शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुधबारदेखि मध्यभोटेकोशीले सिमित आइपिओ बिक्री गर्दै

मङ्गलबार, २७ कात्तिक २०७५, १५ : ५९
मङ्गलबार, २७ कात्तिक २०७५

काठमाडौँ– मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि रु एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । 

कम्पनीले पहिलो चरणमा रु १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो । कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । 

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी रु ६ अर्ब २१ करोड रहेको छ भने जारी पूँजी रु ६ अर्ब रहेको छ । कम्पनीको शेयरमा यही कात्तिक २८ गते बुधबारदेखि आगामी मङ्सिर १४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । यस्तै संस्थापक सङ्गठित संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारीले आगामी मङ्सिर १८ गतेदेखि २६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । 

कम्पनीको शेयरमा सञ्चयकर्ताले न्यूनतम ५० र अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाउनेछन् भने कोषका कर्मचारीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार २०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । कम्पनीको जारी पूँजीको ५१ प्रतिशत शेयर स्वामित्वमा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनीलगायत रहेका छन् । 

कम्पनीमा प्राधिकरणको दश प्रतिशत, चिलिमेको ३७ प्रतिशत सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडको समान एक÷एक प्रतिशत शेयर स्वामित्व रहेको छ ।

यस्तै ४९ प्रतिशत सर्वसाधारण शेयरधनी समूहमा कोषका सञ्चयकर्ताको १९ दशमलव पाँच, संस्थापक सङ्गठित संस्थाका कर्मचारीको तीन दशमलव पाँच, ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत, सिन्धुपाल्चोक जिल्लाका स्थानीयवासीको १० प्रतिशत र आम सर्वसाधारणको १५ प्रतिशत शेयर रहने गरी छ्ट्याइएको छ । 

कम्पनीको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिल रहेको छ । सह बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआइविएल एस क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिविआएल क्यापिटल छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप