रहार गरिएका १०० भन्दा बढी क्षेप्यास्त्रहरुलाई इजरायली प्रतिरक्षा प्रणालीले थाहा पाएको र तीमध्ये अधिकांश खुला ठाउँमा खसेका थिए । इजरायली सेनाका अनुसार केही क्षेप्यास्त्रहरु घर र अन्य संरचनामा खसेका छन् । 

दक्षिणी इजरायलको आस्केलोन सहरको एक घरको भग्नावशेषमा फेला परेका एक व्यक्तिको शव निकालिएको आपतकालीन सेवा प्रदायक संस्था युनाइटेड हतजलाहले जनाएको छ । सोही भवनबाट उद्धार गरिएकी एक महिलाको अवस्था अत्यन्त नाजूक रहेको र उनको उपचार भइरहेको छ । 

प्रहरीले मारिएका ती व्यक्ति प्यालेस्टिनी रहेको जनाएको छ । एकजना प्रहरी प्रवक्ताले आस्केलोनको घरमा ती व्यक्ति कसरी आए भन्ने अनुसन्धान भइरहेको बताएका छन् । 

स्वास्थ्यकर्मीहरुले हमासको आक्रमणका कारण करिब २० जना इजरायली नागरिक घाइते भएको बताएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणबाट तीन जना प्यालेस्टिनीको मृत्यु भएको र अरु नौ जना घाइते भएको जनाएको छ । 

प्यालेस्टिनी मुक्तिमोर्चा नामको विद्रोही समूहले इजरायली आक्रमणबाट मारिने दुई जना प्यालेस्टिनी आफ्ना सदस्य रहेको जनाएको छ । तेस्रो व्यक्ति भने इस्लामिक जिहादको सैनिक रहेको बताइएको छ । इजरायली आक्रमणबाट घाइते भएका अर्का प्यालेस्टिनीको उपचारकै क्रममा मङ्गलबार मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

महिनौंदेखि गाजा–इजरायल सीमा क्षेत्रमा व्याप्त हिंसात्मक अशान्ति बिस्तारै मत्थर हुनेक्रममा रहेपनि एकाएक हिंसा भड्किएको छ । 

हालैका साताहरुमा गाजा क्षेत्रमा कार्यरत कर्मचारीको तलब भुक्तानीका लागि कतारलाई लाखौं डलर उपलब्ध गराउन तथा विद्युत सङ्कट समाधान गर्न इन्धन उपलब्ध गराउन इजरायलले सहमति दिएको थियो । 

पछिल्लो हिंसा भड्किनुअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले चौतर्फी आलोचनाबीच प्यालेस्टाइनका लागि रकम उपलब्ध गराउन कतारलाई अनुमति दिएका थिए । उनले सम्भावित युद्ध टार्न पनि यस्तो सहमति दिनुभएको बताइन्छ । 

इजरायल र प्यालेस्टिनी विद्रोहीबीच गाजा क्षेत्रमा सन् २००८ यता तीनपटक युद्ध भइसकेको छ । पछिल्ला हिंसात्मक घटनाक्रमले चौथो युद्ध निम्त्याउन सक्ने अनुमान गरिएको थियो । युद्धको निर्णय लिने सर्वोच्च निकाय इजरायली सुरक्षा परिषदको बैठक मङ्गलबार बिहानका लागि डाकिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

नेतान्याहूले पेरिस भ्रमणलाई छोट्याएर स्वदेश फर्किएका छन् । उनले सोमबारनै सुरक्षा प्रमुखहरुसँग पछिल्लो अवस्थाका बारेमा छलफल गरेका छन् । 

राष्ट्रसङ्घका मध्यपूर्व कुटनीतिज्ञ निकोलाए म्लाडेनोभले पछिल्ला हिंसात्मक कारबाहीहरु निकै खतरनाक रहेको बताएका छ । उनले सबै पक्षलाई धैर्य कायम राख्न आग्रह गरेका छन् । 

इजरायलले आइतबारको गोप्य कारबाही सूचना–संग्रह अभियान मात्र रहेको, र यो कुनै व्यक्तिको हत्या वा अपहरणमा केन्द्रित नरहेको स्पष्ट गरेको छ, तर हमासले इजरायली दाबीको खण्डन गर्दै बदला लिने जनाएको छ । 

इजरायली सैनिकले आइतबारको अभियान पूर्व योजना बमोजिम अघि बढ्न नसकेको र भिडन्त भएको बताएको छ । प्यालेस्टिनी अधिकारीहरुले इजरायली गोप्य अभियानकै क्रममा इजरायली हवाई आक्रमण भएकाले आशंका उत्पन्न भएको जनाएको छ । 

हमासले इजरायली विशेष फौजको टोली दक्षिणी गाजा क्षेत्रको खान युनिसभित्र कार लिएर आएको बताएको छ । तर यहीबीच गोली हानाहान हुँदा स्थानीय अल–क्वास्सामका कमान्डर नुर बाराका सहित अर्का विद्रोही मारिएका थिए । 

त्यसपछि उक्त कार लिएर भाग्न लागेका इजरायली सेनाको सुरक्षाका लागि हवाई आक्रमण गरिएको हमासको भनाइ छ । 

इजरायली आक्रमणमा मारिएका सातै जना प्यालेस्टिनी विद्रोहीको सोमबार हजारौं प्यालेस्टिनीको उपस्थितिमा दाहसंस्कार गरिएको छ । त्यसक्रममा बन्दुक सहित उपस्थित अल–क्वास्सामका सदस्यहरुले हावामा गोली चलाएका थिए । 

गाजा–इजरायली सीमामा गत मार्च २० देखि नै हिंसात्मक झडपहरु भइरहेका छन् । इजरायली सेनाको कारबाहीमा यस अवधिमा कम्तीमा दुई सय ३१ प्यालेस्टिनीको मृत्यु भइसकेको छ । यस घटनामा हालसम्म दुई जना इजरायली सैनिकको मृत्यु भएको छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप