इलाममा झलनाथ खनाल र सुवास नेम्वाङले छुट्टयाए ३७ योजना
मङ्गलबारे– पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि रु चार÷चार करोड विनियोजन गरेका छन् । नेकपा इलामले सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा खनाल र नेम्वाङले बजेटसहितका ३७ योजना छनोट गरेका हुन् ।
इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित खनालले सूर्योदय नगरपालिकामा पूर्वाधार निर्माणका लागि रु एक करोड ४० लाख, माई नगरपालिकाको सात वडाका लागि रु ७० लाख, रोङ, सन्दकपुर र माइजोगमाई गाउँपालिकामा रु ६० लाखका दरले रकम छुट्याएका छन् । इलाम नगरपालिकामा रु १० लाख विनियोजन गरेका छन् । उनले २० योजना छनोट गरेका हुन् ।
यसैगरी क्षेत्र नं २ का सांसद नेम्वाङले इलाम नगरपालिकाको लागि रु ९० लाख, देउमाई नगरपालिकाका लागि रु ८३ लाख, माई नगरपालिकामा रु ३२ लाख र फाकफोकथुम, चुलाचुली माङसेबुङ गाउँपालिकामा भने रु ६५ लाखका दरले रकम विनियोजन गरेका हुन् ।
नेम्वाङले १७ योजना छनोट गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम सञ्चालन कार्यविधिले रु ५० लाखभन्दा बढीको दुई योजना अनिवार्य छनोट गर्नुपर्ने व्यवस्थाअनुरूप नै उनीहरूले योजना छनोट गर्नुभएको नेकपाका जिल्ला अध्यक्ष भक्त केसीले जानकारी दिए ।
सो अनुरूप खनालले माई नगरपालिकाको लखनथापा चोकदेखि नगरपालिकासम्मको बाटो कालोपत्रे गर्नका लागि रु ७० लाख र सूर्योदय नगरपालिकाको विद्युतीकरणको लागि रु ५० लाख छुट्याएका छन् ।
नेम्वाङले पुवाखोलाको इन्टेकदेखि साङरूम्बा हुँदै गाग्रेभञ्याङ जोड्ने सडकको लागि रु ८० लाख र माङसेबुङ गाउँपालिकाको विद्युतीकरणको लागि रु ५० लाख छुट्याएका हुन् । सङ्घीय सांसदले रु चार करोड बराबरको योजना कात्तिक ३० गतेभित्र छनोट प्रावधानअनुरूप उनीहरूले बजेट तथा योजना छनोट गरेका हुन् ।